दशैंमा कसरी छान्ने स्वस्थ खसी ? ‘घोर्ले’ खसी किन्दै हुनुहुन्छ कि ‘लोकल’ ?


हिन्दुहरुको महान चाड बडा दशैंलाई मान्यजनबाट आशिर्वाद लिने चाडको रुपका साथै मासु खाने पर्व कै रुपमा पनि लिने गरिन्छ । यो समयमा अन्य बेलाको भन्दा खसीबोका धेरै मासुको खपत हुने गर्दछ । दशैंमा तयारी मासुभन्दा सिंगो खसी नै ल्याएर हरेक घरमा छुट्टा छुट्टै काट्ने समेत गरिन्छ ।

अहिले दशैंको चहलपहल बाक्लिएपछि काठमाडौं उपत्यका खसी बजारहरुमा छानीछानी खसी किन्नेको भीड लागिसकेको छ । खसी बजारमा सबै प्रकारको खसीबोका पाइने भएकाले धेरै जसो मानिसहरु खसी बजार पुग्ने गरेको छ । कोही विकासे जातको घोर्ले खसी किज्दै छ त कोही लोकल जातको खसीबोका किन्दै छ । मासु कै लागि खसीबोका लग्ने भएता पनि रङले फरक पर्ने भन्दै कालो, रातो, सेतो रंगका खसीबोका लागिरहेका छन् ।

दशैंमा कस्तो खसी किन्दा राम्रो हुन्छ ? विकास घोर्ले किन्ने कि लोकल किन्ने भन्ने दुविधा भने धेरैमा देखिन्छ । सामान्यतया घोर्ले खसी किन्यो भने घाटा पर्दैन भनिन्छ, । यो खँदिलो मात्रै हैन, यस्तो खसीको मासु पनि उत्तिकै स्वादिलो हुन्छ भन्ने पुरानो मान्यता छ । कसैलाई विकासे घोर्ले खसी मन पर्दछ भने कसैले विकासे हैन लोकल मनपराउँछन् । कसैलाई दशैंको खर्च पुर्याउन सस्तो खालको दुब्ला ख्याउटा खसीबोका किनिरहेका छन् । दशैं नजिकिएसँगै काठमाडौंमा दैनिक हजरौं खसीबोका भित्रिने गर्दछ । यो समयमा काठमाडौंमा खसी बजारहरुमा ठूलो संख्यामा खसी बोका खरिद बिक्री हुन्छ ।

मासुको चाडको रुपमा समेत चिनिने दशैंमा मासुका लागि खरीद गरिने खसीबोका स्वस्थ भएन भने मासुका लागि गरिने खर्चभन्दा मासु खाने अस्वस्थ भई त्यो भन्दा धेरै खर्च गर्नुपर्न हुनसक्छ । यसका लागि मासु खरीद गर्दा स्वस्थ पशु खरीदमा ध्यान पुर्याउनुपर्ने हुन्छ ।

दशैँको आगमनसँगै मासुको खपत तथा उपभोग बढ्दै गएको छ । यो समयमा अन्य समयको तुलनामा अधिक मासुको माग र खपत हुने गर्दछ । मासुको माग उच्च हुँदा बिरामी तथा अस्वस्थ खसीबोका पनि मासुको बिक्री हुने गरेको पाइएको छ । त्यसैले खसीबोका किन्दा विचार पुर्याउन आवश्यक हुन्छ ।

खसीबोकाको मासु स्वाद तथा पोषणका लागि पनि उत्तिकै महत्व राख्दछ । तर मासुमा स्वाद र पोषण हुन्छ भन्ने धारणाले जस्तो पायो उस्तै मासुको प्रयोग गरियो भने ठूलो हानी हुन सक्ने स्वास्थ्यविद्हरु बताउँछन् । या भनौ अस्वस्थ पशु पहिचान नगरी उपभोग गरिने मासुले त्योभन्दा धेरै घाटा हुन्छ । मासुको लागि स्वस्थ खसीबोका हुन जरुरी छ । पशु सेवा विभागका अनुसार उपत्यकामा ५० हजार वटा खसीबोकाको आवश्यक हुन्छ ।

यसैपनि काठमाण्डौ उपत्यकामा खसीबोकोको मासुको हाहाकार हुन्छ । दशैंमा मासुको उच्च मागका कारण उपभोक्ताहरुको तानातान हुन्छ । तर खसीबोका किन्दा धेरै कुराहरुको ध्यान पुर्याउनुपर्छ ।

खसीबोका किन्दा के के कुरा ध्यान दिने ?

