नेपालमा हरित हाइड्रोजनको उत्पादन हामीले नगरे कसले गर्ने ? शेष घलेको विचार


अहिले विश्वव्यापी रुपमा हरित उर्जाको बहस चलिरहेको छ । विश्वका धेरै मुलुकहरु यसको कार्यान्वायनतर्फ अग्रसर भईरहेका छन् ।

जबकी नेपाल यसको सबैभन्दा धेरै सम्भावना भएको मुलुक हो । यो अवस्थामा अरु मुलुकलाई भन्दा नेपाललाई हरित उर्जामा अघि बढ्न स्रोत र साधनको सहजता अधिक हुन आउँछ ।

यही विषयलाई सन्दर्भ पारेर हामीले नेपाललाई हरित हाइड्रोजनमा अघि बढाउने सोचका साथ एउटा सार्थक अभ्यासका रुपमा नेपाल ग्रीन हाइड्रोजन समिट २०२२ सम्पन्न गर्यौं । ‘एन एन्टीडोट फर मेल्टीङ हिमालयज को थिममा भएको सम्मेलनले नेपालमा हाइड्रोजन उत्पादनको सम्भाव्यतालाई थप मजबुत बनाएको आभाष भएको छ । सम्मेलन सकिँदै गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, लगानीकर्ता, प्राविधिक, वल्र्ड बैंक, एशियाली डेभलपमेण्ट बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका संघसंस्थाबाट पाएको प्रतिकृयाले नेपाल अब हरित हाइड्रोजनमा अघि बढ्ने करिब निश्चित भएको छ ।

दीर्घकालमा मात्र व्यवसायिक उत्पादन

तत्काल व्यवसायिक रुपमा हरित हाइड्रोजनको उत्पादन सम्भव देखिदैन । तर, दीर्घकालमा व्यवसायिक रुपमा नै हरित हाइड्रोजन उत्पादन गर्न सकिन्छ भन्ने स्पष्ट भएको छ । सबै काममा व्यवसायिक भएर मात्र हुँदैन । व्यवसायिक पाटो भविष्यमा तयार हुँदै जाला, तर अहिले मुलुकलाई माथि उठाउन पनि हरित हाइड्रोजन उत्पादनको एजेण्डामा लागेका हौं । सुरुवात त कसैले न कसैले गर्नै पर्छ, यस्तो बेला हामीले नगरे कसले गर्ने ? यही सोचले नै हामीलाई आजका दिनसम्म ल्याएको हो ।

नेपालको सन्दर्भमा हरित हाइड्रोजन उत्पादन सहज र जनस्तरबाट पनि माग भएका कारण सामाजिक जिम्मेवारी बहन किन नगर्ने भन्ने सोच लिएर यो अभियान सुरु गरेका छौ । यसलाई अभियानमा मात्र सिमित राख्दैनौं । सम्मेलन यसको पहिलो खुटकिलो मात्र हो । अबका दिनमा यसमा हामीले अझ धेरै कामहरु गर्नुपर्नेछ । यसमा सरकार, सम्बद्ध पक्ष र निकायको पनि उत्तिकै महत्वपुर्ण भुमिका रहने कुरामा दुईमत छैन । सम्मेलनले सबै पक्षलाई एकै स्थानमा ल्याएर मार्गनिर्देश गरेको छ ।

उर्जा र अर्थ मन्त्रालयले समेत चासो देखाएकैले सम्मेलन सार्थक मात्र नभई हरित हाइड्रोजन उत्पादनको अभियानलाई मुर्तरुप दिने अवस्था बनेको छ । प्रकृयाको कुरा हो, समय लाग्न सक्छ । विभिन्न मन्त्रालयका सचिव, सह–सचिवहरुले पनि हाइड्रोजनको उत्पादनका सम्बन्धमा राख्नु भएको रुची र सहयोगी भावनाले आगामी दिनमा नतिजा देखाउन मद्दत गर्ने नै छ । त्यति मात्र नभई नतिजा देखाउने क्रममा समेत उहाँहरुको भूमिका केन्द्रमा हुने कुरा जगजाहेर नै छ । योजना धेरै बन्छन्, तर यो योजनालाई साकार रुप दिन सरकार, प्रशासनको उत्तिकै महत्वपूर्ण भूमिका हुँदै गर्दा उहाँहरुबाट मिलेको प्रोत्साहनले झनै उत्साहित बनाएको छ ।

