नेपाल अमेरिका हवाई सेवा सम्झौताको अन्तिम तयारी, सीधा उडान कहिले ?

0
Shares

नेपालसँग प्रत्यक्ष हवाई उडानका लागि बाटो खोल्ने एउटा सम्झौताको मस्यौदा संयुक्त राज्य अमेरिकाबाट प्राप्त भएको र त्यसबारे दुवै देशले छलफल गर्न लागेको नेपाली अधिकारीहरूले बताएका छन्।

द्विपक्षीय हवाई सेवा सम्झौताको सो मस्यौदामा नेपाल र अमेरिकाबीच सहमति कायम भएपछि त्यसलाई मन्त्रिपरिषद्ले अनुमोदन गरी कार्यान्वयनमा ल्याइने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले बीबीसीलाई बताए।

अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) को टोलीले नेपालको हवाई सुरक्षाबारे अध्ययनका लागि भ्रमण थाल्न लाग्दा उक्त सरकारी भनाइ आएको हो।

अमेरिकी निकायको अध्ययनले नेपालको आकाश सुरक्षित देखाएको खण्डमा त्यसले अझै पनि युरोपेली सङ्घको निगरानी सूचीमा रहेका नेपालको उड्डयन क्षेत्रमा सकारात्मक प्रभाव पुर्‍याउने अपेक्षा अधिकारीहरूले गरेका छन्।

अमेरिकासँग हवाई सम्झौता

अहिले पनि आक्कल झुक्कल रूपमा चार्टर गरिएका विमानहरू अमेरिकाबाट नेपाल आउने भएको भए पनि कुनै पनि नेपाली वायुसेवाले अमेरिकाको उडान गरेका छैनन्।

गएको जुलाईमा दक्षिण कोरियामा सम्पन्न एशिया प्रसान्त क्षेत्रका नागरिक उड्डयन नियामक निकायका प्रमुखहरूको सम्मेलनमा नागरिक उड्डयन प्राधिकरण र अमेरिकी फेडेरल एभिएशन एडमिनिस्ट्रेशनबीच हवाई सम्झौताबारे प्रारम्भिक सहमति भएको विवरण आएका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उक्त सम्झौताका लागि अमेरिकाबाट मस्यौदा प्राप्त भएको र त्यसमा छलफल चलिरहेको बीबीसीलाई बताए।

उनी भन्छन्, ‘एअर सर्भिस एग्रिमेन्ट गर्न नेपाल सरकारले नै अनुमति दिनुपर्ने हुन्छ। अहिले पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले संयुक्त रूपमा उक्त मस्यौदा सम्झौताका बारेमा छलफल गरिरहेका छौँ।’

उनले नेपालको हवाई सुरक्षा अध्ययनका लागि बिहीवार काठमाण्डू आइपुगेको अमेरिकी एफएएको टोलीसँग पनि उक्त मस्यौदाका विषयमा छलफल हुनसक्ने बताए।

सम्झौताको महत्त्व के छ ?

प्रवक्ता निरौलाले अमेरिकासँग हवाई सेवा सम्झौता गर्न पाउनु नेपालका लागि उपलब्धि हुने भन्दै त्यसका लागि आफूहरू तयार रहेको बताए।

उनले भने, ‘यहाँबाट सीधै अमेरिकामा उडान गर्न पाउनु मुलुकका लागि नै राम्रो कुरा हो। सम्झौता भएपछि अमेरिकी वायुसेवा कम्पनीहरू पनि सोझै नेपाल आउन पाउँछन्। अहिले पनि अमेरिकी विमानहरू भारतसम्म आइरहेका छन्। हवाई सेवा सम्झौता भएपछि उनीहरूले भारतबाट नेपाल आएर यात्रु लिएर जान सक्नेछन्।’

सन् २०१९ मा अमेरिकाबाट नेपाल भित्रिने व्यक्तिहरूको सङ्ख्या ९३,२४१ रहेको अध्यागमन विभागको आँकडाले देखाउँछ।

उक्त वर्ष नेपालबाट अमेरिका जानेहरूको सङ्ख्या झन्डै ९४ हजार रहेको थियो।

तर कोरोनाभाइरसको महामारीका कारण त्यसपछिका महिनाहरूमा आगमन र प्रस्थान उल्लेख्य रूपमा घटेको थियो।