१.सिङमा हरियो रङ लगाएका खसीबोका मात्र किन्नुहोस्

तपाईं काठमाडौँ उपत्यकामा मासुको लागि खसीबोका किन्दै हुनुहुन्छ भने सिङमा हरियो रङ लगाएका खसीबोका छान्नुहोस् । नजिकको पशु हाटबजारमा पशु सेवा विभागबाट खटिएका पशु चिकित्सकले स्वास्थ पशुलाई उपभोक्ताले चिन्न सहज होस् भनी पशुको सिङमा हरियो रङ लगाउने गरेका छन् । यसर्थ हरियो रङ लगाएको पशु मात्र किन्नु होस् । सिङमा रातो रङ लागेको खसी बिरामी वा अस्वस्थ छन् भन्ने संकेत हो । यस्ता पशुको मासु खानका लागि योग्य हुँदैनन् ।

२. असामान्य व्यावहार देखाउने पशु

रोग लागेका कारण पशुहरूले प्राय टाउको पर्खालमा ठोक्ने, आफ्नो पुच्छर वा पेटमा हेरी वृत्त आकारमा धुम्ने, विभिन्न वस्तु वा मानिस जनावरलाई आक्रमण गर्न खोज्ने जस्ता व्यवहार देखाउँछन् । यस्ता लक्षण देखाउने पशुपन्छी रोगी हुन्छन् र त्यस्ताको मासु खानाले विभिन्न रोग सर्ने सम्भावना बढी हुन्छ ।

३. हिँडाईमा असामान्य देखिने पशुपन्छी

पशुपन्छीका खुट्टा वा शरीरको कुनै भागमा चोट पटक लागेको खण्डमा हिँडाइ असामान्य देखिन्छ । सामान्यतः पशुपन्छी १२ घण्टा अघिदेखि बहिरी वा भित्री रूपमा चोटयुक्त छन् भने यो समयमा उसको शरीरले विभिन्न किसिमका हर्मोन उत्पादन गर्न सुरु गर्छ । त्यस्ता हर्मोनले मासुको स्वाद र गुणस्तर विग्रिन्छ । यस्ता पशुपन्छीको मासु मानव शरीरका लागि राम्रो मानिँदैन ।

४. असामान्य हाउभाउ देखाउने पशुपन्छी

आँखा निन्द्रा लागेजस्तो, लट्ठिएको जस्तो अथवा चिन्ताजनक अवस्थामा देखिने पशुपन्छी र पेट फुलेको, टाउको र खुट्टा तन्काएकाएर सहजै उठ्न वा बस्न नसक्ने पशुपन्छी रोगी हुने हुँदा त्यस्ता पशु नकिन्नु नै राम्रो हुन्छ । यस्ता पशु रोगी हुन्छन् ।

५. असामान्य शारीरिक सङ्गठन भएका पशुहरू

जोर्नीहरू बढेका, सुन्निएका, पेट र कल्चौंडो सुन्निएका, बङ्गारा सुन्निएका पशु अस्वस्थ हुन्छन् । यस्ता पशु मासुका लागि उपयुक्त मानिँदैन ।

६. फोहोर निस्केको पशु

नाक, कान, गुद्वार र योनीबाट असामन्य किसिमको फोहोरहरू निस्केको पशु वा पखाला लागेको, योनीबाट असामन्य रूपमा गन्हाउने तरल पदार्थ निस्किरहेको वा आँखाका भागहरू बढेका पशुहरू मानव स्वास्थ्यका लागि प्रतिकूल हुन्छन् ।

७. असामान्य रूपमा स्वास फेरिरहेको, रौँ फुलाएर जिङ्रिङ्ग भएको पशु

सामान्यत पशुहरूमा जीवाणु, विषाणुको संक्रमण भइरहेको बेला वा अन्य रोगहरूले सक्रमित भइरहेका बेला स्वास छिटो फेर्ने र ज्वरो आएर रौं ठाडो पारी फुलेर जिङग्रिङ्ग देखिने हुनले त्यस्ता पशु अस्वस्थ र रोगी हुन्छन् । त्यसैले त्यस्ता खसीबोका किन्नु हुँदैन ।

८. नजिकको पशु हाटबजार वा खसी बजारबाट मात्र किन्नुहोस्

सामान्यतः नेपालका सबै पशु हाट बजार र खसीबजारमा पशु सेवा विभाग वा अन्तर्गतका कार्यालयबाट नियमित अनुगमन भइरहने भएकाले त्यस्ता बजारमा पाइने पशुपन्छीहरू बाटोमा बिक्री गरिनेभन्दा स्वस्थ हुने भएकाले नजिकको हाटबजार वा खसी बजारबाट किन्दा राम्रो देखिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।