विश्वव्यापी मुद्रास्फीति नियन्त्रण गर्न वित्तीय नीति स्पष्ट हुनु आवश्यक : आइएमएफ प्रमुख 


अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)की प्रबन्ध निर्देशक क्रिष्टालीना जोर्जिएभाले मुद्रास्फीति नियन्त्रण गर्न संकुचित मौद्रिक नीतिका र स्पष्ट वित्तीय नीति अवलम्बन गर्नु पर्ने बताएकी छन् । उनले विश्व अर्थतन्त्र एक पछि अर्को समस्यामा परेको हुनाले त्यसलाई लयमा फर्काउन उपयुक्त नीति लिनु पर्ने बताएकी हुन । 

अमेरिकाको वासिङटन डिसीमा भएको आइएमएफकोे वार्षिक साधारण सभामा बोल्दै उनले सन् २०२०मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीले विश्व अर्थतन्त्रमा पारेको प्रभाव न्यूनीकरण नहुँदै रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व अर्थतन्त्र गम्भीर समस्यामा रुमल्लिएको बताएकी छन् । आइएमएफले सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुकमा सन् २०२२मा विश्वव्यापी आर्थिक वृद्धि दर ३।२ प्रतिशत र सन् २०२३मा २।७ प्रतिशत रहने उल्लेख छ । त्यसकारण सन् २०२३मा विश्वमा आर्थिक मन्दी हुने सम्भावना उच्च रहेको छ ।

रुस–युक्रेन युद्ध, उच्च मुद्रास्फीतिका कारण खाद्यान्न र इन्धनको मूल्यमा भएको वृद्धि, जलवायु परिवर्तनका कारण मानिसहरू समस्याग्रस्त छन् भने जीविकोपार्जनमा पनि समस्या परिरहेको उनको भनाइ छ । उच्च मुद्रास्फीतिबाट प्रभावित भएका मानिसहरूलाई विकसित देशहरूले राहतका कार्यक्रम अघि सारेता पनि मानिसहरको जीवनस्तरमा सुधार आएको छैन । 

मुद्रास्फीतिबाट समस्यामा परेका व्यवसायी तथा जनमानसको उत्थानका लागि वित्तीय नीति स्पष्ट, जिम्मेवारीपूर्ण ढङ्गबाट अघि बढ्नुपर्ने क्रिष्टालिनाको धारणा रहेको छ । यसैगरी विश्व अर्थतन्त्रमा वित्तीय स्थायित्व कायम गर्न र जोखिमहरुलाई न्यूनीकरण गर्न म्याक्रो इकोनोमिक नीति सक्रिय तथा सतर्कताका साथ लागू गर्नुपर्ने उनले बताएकी छिन् ।  

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।