कोरोना महामारीले देखाएको बाटो

महामारीको समयमा जब लकडाउन भयो तबदेखि नै हामीले ग्रीन हाइड्रोजनको अवधारणामा काम गरिरहेका थियौँ । नेपालमा यसको आवश्यकता र उत्पादन क्षमता, नीति लगायतका विविध विषयमा अध्ययन गर्यौँ र यो सम्मेलन आयोजना गर्न सकियो । हरित हाइड्रोजन उत्पादनलाई हामीले एउटा सामाजिक विकासको कारक मानेर अगाडि बढिरहेका छौँ । यसका लागि आवश्यक पर्ने नीति निर्माणमा हामीले काम गर्ने छौँ र व्यवसायिक रुपमा नै यसको उत्पादनका लागि वातावरण बन्यो भने नेतृत्वदायी भुमिका सहित अघि बढ्छौं भन्ने योजना छ ।

हरित हाइड्रोजन उत्पादनको लागि सम्भाव्यताका अध्ययनहरु भईरहेका छन् । हाम्रै फाउन्डेसनले पनि विज्ञहरुबाट नेपालमा व्यवसायिक रुपमा हरित हाइड्रोनको उत्पादन कति उपयुक्त हुन्छ भन्ने विषयमा अध्ययन गराईरहेका छौं । त्यसका लागि ३ लाख डलरभन्दा बढी रकम खर्च गरीसकेका छौँ । अब सम्भाव्यता अध्ययनका लागि मात्र लाखौं डलर खर्चिनुपर्ने हुन्छ । हामीले त्यो जोखिम उठाउन खोजिरहेका छौँ ।

हाइड्रोजन नीतिको अभाव

अहिले नेपालमा हरित हाइड्रोजनलाई लिएर कुनै नीति बनेको छैन । तर हामी सरकारले नीति बनाएन भनेर रोकिदैनौँ । निरन्तर सरकारलाई घच्घचाइरहन्छौँ । दुई दिने सम्मेलनले नीतिगत व्यवस्थाका लागि सरकार, राष्ट्र बैंक लगायतका सम्बद्द पक्ष र निकायलाई घच्घच्याउने काम गरेको आभाष हामीले गरेका छौं ।

विश्वका ठुला अर्थतन्त्र भएका अमेरिका, बेलायत, चीन र भारत लगायत मुलुकको ध्यान हरित हाइड्रोजनमा गइरहेका बेला नेपालले त्यसका लागि सबैभन्दा पहिले नीतिगत व्यवस्था गर्नै पर्ने हुन्छ । विगतमा हामीले नेपालमा उर्जा संकटको सामना गर्नु परेको यथार्थ लुक्न सक्दैन । फेरी पनि त्यस्तो अवस्था त नआउला, तर त्यसलाई समय अनुसार थप प्रभावकारी बनाउने माध्यम भनेको हरित हाइड्रोजन नै हो । हामी विश्वका अन्य मुलुकको तुलनामा सहज अवस्थामा छौं । यो कुरालाई पक्कै पनि सरकार र सम्बद्ध निकायले बुझेको हुनुपर्छ । नेपालमा हरित हाइड्रोजन उत्पादनका लागि सरकारले आवश्यक कानुन बनाइदिनुपर्छ भन्ने कुरा अहिलेको मुख्य मुद्धा हो ।

हरित हाइड्रोजन सम्बन्धी कानुन बनाउनका लागि उर्जा मन्त्रालय, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड लगायतको संयुक्तपहल आवश्यक छ । सरकारले अबको केही महिनामा हरित हाइड्रोजन सम्बन्धी भिजन सार्वजनिक गर्नुपर्छ र आगामी दशकमा कुन स्थानमा पुग्ने भनेर लक्ष्य तय गर्नुपर्छ । यसमा हामी हातेमालो गरेर अघि बढ्न सक्छौं ।

ठूलो लगानीको आवश्यक्ता

वार्षिक २ लाख मेट्रिक टन युरिया उत्पादन गर्ने कारखाना स्थापना गर्नका लागि ६ सय मिलियन डलरको लगानी आवश्यक पर्ने कुरा यही सम्मेलनमा उजागर भएको छ । यो भनेको बिलियन डलर लगानी हो । यो २ वर्ष अघिको अध्ययनले देखाएको विषय हो । पछिल्लो २ वर्षमा महंगी धेरै आकाशिएको छ । यो अवस्था लागत पनि बढ्नु स्वभाविक हो ।

सन् २०४५ को नेट कार्बन लक्ष्य भेट्टाउन १०० बिलियन भन्दा धेरै डलरको लगानी आवश्यक पर्ने हुन्छ । यस क्षेत्रमा गरिने लगानीले नेपाल विश्वको ऊर्जा क्षेत्रमा मुख्य प्लेयर बन्न सक्छ । हरित हाइड्रोजन प्लान्ट स्थापना गर्न चाहिने लगानी जुटाउन हामी तयार छौँ । तर, कति लगानी लाग्छ र कति उत्पादन हुन्छ भन्ने विषय अध्ययन पछि मात्र थाहा हुने कुरा हो ।

