वित्तीय साक्षरतामा ‘डिजिटल फाइनान्स’ राष्ट्र बैंकको प्राथमिकतामा

0
Shares

नेपाल राष्ट्र बैंकले वित्तिय साक्षरतामा डिजिटल बैंकिङ कारोबारलाई केन्द्रमा राखेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता विस्तार गर्न रणनीति योजना मार्फत नै डिजिटल बैङ्किङको प्रयोग, सबल र दुर्बल पक्षको विषयमा सर्वसाधारणलाई सचेत गराउने रणनीतिक उद्देश्य लिएको हो ।

नेपाल राष्ट्र बैंकले तयार गरेको ४ वर्षे वित्तिय साक्षरता विस्तार रणनीति अनुसार ‘फाइनान्सियल लिटरेसी फ्रेमवर्म २०२२’ लागु गरेको छ । केन्द्रीय बैंकले यसभन्दा अघिको ४ वर्षे (सन २०१७देखि २०२०)  वित्तिय साक्षर रणनीति अन्तर्गतको फ्रेमवर्कलाइ स्तरोन्नति गरेको हो।

राष्ट्र बैंकले ल्याएको नयाँ अर्थात सन २०२२ देखि २०२६ सम्मको वित्तीय साक्षरता रणनीतिको ढाँचा अनुसार वित्तीय कारोबारमा संलग्न सबै पक्षका लागि अध्ययन समेत योजनावद्ध विकास गरिएको छ । त्यसका साथै वित्तीय साक्षरता लक्षित समुहलाई समेत वर्गीकरण गरेर आधारभूत र एडभान्स गरी दुई किसिमको विषय सूचीको विकास गरिएको हो । त्यसका साथै वित्तीय क्षेत्रका स्टेक होल्डरहरुको वित्तीय साक्षरता रहने भूमिकालाई समेत उल्लेख गर्दै सो अनुसार काम गर्नुपर्ने फ्रेमवर्कमा उल्लेख गरिएको छ ।

एलायन्स फर फाइनान्सीयल इन्क्लुजनको सर्पेटमा राष्ट्र बैंकले तयार गरेको उक्त फ्रेमवर्कले वित्तीय साक्षरताको वृद्धि र वित्तीय स्थायित्वका लागि औपचारिक संरचनाको निर्माण गर्ने लक्ष्य लिएको छ । ग्रामीण भेगमा पनि बैंक वित्तीय संस्थाको शाखा विस्तारका कारण वित्तीय पहुँचको विषय राष्ट्रिय मुद्दाको रुपमा विकास भएको छ । यो फ्रेमवर्क वित्तीय साक्षरता प्रयासलाई संस्थागत गराउने साधनको रुपमा रहनेछ ।

यो फ्रेमवर्कमा आधारित भई सञ्चालन मार्गदर्शन, तालिम सामग्री तथा निरीक्षण तथा मूल्याङ्कन विधि बनाइनेछ । त्यसका साथै यसले नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरताको दृष्टि, लक्ष्य तथा उद्देश्य हासिल गर्न बलियो आधारको रुपमा रहने केन्द्रीय बैंकले जनाएको छ । यो फ्रेमवर्कलाई राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र गैर वित्तीय संस्थाले वित्तीय साक्षरताका गतिविधिमा प्रयोग गर्नु पर्नेछ ।

पछिल्लो समयमा सूचना प्रविधिमा भएको विकासलाई वित्तीय क्षेत्रले पनि अनुसरण गर्दे आएको छ । डिजिटल फाइनान्सीङ सेवा परम्परागत बैंकिङ भन्दा कम खर्चिलो, समयको बचत, विश्वसनीय, लागत कम र सहज रुपमा प्रयोग गर्न सकिने भएको छ । डिजिटल फाइनान्सीयल सर्भिसेजमा सहजता संग सँगै चुनौतीहरू पनि छन् । यसले वित्तीय ग्राहकलाई झनै कमजोर बनाउँदै गएको तथ्य पनि छ ।

