आत्मनिर्भर अर्थतन्त्र निर्माणमा एयर कार्गो व्यवसायको भूमिका – नरेश अग्रवालको लेख


कार्गो व्यवसाय विभिन्न साधनको माध्यमबाट हुने ढुवानी सुविधा हो ।

नेपाल भित्रिने र बाहिरिने वस्तुहरु हवाई, सडक, रेलमार्ग तथा समुद्रिक मार्ग भएर ढुवानी गर्ने गरिन्छ । बढ्दो आयातले नेपालमा हुने ढुवानी पनि बढेको छ । यसले कार्गो व्यवसायीहरुको कारोबार पनि विस्तारै विस्तार हँुदै गएको छ ।

कारोबार बढे पनि अहिले कार्गो ब्यवसायको अवस्था राम्रो छैन । चलिरहेको छ, तर पनि यसमा समस्या निकै छन् । पछिल्लो समय कार्गो व्यवसायमा केही शिथिलता देखिएको छ ।

कार्गो व्यवसायमा रहेका कम्पनीहरू माल ढुवानी, प्रत्यक्ष यातायात सेवा, भण्डारण, भन्सार निकासी जस्ता सेवा दिन सक्षम छन् । कार्गो व्यवसायीहरु काम गरिरहेका छन्, तर अवस्था राम्रो देखिँदैन ।

नेपालमा हाल कार्गो व्यवसायमा करिब १२५ वटा कम्पनी संलग्न छन् । जसमा अहिले १२० जना फ्रेट फरवाडर्स छन् भने ५ जना सहयोगी सदस्य रहेका छन् । कार्गो व्यवसायमा रहेका अधिकांश कम्पनी सानो वा मध्यम किसिमका छन् । ती कम्पनीहरुमा ७ देखि ३५ जनासम्म कर्मचारी कार्यरत छन् । यस हिसाबले पनि कार्गो व्यवसायमा अहिले दुई हजार भन्दा बढी जनशक्ति कार्यरत रहेको देखिन्छ ।

नेपालमा अहिले सञ्चालनमा रहेका कार्गो कम्पनीहरुमा सबै एकै किसिमका छैनन् । यीमध्ये केही साना छन् भने कुनै मध्यम खालका रहेका छन् । साना कम्पनीमा लगानी कम छ, तर मध्यम र केही ठूला कम्पनीमा भने लगानी धेरै छ ।

कार्गो व्यवसायीले ४ करोड रुपैयाँ न्यूनतम लागत राखेका छन् । यस हिसाबले औसतमा हिसाब गर्ने हो भने पनि ४० अर्ब भन्दा बढी लगानी यस क्षेत्रमा रहेको छ ।

निर्यातमा कार्गो कम्पनीहरुमार्फत् हुने कारोबारले धेरै हिस्सा ओगटेको छ । एयर कार्गो र अन्य माध्यममा समेत कार्गो व्यवसायको हिस्सा बढी देखिन्छ । आयातमा भने कार्गोको हिस्सा त्यति धेरै छैन । कुल आयातमा करिब २० प्रतिशत हिस्सा कार्गो व्यवसायले ओगटेको छ । अहिले सिपिङ म्यानले नै वीरगञ्जसम्म डेलिभरी दिन थालेका छन् । त्यसले गर्दा पनि आयातमा कार्गोको हिस्सा कम भएको छ ।

निर्यातमा अहिले कृषिजन्य उत्पादन, हस्तकलाका सामान, कार्पेट, गार्मेन्टका सामान छन् । अहिले कृषिजन्य वस्तुहरुको समेत निर्यात बढेको छ । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । आयातमा भने धेरै किसिमका सामान नेपाल भित्रिरहेका छन् । सानादेखि ठुला वस्तुहरु आयात हुने गरेका छन् । नेपालमै उत्पादन गर्न सकिने कतिपय वस्तु पनि विदेशबाट आयात भइरहेको देखिन्छ । यसले गर्दा बर्सेनि आयातको ग्राफ उकालो लाग्दै आएको छ ।