भारतमा गौतम अडानी र रिलायन्स इन्डस्ट्रीले ठुलो रकम लगानी गरिसकेको छ । नेपालमा पनि अडानीले लगानी बिस्तार गर्ने सुन्नमा आएको छ । भारतमा कोइलाबाट उत्पादित बिजुलीलाई प्रयोग गरेर हाइड्रोजन उत्पादन गरिरहेको सन्दर्भमा हामीले उहाँहरुलाई स्वागत गर्नुपर्छ । कोइलाबाट ग्रे र ब्लू हाइड्रोजन उत्पादन गर्ने भारतले नेपालमा जलविद्युतबाट हरित हाइड्रोजन उत्पादन गर्न चाहनु भनेको हाम्रो लागि अवसर हो ।

हरेक चरणमा बजारीकरण सम्भव

अहिले नेपालमा माग बराबरको जलविद्युत उत्पादन हुन थालेको देखिन्छ । तर हामी सधैं यही अवस्थामा रहँदैनौं । अहिले झण्डै २ हजार मेगावाट विद्युत उत्पादन हुँदा नै खेर जाने अवस्था बनिसकेको छ । यस्तो अवस्थामा नेपालमा प्रयोग भएर बाँकी रहेको जलविद्युतको प्रयोग गरेर ग्रीन हाइड्रोजनको उत्पादन थाल्नु पर्ने हुन्छ । अबको केही वर्षमा ४ हजार मेगावाट हाराहारी विद्युत उत्पादन हुने अवस्था बनिरहेको छ । त्यो बेला सबै विद्युतको खपत नेपालमा नै हुने अवस्था हुँदैन ।

त्यो बेलासम्ममा हामीले खेर जाने विद्युतको अधिकतम सदुपयोग गर्दै हरित हाइड्रोजन उत्पादन सुरु गर्नुपर्ने हुन्छ । त्यसका लागि तत्काल अध्ययन अघि बढाउनु पर्छ ।

पेट्रोलियम पदार्थ जस्तै धेरै चरणमा यसको उत्पादन गर्न सकिन्छ । जसका कारण बजार नपाइएला भन्ने चिन्ता गर्नु पर्ने अवस्था आउने छैन । यसको पहिलो चरण ग्रीन हाइड्रोजन हुन्छ । यसको प्रयोग गर्न सकिएन भने एमोनियामा परिणत गर्न सकिन्छ । यसको बजारीकरण गर्दा पनि धेरै भएको खण्डमा अन्तिम चरणमा युरिया बनाउन सकिन्छ । यस अर्थमा हरित हाइड्रोजन बहुउपयोगी समेत बन्न सक्छ । सबै चरणमा यसको बिक्री बितरण र खपत गर्न सकिने भएकाले हामीलाई धेरै सफलता मिल्ने देखिन्छ ।

अध्ययनले नेपाल र साउदी अरबमा हरित हाइड्रोजनको उत्पादन सबैभन्दा सस्तो हुने देखाएको छ । साउदीमा हावा र सोलारबाट सस्तोमा हरित हाइड्रोजन उत्पादन हुने हो भने नेपालमा जलविद्युतको प्रयोगले सस्तो हुने हो । साउदी र नेपाललाई तुलनात्मक रुपमा हेर्दा नेपालमा हरित हाइड्रोजन उत्पादनको लागत झनै सस्तो पर्नेछ ।

सन् २०३० सम्ममा उत्पादन लक्ष्य

हाइड्रोजनको उत्पादन र प्रयोग सुरु भएपछि पेट्रोलियम पदार्थ, कोइला र खाना पकाउने ग्यासलाई पूर्णरूपमा विस्थापन गर्न सकिन्छ । जसले सयौँ टन कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्छ । सन् २०४५ सम्ममा भेट्नु पर्ने शुन्य कार्बनको लक्ष्यलाई पनि यसले पुरा गर्न सक्छ ।

पेट्रोलियम पदार्थको तुलनामा हरित हाइड्रोजन ४ गूणासम्म शक्तिशाली हुने भएकाले पनि यसको भविष्य ठुलो छ । उत्पादन पहिले तत्कालै यसको विस्तृत सम्भाव्यता अध्ययन सुरु गर्ने हो भने ६ महिनासम्म समय लाग्न सक्छ । अरु आठ दशमहिना लगानी जुटाउने, प्लान्ट स्थापनामा ३ वर्षभन्दा बढी समय लाग्ने, आधारमा छिटोमा ५ वर्षमा हरित हाइड्रोजन उत्पादन गर्न सम्भव छ । तर हामीकहाँ यो रफ्तारमा काम हुन नसक्ने भएकाले सन् २०३० सम्ममा नेपालमा हरित हाइड्रोजन उत्पादन गर्ने सोच अनुसार अघि बढिरहेका छौं ।

-मेलबर्न इन्स्टीच्युट अफ टेक्नोलोजीका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका पुर्व अध्यक्ष घलेसँग गरिएको कुराकानीमा आधारित ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।