बैंकिङ प्रणालीको तरलता सहजता उन्मुख, मंसिरमा ब्याजदर नबढ्ने


बैंकिङ प्रणालीमा तरलताको अवस्था सहजता उन्मुख देखिएको छ । ब्याजदर वृद्धिका कारण न्यून कर्जा लगानी तथा ,सरकारी ऋणपत्र राखेर लिएको कर्जाको बक्यौतामा समेत उच्च कमी आएकाले तरलता सहज हुँदै आएको हो । 

वित्तीय क्षेत्रमा देखिएको तरलता अभावमा सहज उन्मुख भएसँगै थप ब्याजदर समेत नबढ्ने देखिएको । बैंकहरूले दैनिक तरलता व्यवस्थापनका लागि लिने कर्जाको बक्यौता घट्दै गएको र कर्जा लगानीका लागि समेत सहज अवस्था रहेको एक बैंकले बताए । “बैंकहरूले लगानी गर्न सक्ने भएपनि कर्जाको माग छैन,” उनले भने, “यहि अवस्था रहेको खण्डमा आगामी पुसदेखि ब्याजदर घट्छ ।”

वित्तीय प्रणालीको अवस्था सहज देखिन थालेपछि बैंकहरूले आगामी महिना अर्थात मंसिरका लागि ब्याजदर नबढाउने समेत ती बैंकको भनाइ छ । बैंक वित्तीय संस्थाले राष्ट्र बैंकमा सरकारी ऋणपत्र धितो राखेर लिने कर्जाको बक्यौतामा निरन्तर कमी आएको ट । गत शुक्रबार यस्तो कर्जा बक्यौता ७३.५ अर्ब भएकोमा आइतबार झनै घटेर ६३ अर्बमा झरेको छ । यो कर्जा बक्यौता पछिल्लो १० महिनाको न्यून हो । गत असार ९ गते हालसम्मकै उच्च २४७ अर्ब राष्ट्र बैंकमा कर्जा बक्यौता थियो । 

पछिल्लो समयमा बैंकहरूले १५६ अर्ब रुपैयाँ सम्म कर्जा प्रदान गर्न सक्ने क्षमता रहेको छ । हाल बैंकहरूको औसत कर्जा निक्षेप अनुपात पनि ८७.१ प्रतिशत छ ।

बैंक वित्तीय संस्थाहरूसंग कर्जा प्रवाह गर्न सक्ने क्षमता भएपनि माग नभएकाले बढ्न सकेको छैन । चालु आवको कात्तिक २४ गतेसम्ममा बैंकहरूले ४३ अर्ब रुपैयाँले मात्र कर्जा लगानी गरेका छन् । यसले बैंकिङ प्रणालीमा तरलताको अवस्था सहज हुँदै आएको स्पष्ट हुन्छ । 

बैंकिङ प्रणालीमा तरलता सहज भएपछि ब्याजदर थप बढ्ने सम्भावना पनि न्यून छ । अहिले देखिएको तरलताको अवस्था अनुसार बैंकहरूले ब्याजदर घट्नुपर्ने भएपनि नीतिगत अल्झनका कारण नघट्ने ती बैङ्करको भनाइ छ । तर, वित्तीय क्षेत्रको अवस्था यही रहेको खण्डमा आगामी पुस देखि ब्याजदर घट्न सक्ने उनको अनुमान छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।