अहिले नेपालमा हवाई र सडकमार्गमार्फत् कार्गोजन्य वस्तु आयात–निर्यात हुने गरेको छ । तेस्रो मुलुकबाट आउने सामान भने समुद्रिक मार्ग र रेलमार्ग भएर आउँछ । भारतबाट भने सडकमार्गमार्फत् सामान नेपाल भित्रिन्छ । केही वस्तुचाहिँ हवाई मार्गबाट आउने गरेका छन् । एयर कार्गो हवाई माध्यमबाट हुने ढुवानी सुविधा हो । एयर कार्गाे फर्महरूद्वारा सिपरहरूबाट सामान संकलन गर्ने र ग्राहकलाई उक्त सामान डेलिभरी गर्ने प्रक्रिया हो । सन् १९११ मा पहिलो पटक सामान ढुवानीमा एयरक्राफ्टको प्रयोग भएको थियो । समुद्रसँग नजोडिएका मुलुकहरुमा सामान ढुवानीको लागि हवाई माध्यमको भूमिका महत्वपुर्ण रहन्छ । नेपालमा पनि एयर कार्गोको भूमिका अर्थतन्त्रलाई चलायमान बनाउन निकै महत्वपूर्ण छ ।

हाल नेपालमा ५३ वटा विमानस्थल रहेका छन् । जसमध्ये ३२ मात्रै सञ्चालनमा छन्। ३ अन्तरराष्ट्रियसहित १० विमानस्थलमा पक्की रनवे छन् । अर्को अन्तरराष्ट्रिय विमानस्थल निजगढमा निर्माणको चरणमा छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ४७ एयरलाइन्स कम्पनीलाई एयरलाइन्स सञ्चालनको अनुमति दिएको छ, तर २० वटाले मात्रै सेवा सञ्चालन गरिरहेका छन् । तीमध्ये ५ एयरलाइन्स मनोरञ्जन तथा उड्डयन खेलकुदसँग सम्बन्धित छन् । ५ कम्पनीले हेलिकप्टर सेवा प्रदान गर्दै आएका छन् । उनीहरुले पहाडी र हिमाली क्षेत्रहरूमा खाना, लत्ताकपडा, औषधि र निर्माण सामाग्रीको आपूर्ति गर्ने गरेका छन् ।

नेपाल भुपरिवेष्टित राष्ट्र हो । नेपालको लागि विशेष गरी अन्तरराष्ट्रिय व्यापारमा हवाई सेवाले महत्वपूर्ण भूमिका खेल्छ । नेपाल सामुद्रिक मार्गसँग नजोडिएकोले सामान ढुवानीको लागि हवाई मार्ग महत्वपूर्ण माध्यम हो । पछिल्लो समय नेपालमा हवाई माध्यमबाट हुने आयात र निर्यात दुवै बढ्दो क्रममा छ । बाह्य मात्र नभएर आन्तरिक ढुवानीमा पनि हवाई माध्यमको प्रयोग हुने गरेको छ ।

एयर कार्गोमार्फत् प्रायः अर्जेन्ट तथा मूल्यवान् सामानहरु बढी पठाइन्छ । अन्य माध्यमको तुलनामा महँगो पनि हुन्छ । अहिले हवाई भाडा बढेका कारण हवाई माध्यमबाट हुने ढुवानीमा लागत बढी लाग्छ । यसले गर्दा अन्तरराष्ट्रिय बजारमा नेपाललाई प्रतिस्पर्धा गर्न गाह्रो परिरहेको छ ।

एयर कार्गोको अर्थतन्त्रमा योगदान

एयर कार्गो भनेको अर्थतन्त्रको मेरुदण्ड नै हो । यो भएन भने अहिलेको अवस्थामा अर्थतन्त्र नै चल्न सक्दैन । नेपालले गर्ने वैदेशिक व्यापारमा एयर कार्गाेको योगदान धेरै छ । सरकारले हरेक वर्ष एयर कार्गोको माध्यमबाट ठूलो आम्दानी गर्ने गरेको छ । आयातमा एयर कार्गोले ठूलै हिस्सा आगटेको छ, यसबाट सरकारले राजस्व उठाउँदै आएको छ । यसले गर्दा यो सरकारको आम्दानीको एउटा महत्वपूर्ण क्षेत्र पनि भएको छ । कुल गार्हस्थ्य उत्पादनमा समेत यसको योगदान बढ्दो छ ।