डिजिटल बैंकिङले वित्तीय प्रणालीमा नयाँ खालको जोखिम पनि ल्याएको छ । यो फ्रेमवर्कले डिजिटल बैंकिङको सही प्रयोगका लागि ग्राहकलाई चेतना विस्तार गर्ने लक्ष्य लिएको छ । त्यसका साथै वित्तीय साक्षरता प्रदान गर्ने क्रममा डिजिटल बैंकिङलाइ पनि एउटा अंशको रुपमा समावेश गर्नुपर्ने फ्रेमवर्कमा उल्लेख छ ।

बैंक वित्तीय संस्था तथा स्टेक होल्डरहरुले ग्राहक संरक्षणका लागि समेत सचेतना प्रदान गर्नुपर्ने व्यवस्था फ्रेमवर्कले गरेको छ । त्यसैगरी डिजिटल पेमेन्ट भएका नविन परिवर्तन, सम्पत्ति सुद्धिकरण, साइबर सेक्यूरीटी, तथ्याङकको गोपनियता जस्ता विषयहरुलाई विशेष प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ । डिजिटल बैंकिङले वित्तीय ग्राहकहरुमा मिस सेलिङकको कमजोर विकास गर्न सक्ने हुन्छ । साक्षरताका विभिन्न पहलहरुबाट वित्तीय ग्राहक मैत्री र स्वास्थ्य वित्तीय प्रणालीको स्थापना गर्न सकिने विश्वास केन्द्रीय बैंकको रहेको छ ।

फ्रेमवर्कले वित्तीय साक्षरता प्रदान गर्दा प्रयोग गरीने माध्यमलाइ समेत उल्लेख गरेको छ । वित्तीय साक्षरतामा व्यक्तिगत अभिमुखिकरण, छापा, श्रब्य दृष्य, सामुहिक प्रस्तुतिकरण तथा छलफल कार्यक्रम, सामाजिक सञ्जाल, वेवसाइट, मोवाइल एप्लिकेसन, किताब, बुकलेट, हाते किताब कथा, घुम्ति पूस्तकालय, सडक नाटक, अध्ययन भ्रमण लगायतको माध्यमबाट गर्न सकिने व्यवस्था छ ।

उक्त फ्रेमवर्कको कार्यान्वयनपछि रेमिट्यान्स आप्रबाहलाई औपचारिक माध्यममा ल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ । त्यसका साथै औपचारिक बैंकिङ कारोबारको वृद्धि हुने समेत अपेक्षा केन्द्रीय बैंकको रहेको छ । यसले विभिन्न प्रकारका बैंकिङ प्रडक्ट र सेवाको विषयमा सर्वसाधारणलाई जानकार गराउने छ । ज्ञानलाइ व्यबाहरमा परिणत गर्न समेत यो प्रेमवर्कको कार्यान्वयनले मद्दत गर्ने अपेक्षा राष्ट्र बैंकको छ ।

त्यतिमात्र नभई डिजिटल बैंकिङको प्रयोग र यसका फाइदाको विषयमा मात्र नभई जोखिमको विषयमा समेत सर्वसाधारण सचेत हुनेछन । त्यसका साथै वित्तीय व्यवस्थापन क्षमताको विकाससँगै बचत गर्ने बानीमा समेत सुधार ल्याउने अपेक्षा छ । साथै फ्रेमवर्कको कार्यान्वयनले राष्ट्र बैंक र बैंक वित्तीय संस्था तथा गैर वित्तीय संस्था लगायतका सबै स्टेक होल्डरबिच सहकार्य र समन्वय स्थापित गर्ने अपेक्षा समेत गरिएको छ । त्यसका लागि संस्थागत कार्यविभाजन पनि सोही अनुसार तय गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ मंसिर २०७९, बुधबार  १७ : ४४ बजे