बैंकिङ क्षेत्रमा जोखिम बढ्दै, ३ महिनामै गत वर्षको भन्दा दोब्बर ‘इम्प्यअरमेन्ट’

0
Shares

बैंकहरुले व्यवसाय विस्तारमा मात्र ध्यान दिइ कर्जा उठ्ने/नउठ्ने मूल्याङ्कन नगर्दा समग्र बैंकिङ प्रणालीकै जोखिम बढेको छ । बैंकहरुले कर्जा दिने मात्र सोच्दा कमसल क्षेत्रमा धेरै कर्जा लगानी बढेपछि बैंकिङ क्षेत्रको जोखिम बढेको हो ।

बैंकहरुले कर्जा दिने तर उठ्ने नउठ्ने मूल्याङकन नगर्दाको परिणाम चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै देखिएको छ । चालु आर्थिक वर्षको असोजसम्ममा २६ बाणिज्य बैंकहरुले कुल ९ अर्ब ४७ करोड १८ लाख रुपैयाँ जोखिम व्यवस्थाका लागि छुट्याएका छन् । बैंकहरुले प्रवाह गरेको कर्जा कमसल भएपछि अथवा कर्जाको सावाँ व्याज समयमा उठ्न नसकेपछि त्यसको जोखिम व्यवस्था गर्नुपर्छ ।

बैंकहरुले ठुलो आकारको रकम जोखिम व्यवस्था गर्नु परेकाले पनि नाफामा करिब ३ प्रतिशतको मात्र वृद्धि देखिएको हो । बैंकहरुले चालु आवमा गरेको जोखिम व्यवस्था (इम्प्यअरमेन्ट) अर्थात कर्जा नोक्सानी वापतको रकम आर्थिक वर्ष २०७८/०७९ को तुलनामा २०४.६५ प्रतिशतले धेरै हो । गत आवको पहिलो त्रैमासमा बैंकहरुले ३ अर्ब १० करोड ९० लाख रुपैयाँ उक्त शिर्षकमा छुट्याएका थिए ।

बैंकहरु चालु आवको पहिलो त्रैमासमा जोखिम व्यवस्थाका लागि छुट्याएको रकम गत आव २०७८/०७९ को तुलनामा दोब्बर हो । गत आवमा बैंकहरुले जोखिम व्यवस्थाका लागि कुल ४ अर्ब २८ करोड ३९ लाख रुपैयाँ प्रोभिजनिङ गरेका थिए ।

यसले बैंकहरुले गरेको कर्जा लगानीमा जोखिम बढ्दै गएको स्पष्ट हुने एक बैंकरले बताए । “गत आवको कोरोना महामारीका कारणले प्रोभिजनिङमा पनि केही सहुलियत दिएको भएपनि अहिले त्यो छैन,” ती बैंकरले भने,“,सहुलियत हटेर नै बढेको भन्दा पनि बैंकहरुले कर्जा लगानी गर्दा उठ्ने/नउठ्ने पक्षलाई समिक्ष नगरी अन्दाधुन्द कर्जा लगानी गरेको हुनाले पनि बढेको हो, त्यसरी कर्जा विस्तार गर्दा एउटा संस्थाको मात्र नभई समग्र प्रणालीकै जोखिम बढ्न जान्छ ।”

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै नबिल बैंकले कर्जा नोक्सानी व्यवस्था गरेको छ । बैंकले यो अवधिमा ९९ करोड ३४ लाख रुपैयाँ कर्जा जोखिम व्यवस्थाका लागि छुट्याएको छ । गत आवको सोही अवधिमा बैंकले १७ करोड ५६ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको थियो । बैंकले गत आवमा कर्जा नोक्सानीका लागि कुल ७० करोड ३५ लाख रुपैयाँ प्रोभिजनिङ गरेको थियो ।

चालु आवको पहिलो त्रैमासमा एनआइसी एसिया बैंकले भने १२ करोड ७८ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता गरेको छ । त्यसैगरी कुमारी बैंकले पनि ७ करोड रुपैयाँ उक्त शिर्षकमा फिर्ता ल्याएको छ ।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा थोरै कर्जा नोक्सानी बापतका लागि रकम छुट्याउनेमा एनसीसी बैंक रहेको छ । बैंकले यो अवधिमा कर्जा नोक्सानीका लागि ६ करोड ३६ लाख रुपैयाँ व्यवस्था गरेको छ । गत आवको सोही अवधिमा बैंकले उक्त शिर्षकबाट ४ करोड ९१ लाख रुपैयाँ फिर्ता गरेको थियो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।