सन् २०२१ सम्म आइपुग्दा उक्त सङ्ख्या ५ गुणाभन्दा बढीले घटेको छ भने यो वर्षको जुलाईसम्म अमेरिकाबाट नेपाल आउनेहरूको सङ्ख्या ३९ हजार ५ सय भन्दा बढी रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता निरौला अमेरिकासँगको हवाई सम्झौताका विशिष्ट महत्त्व रहेको बताउँछन्।

उनले भने, ‘हवाई सम्झौता हुनु भनेको सम्बन्धमा पनि सुधार हुनु हो। हवाई सञ्जाल विस्तार हुँदा यहाँका नागरिकलाई पनि फाइदा हुन्छ। यहाँबाट सीधै जाँदा भाडा पनि सस्तो हुन्छ।’

अमेरिकी नियामक निकायको ‘अडिट’

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले अमेरिकी नियामक निकाय एफएएको टोलीले नेपालको हवाई सुरक्षा र नेपाल अमेरिकाबीच सीधा उडान गर्न रहेका ‘बाधा अवरोध’ बारे छलफल गर्ने पनि बताए।

कतिपय विज्ञहरूले अमेरिकी नियामक निकायले हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राख्ने र उसको हवाई सुरक्षाबारेको अध्ययनले नेपाललाई फाइदा पुर्‍याउने धारणा राखेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षत्री भन्छन्, ‘हवाई सुरक्षा र अरू सुरक्षाका विषयमा पनि अमेरिकीहरूको चासो हुन्छ। मलाई लाग्छ त्यही भएर उनीहरूले अध्ययन गर्न लागेका हुन्। उनीहरूले दुईपक्षीय सम्झौता गरेर हामीसँग सम्बन्ध बढाउन खोजिरहेको म देख्छु।’

त्यस्तो हवाई सम्झौतामा दुवै देशले हस्ताक्षर गरे त्यो ऐतिहासिक हुने उनको भनाइ छ।

उनले थपे, ‘अहिलेसम्म हाम्रो ६० वर्षको इतिहासमा कुनै नेपाली ध्वजावाहकले अमेरिकाको कुनै पनि गन्तव्यमा उडान भरेको छैन। उनीहरूले पनि नियमित उडान गरेर यात्रु लिएर आएका छैनन्। अमेरिकासँग सम्झौता गर्नु भनेको एकदमै राम्रो हुन्छ।’

निगरानी सूचीको चुनौती

सन् १९६३ यता विभिन्न ४० देशसँग हवाई सम्झौता गरेको नेपालले खासगरी सन् २०१० र त्यसपछिका वर्षहरूमा भएका हवाई दुर्घटनाका कारण अन्तर्राष्ट्रिय नियामक निकायहरूबाट निगरानी खेपिरहेको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको निगरानी सूचीमा परेपछि सन् २०१३ देखि युरोपेली सङ्घ ईयुले नेपाललाई हवाई सुरक्षा निगरानी सूचीमा राख्दै आएको छ।

ईयुको त्यस्तो सूचीमा परेका कारण नेपाली वायुसेवा कम्पनीलाई युरोपमा उडान गर्न प्रतिबन्ध लगाइएको छ भने युरोपका ध्वजावाहकहरूले पनि नेपालमा सीधा उडान गरिरहेका छैनन्।

नेपाल सन् २०१७ मा आइकाओको सूचीबाट हटेको भए पनि अझै ईयुको सूचीमा छ। तर नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता निरौलाले ईयू र विश्व ब्याङ्क दुवैले नेपालको हवाई सुरक्षाप्रति केही समय पहिले सन्तुष्टि जनाएको बताए।

पूर्व महानिर्देशक क्षत्रीका अनुसार ईयुले पछिल्लो सुरक्षा अडिटमा नेपालले चालेका सुरक्षाको कदम राम्रो भएको धारणा राखेको भन्दै त्यसैका आधारमा अमेरिकी नियामक निकायले चासो व्यक्त गरेको हुनसक्ने बताए।

उनले थपे, ‘मलाई लाग्छ उहाँहरूले सुरक्षाको अडिट पनि गर्नुहुन्छ र हामी सफल पनि हुन्छौँ। उनीहरूले हाम्रो अवस्था अध्ययन गरेर तिमीहरूको सुरक्षा मापदण्ड राम्रो छ भनिदिए भने मात्रै पनि त्यो हाम्रो लागि कोशे ढुङ्गा हुन्छ।’ बीबीसी

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।