अन्तरराष्ट्रिय मात्र होइन नेपालका भित्री भूभाग र दुर्गम क्षेत्रहरूमा सामानको ढुवानीको लागि आन्तरिक हवाई यातायातको महत्वपूर्ण स्थान छ । कतिपय स्थानमा अन्य माध्यमबाट ढुवानी गर्न कठिन छ । ती स्थानमा हवाई माध्यबाट सामान ढुवानी गर्नुपर्ने अवस्था छ ।

कार्गो व्यवसायीको लागि नेपालमा धेरै सम्भावना देखिन्छ । यहाँ नयाँ बजार रहेकोले धेरै सम्भावना देखिएका हुन् । रेलवे भरखरै सुरु हुने चरणमा छ । कार्गो व्यवसायलाई प्रोत्साहन गर्न सकेमा यसले भविष्यमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सक्छ ।

एयर कार्गो कारोबार

नेपालले एयर कार्गोको माध्यमबाट वार्षिक झण्डै ५ खर्ब रुपैयाँको कारोबार गर्ने गरेको छ । मुख्यगरी अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थलबाट हवाई माध्यममार्फत् वैदेशिक ब्यापार हुने गरेको छ । आयातमा भैरहवा विमानस्थलको हिस्सा धेरै छ भने निर्यातमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धेरै रहेको देखिन्छ ।

पछिल्ला वर्षहरुमा यी स्थानबाट हुने वैदेशिक ब्यापार निरन्तर बढ्दै गएको छ । यी दुई ठाँउबाट आर्थिक वर्ष २०७८ र ७९ मा मात्रै ५ खर्ब ४६ अर्ब रुपैयाँको वैदेशिक ब्यापार भएको तथ्यांकले देखाउछ । जसमा पाँच खर्ब ६ अर्ब रुपैयाँको आयात र ३९ अर्बभन्दा बढीको वस्तु निर्यात भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट २ खर्ब १० अर्बको आयात भएको छ भने भैरहवा विमानस्थलबाट २ खर्ब ९५ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३२ अर्ब २ करोड रुपैयाँको र भैरहवा विमानस्थलबाट ७ अर्ब ६१ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आवमा यी दुई विमानस्थलबाट कुल आयातको २६ प्रतिशत र कुल निर्यातको २० प्रतिशत निर्यात भएको छ ।

आव २०७७/७८ मा ४ खर्ब ५७ अर्ब रुपैयाँको कारोबार भएको थियो, जसमा ४ खर्ब २४ अर्ब रुपैयाँको आयात र ३२ अर्ब रुपैयाँको निर्यात भएको छ । आव २०७६/७७ मा यी दुई विमानस्थलबाट ३ खर्ब ३५ अर्ब रुपैयाँको वैदेशिक ब्यापार हुँदा ३ अर्ब १३ अर्ब रुपैयाँको आयात र २२ अर्ब रुपैयाँको निर्यात भएको छ । आव २०७५/७६ मा ४ खर्ब २२ अर्ब रुपैयाँको वैदेशिक ब्यापार हुँदा ३ खर्ब ९४ अर्ब रुपैयाँको आयात र २७ अर्बको निर्यात भएको छ । आव २०७४/७५ मा ३ खर्ब ९९ अर्ब रुपैयाँको वैदेशिक ब्यापार भएकोमा ३ खर्ब ७३ अर्ब रुपैयाँको आयात र २६ अर्बको निर्यात भएको छ ।

हरेक वर्ष कुल आयातको करिब ३० प्रतिशत हिस्सा यी दुई विमानस्थलको छ भने निर्यातमा पनि २० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।

नेपालमा लामो समयदेखि नै आयातको तुलनामा निर्यातको अंश धेरै कम छ । कुल वैदेशिक ब्यापारमा ८/९ प्रतिशत हिस्सामात्रै निर्यातको छ । अन्य माध्यमहरु जस्तैः हवाईमार्गबाट पनि आयात भन्दा निर्यात कम रहेको देखिन्छ ।

