कार्बन उत्सर्जन कम गर्न जिडिपीको १.४ प्रतिशत लगानी हुनुपर्छ: वर्ल्ड बैंक


विकासोन्मुख राष्ट्रहरूले कार्बन उत्सर्जन  नियन्त्रणका लागि वार्षिक रुपमा कुल जिडिपीको १.४ प्रतिशत लगानी गर्दा पर्याप्त हुने वर्ल्ड बैंकको ठहर छ । देशीय जलवायु र विकास प्रतिवेदन सार्वजनिक गर्दै वर्ल्ड बैंकले विकासोन्मुख राष्ट्रहरूले कम कार्बन उत्सर्जन गर्ने भएता पनि जलवायु परिवर्तनको चपेटामा परेको वर्ल्ड बैंकले औँल्याएको हो । 

विश्वभरमा उत्सर्जन हुने कुल हरितगृह ग्यास मध्ये ३४ प्रतिशत हिस्सा उत्पादन गर्ने २४ देशहरूको अध्ययन गर्दै वर्ल्ड बैंकले ती देशहरूले कार्बन उत्सर्जन नियन्त्रण गर्न सन् २०२२ देखि २०३० सम्ममा कुल जिडिपीको १.४ प्रतिशत लगानी गर्नुपर्ने औँल्याएको छ । सन् २०५० सम्ममा हरितगृह ग्यास तथा कार्बन उत्सर्जन ७० प्रतिशतले नियन्त्रणमा आउने प्रतिवेदनमा उल्लेख छ । 

यसैगरी वर्ल्ड बैंकले निम्न आय भएका देशहरूले जलवायु परिवर्तनको असर निराकरण गर्न जीडिपीको ८ प्रतिशत, निम्न मध्यम आय भएका देशहरूले जिडिपीको ५.१ प्रतिशत र उच्च आय भएका देशहरूले कुल जिडिपीको १.१ प्रतिशत लगानी गर्नुपर्ने जनाएको छ । उच्च आय भएका देशहरूले कार्बन उत्सर्जन रहित विकास गरी जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणमा विशेष ध्यान दिनुपर्ने र प्रभावित देशहरूमा गर्दै आएको सहयोगलाई वृद्धि गर्नुपर्ने वर्ल्ड बैंकले सुझाएको छ।

देशहरूले यो नीति अवलम्बन गर्दा जलवायु परिवर्तन न्यूनिकरण हुनुका साथसाथै आर्थिक वृद्धि र गरिबी न्यूनिकरण जस्ता सकारात्मक सुधारहरू आउने प्रतिवेदनमा उल्लेख छ । अन्तराष्ट्रिय सङ्घसंस्थाबाट प्राप्त हुने सहयोगलाई पनि स्पष्ट संरचना, नीति बनाई लागू गर्दा कार्बन उत्सर्जनमा कमी ल्याउन र पेरिस एग्रिमेन्टमा गरेका प्रतिवद्धताहरूलाई साकार रूप दिन सक्ने वर्ल्ड बैंकले जनाएको छ । 

यसै सन्दर्भमा वर्ल्ड बैंक ग्रुपका उपाध्यक्ष डेबिड माल्पासले जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण र विकास सँगसँगै अगाडि बढ्नु पर्ने र जलवायु परिवर्तन नियन्त्रणका लागि विश्वव्यापी रुपमा वित्तीय सहयोग आवश्यक रहेको जनाएका छन् । जलवायु नियन्त्रणलाई प्राथमिकतामा राखी श्रृङ्खलाबद्ध रुपमा नीति निर्माण तथा कार्यहरूको कार्यान्वयन, निजी क्षेत्रको सक्रिय सहभागिता, नियमित अन्तराष्ट्रिय सहायता जलवायु परिवर्तन न्यूनिकरण र आर्थिक वृद्धिका लागि महत्वपूर्ण रहेको माल्पासले जनाएका छन् । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।