ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घट्यो, ब्याजदर घट्ने संकेत


 सरकारले आन्तरिक ऋणका लागि निष्कासन गर्ने ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घट्न थालेको छ । बैंकिङ प्रणालीमा तरलताको अवस्थामा सुधारोन्मुख भएपनि ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घट्न थालेको हो ।  

ट्रेजरी बिल्सको डिस्काउन्ट रेटमा कमी आउनु भनेको बैंकिङ प्रणालीको ब्याजदर घट्ने संकेत हो । सरकारले आन्तरिक ऋण उठाउन जारी गर्ने ट्रेजरी बिल्सको खरिद कर्ता बैंक तथा वित्तीय संस्था हुन । बैंक तथा वित्तीय संस्थासंग लगानी योग्य रकमको अवस्थामा सुधार आएपछि ट्रेजरी खरिदमा पनि आवेदकको संख्या तथा माग समेत धेरै हुने भएपछि डिस्काउन्ट रेटमा पनि प्रतिस्पर्धा  हुने नै भयो । सरकारले ट्रेजरी बिल्स खरिद गर्दा थोरै डिस्काउन्ट रेट माग गर्नेलाई प्राथमिकतामा राखेर बिक्री गर्छ । 

सोमबार सरकारले २८, ९१ र १८२ दिने गरी तिन प्रकारका ट्रेजरी बिल्स जारी गरेको थियो । सरकारले कुल १३ अर्ब ८५ करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्स निष्कासन गरेकोमा २१ आवेदकबाट २२ अर्ब रुपैयाँ बराबरको अधिक माग भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सरकारले सोमबार नविकरण गरेको २ अर्ब रुपैयाँ बरावरको २८ दिने ट्रेजरी बिल्सका लागि बैंक वित्तीय संस्थाले न्यूनतम ८.५१०६ र अधिकतम ८.५३९५ प्रतिशत डिस्काउन्ट अफर गरेका छन् । सोमबार नविकरण भएको २८ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ८.५२२४ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसभन्दा अघि कात्तिक २२ गते निष्कासन भएको २८ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ९.१८६६ प्रतिशत रहेका थियो ।

त्यसैगरी २ अर्ब रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल्सका लागि बैंक वित्तीय संस्थाले न्यूनतम ९.२४९९ र अधिकतम ११.२३०३ प्रतिशत डिस्काउन्ट रेट अफर गरेका छन् । सोमबार नवीकरण भएको ९१ दिने ट्रेजरी बिल्सको औसत डिसकाउन्ट रेट १०.३३०५ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसभन्दा अघि कात्तिक २२ गते निष्कासन भएको ९१ दिने टे«जरी बिल्सको औसत डिस्काउन्ट रेट ११.०१०६ प्रतिशत रहेको थियो । 

सोमबार नवीकरण भएको ९ अर्ब ८५ करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल्सका लागि बैंक वित्तीय संस्थाले न्यूनतम १० र अधिकतम १२.३६९९ प्रतिशत डिस्काउन्ट रेट अफर गरेका छन् । ९१ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ११.९२४१ प्रतिशत कायम भएको छ । १८२ दिनेको डिस्काउन्ट रेट भने गत २२ गतेको तुलनामा केही धेरै हो । गत २२ गते १८२ दिने ट्रेजरीको डिस्काउन्ट रेट ११.८४४० प्रतिशत रहेको थियो । 

पछिल्लो समयमा बैंक वित्तीय संस्थामा निक्षेप बढेको अवस्था छ भने उच्च ब्याजदरका कारण कर्जाको माग हुन सकेको छैन । बैंकहरूसँग अहिले १५६ अर्ब रुपैयाँ कर्जा लगानी गर्ने क्षमता छ । हाल बैंकहरूको औसत कर्जा निक्षेप दर पनि ८७.१२ प्रतिशत रहेको छ । कर्जाको माग नभएका कारण चालु आवको पहिलो त्रैमासमा बैंकहरूले ४३ अर्ब रुपैयाँ मात्र थप कर्जा लगानी गरेको अवस्था छ । यसले गर्दा पनि ट्रेजरीमा बैंक वित्तीय संस्था लगानी गर्न आकर्षित हुँदा ब्याजदर घटेको हो । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।