कार्गो व्यवसायका समस्या

कोभिड– १९ का कारण कार्गो व्यवसायमा समस्या उत्पन्न हुन गएको छ । महामारीका कारण सबै क्षेत्र प्रभावित हुँदा कार्गो व्यवसायमा पनि त्यसले असर पारेको छ । एयरलाइन्सहरुको पनि त्यति राम्रो अवस्था देखिँदैन । अर्कोतर्फ, सामान पु¥याउने बेलामा ठाउँ नपाएर मूल्य बढ्न पुगेको छ । यसले गर्दा निर्यातलाई प्रोत्साहन भएको छैन । निर्यात गर्ने बेलामा पनि सिपोर्टहरुमा धेरै प्रतिस्पर्धाका कारण सिपिङ कम्पनीहरुले पनि ठाउँ नदिने समस्या छ ।

अर्को ठूलो समस्या भनेको, विदेशी सिपिङ कम्पनीहरुले वीरगञ्जसम्म आएर डेलिभरी गर्ने गरेका छन् । विदेशीले नेपाली भूभागमै आएर ब्यापार गर्न नेपालमा नै दर्ता हुनुपर्छ । उनीहरुले काम नेपालमा गर्ने, तर पैसाको कारोबार भने भारतबाट गर्ने गरेका छन्।् । यो विषय ठूलो समस्या बनेको छ । यसलाई सरकारले तुरुन्त रोक्नुपर्छ ।

भारतीय कम्पनीहरुले रेलभाडा घटाउँदा पनि हाम्रा उपभोक्ता र आयातकर्ताले फाइदा उठाउन सकेका छैनन् । सिपिङ म्यानहरुलाई मात्रै यसले फाइदा गरेको छ । नेपालले पनि रेल चलाउने हो भने व्यवसायीलाई धेरै सुविधा हुन्छ ।

समाधानका उपाय

पहिलो कुुरा, नेपालमा काम गर्ने सिपिङ कम्पनीहरुलाई नेपालमै दर्ता गर्नुपर्ने नियम बनाउनुपर्छ । अन्य मुलुकमा दर्ता भएर नेपालमा काम गर्न दिनु हुँदैन । नेपालबाटै भुक्तानी लिने व्यवस्था गर्नुपर्छ । त्यति भयो भने अहिले देखिएका धेरै समस्या सामाधान हुन्छन् ।

सरकारले ड्राइपोर्टहरुमा हेन्डलिड. चार्ज कम गर्नुपर्छ । अहिले सरकारले बनाएका कतिपय ड्राइपोर्टहरुको खर्च उठिसकेको छ । त्यसमा सरकारले शुल्क कम गरिदियो भने व्यवसायीलाई सहुलियत हुन्छ । लागत पनि कम हुन्छ ।

सरकारले आयातमा मात्र ध्यान नदिएर पूर्वाधारमा पनि लगानी गर्नुपर्छ । नीति निर्माण गर्दा एकीकृत बनाउनुपर्छ, छोटो समयमा नीतिहरु परिवर्तन हुनु हुँदैन । सरकारका तर्फबाट गर्नुपर्ने काम धेरै छ । सरकारले आफ्ना नीतिहरुमार्फत् नेपाली व्यवसायीलाई प्रोत्साहन गर्नुपर्छ ।

व्यापार सहजीकरणका पहलहरूमा निजी क्षेत्रको पूर्ण र समावेशी प्रतिनिधित्व हुनुपर्छ । आधारभूत ब्यापार सहजीकरण उपायहरूको कार्यान्वयन हुनुपर्छ । कागजविहीन ब्यापार, राष्ट्रिय र क्षेत्रीय एकल विन्डोको विकाससहित ब्यापार पोर्टलको विकास गर्नुपर्छ । राष्ट्रिय व्यापार सहजीकरण, कार्यसम्पादन, अनुगमन र संयन्त्र पहिचान गर्न आवश्यक छ । व्यापार सहजीकरणका लागि यातायात पूर्वाधारहरुको विकास तथा द्विपक्षीय र क्षेत्रीय स्वतन्त्र व्यापार सम्झौताहरूमा रहेका व्यापारका मुद्दालाई ठोस रुपमा सम्बोधन गर्नुपर्छ ।

– लेखक अग्रवाल नेपाल फ्रेट पर्वाडर्स एशोसिएशनका उपाध्यक्ष हुन् ।
– लेख नाफिज जर्नल अर्थचित्रबाट साभार गरिएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ असाेज २०७९, मंगलबार  ०९ : १८ बजे