बैंकिङ प्रणालीमा एकै दिन ४१ अर्ब निक्षेप थपियो, कर्जा निक्षेप अनुपात पनि घट्दै

0
Shares

बैंकिङ प्रणालीमा स्रोत अभावको समस्या केही सहज बन्दै गएको छ । बैंक वित्तीय संस्थाले कर्जा प्रवाहमा गरेको नियन्त्रण र ब्याजदरमा आएको वृद्धिले निक्षेप वृद्धिमा मद्दत पुगेको हो ।

बैंक तथा वित्तीय संस्थाले निक्षेप अभावमा कर्जा लगानी रोकेको अवस्था थियो । तर, पछिल्लो समयमा बैंकिङ प्रणालीमा देखिएको निक्षेपको सुधारले कर्जा लगानी गर्ने क्षमतामा समेत सुधार आएको छ । बैंक वित्तीय संस्थाको ९० को हाराहारीमा रहेको औसत कर्जा निक्षेप अनुपात समेत घटेर ८६.९१ प्रतिशत कायम भएको छ ।

दशैंको सुरुवातमा रेमिट्यान्सका कारण निक्षेपमा केही सुधार आएको थियो । तर, दसैं सकिए लगत्तै बैंक वित्तीय प्रणालीको निक्षेपमा अस्वभाविक गिरावट आएको थियो । तर, असोज महिनाको अन्तिम सातामा भने वित्तीय प्रणालमिा थपिने निक्षेप पनि उच्च दरमा बढेको छ ।

असोज २८ गते शुक्रबारसम्ममा बैंकिङ प्रणालीमा कुल ५१ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ । असोज २५ गते मंगलबार यस्तो निक्षेप ५० अर्ब ८७ अर्ब रुपैयाँ मात्र थियो । तर, असोज ३१ गते सोमबार मात्र बैंकिङ प्रणालीमा करिब ४१ अर्ब निक्षेप थपिएको छ ।

 

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले दसैंका लागि बैंकिङ प्रणालीबाट बाहिरिएको पैसा फिर्ता आएकाले निक्षेपमा सुधार आउन मद्दत पुगेको बताए । “चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम दिन भएकाले पनि असोज ३१ गते निक्षेप बढेको हो,” उनले भने, “पहिलो त्रैमासको ब्याजका कारण बैंकिङ प्रणालीमा निक्षेप बढेको हो ।”

गत सातााको बिहीबारमा प्रणालीमा ४४ अर्ब निक्षेप थपिएको छ । गत शुृक्रबार भने एक अर्ब रुपैयाँ निक्षेप घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत बिहीबारदेखि सोमबारसम्ममा बैंकिङ प्रणालीमा करिब ८५ अर्ब रुपैयाँ निक्षेप थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

असोज ३१ गते अर्थात सोमबार मात्र बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । यसभन्दा अघि बैंक वित्तीय संस्थाको कर्जा बढ्ने भन्दा घट्ने गदथ्र्यो । गत साताको शुक्रबारसम्ममा बैंक वित्तीय संस्थाको कुल कर्जा ४७ अर्ब २२ अर्ब रहेकोमा सोमबार बढेर ४७ अर्ब ५७ अर्ब पुगेको छ । असोज महिनाको अन्तिम दिन उच्च दरमा कर्जा बढेको हुनाले कर्जा नै तिर्नका लागि कर्जा प्रयोग भएको हुन सक्ने देखिन्छ ।

बैंकहरुमा स्रोतको अभाव भएपछि ब्याजदर बढाएर निक्षेप तान्ने दौडमा बैंकहरु थिए । बैंकहरुले ब्याजदर बढाए पनि दसैंको सुरुवात देखि निक्षेपमा कमी आउने भन्दा पनि एक बैंकको अर्कोमा जाने समस्या देखियो ।

पछिल्लो समयमा बैंकहरुले निक्षेप बढाउन ब्याजदरमा गरेको भद्र सहमति समेत तोडेर ब्याजदर बढाएका छन् । ब्याजदर बढाउँदा पनि नयाँ निक्षेप नआएपछि बैंकहरुले कात्तिक महिनाका लागि असोज महिनाकै ब्याजदरलाई निरनतरता दिने सहमति गरिसकेका छन् । त्यसले गर्दा पनि आगामी दिनमा ब्याजदरमा थप वृद्धि नहुने भएकाले कर्जा वृद्धि बढ्न सक्ने देखिन्छ । यद्यपी कर्जा लगानी बढाउन बैंकहरुलाई विद्यमान निक्षेपले अपुग रहने अवस्था रहेकाले निक्षेप संकलन बढाउनुपर्ने नै देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।