नेपाल बैंकको १ प्रतिशत बढ्यो बेस रेट, स्प्रेडदर भने खुम्चियो

0
Shares

सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडको आधार ब्याजदर (बेसरेट) बढेको छ । बैंकको आधार ब्याजदर करिब एक प्रतिशतले बढेको हो ।

असोज ३१ गते सोमबार प्रकाशित भएको ब्याजदर सूचनामा बैंकको बेसरेट २०७९ असार मसान्तसम्म ७.९९ प्रतिशत रहेको उल्लेख गरेको थियो । तर बैंकले कार्तिक ३ गते बिहीबार प्रकाशन भएको सूचनामा असोज मसान्तसम्ममा बैंकको बेसरेट बढेर ८.९२ प्रतिशत कायम भएको जनाएको छ । समीक्षा अवधिमा बैंकको बेसरेट ०.९३ प्रतिशत बिन्दुले वृद्धि भएको हो ।

बैंकको बेसरेट बढेसँगै कर्जाको ब्याजदर समेत बढ्ने छ । बैंकको बसेरेट कार्तिक २ गतेबाट लागू हुने सूचनामा उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा प्रिमियम थपेर ऋण लगानी गर्ने गर्दछन् ।

बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर अर्थात बेस रेट हो । बेस रेटमा बैंकहरुले प्रिमियम थपेर ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ । कर्जाको ब्याजदर आधार दर अर्थात बेस रेटमा लिङ्क गरिएको हुन्छ । आधार दर जहिले पनि तीन-तीन महिनामा घटबढ हुने गर्दछ । आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो ।

बेसरेट आजको भोलि तल माथि हुँदैन । जतिबेला बजारमा तरलताको अभाव हुन्छ त्यो बेला कर्जा र निक्षेप दुबैतर्फ को ब्याजदर बढ्छ । ब्याजदर घट्ने बढ्ने भन्ने विषय निक्षेपमा भर पर्छ । निक्षेप कति सहज हिसावले आउँछ त्यसले नै कर्जाको ब्याजदर तय गर्दछ । यदी सहज हिसाबले धेरै निक्षेप बैंकिङ्ग प्रणालीमा आयो भने कर्जाको ब्याजदर पनि स्वतः तल आउने हुन्छ ।

बेसरेट गणना गर्ने विषयमा चार वटा कम्पोनेन्टहरु छन् । त्यसमा सबैभन्दा ठूलो कम्पोनेन्ट Cost Of Fund हो । Cost Of Fund भनेको निक्षेपकर्ताहरुको माझ दिइने ब्याज हो । भोलिका दिनमा निक्षेपको अवस्था असहज भयो त्यसको प्रत्यक्ष असर बेस रेटमा पर्छ र बेस रेट पनि बढ्छ । त्यस्तो हुँदा कर्जाको ब्याजदर पनि स्वतः बढ्ने गर्दछ ।

यस्तै बैंकको निक्षेपको ब्याज र कर्जाको ब्याजबीचको अन्तर (स्प्रेडदर) ३.६६ प्रतिशत रहेको छ । यसअघि भदौ मसान्तसम्म बैंकको स्प्रेडदर ३.९६ प्रतिशत रहेको थियो । भदौको तुलनामा असोज मसान्तसम्ममा स्प्रेडदर थप ०.३० प्रतिशत बिन्दुले संकुचित बनेको हो । स्प्रेडदर खुम्चिँदा बैंक तथा वित्तीय संस्थाको आम्दानीमा समेत असर पुग्छ ।

पछिल्लो व्याजदर अनुसार बैंकले निक्षेपकर्तालाई बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकको मुद्दती निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको छ । यस्तै बैंकले रेमिट्यान्स मुद्धती निक्षेपमो १३.१३ प्रतिशतसम्म ब्याज दिनेछ ।

बैंकले विभिन्न प्रकारका शीर्षकमा प्रवाह हुने कर्जामा बेसरेटमा एक प्रतिशतदेखि शीर्षक हेरि अधिकतम ६ प्रतिशतसम्म थप प्रिमियम लाग्ने जनाएको छ । बैंकले घरकर्जा १२.२५ देखि १४.२५ प्रतिशत, हायर पर्चेज १२.५० देखि १३.५०, व्यक्तिगत आवधिक कर्जा १३.५० देखि १४.५०, शैक्षिक कर्जा १२.२५, सेवाग्राही कर्जा र घडेरी कर्जा समान १३.५० प्रतिशत ब्याजदरमा प्रवाह गर्ने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।