नयाँ लघुबीमा कम्पनीमा पुरानै व्यवसायीक घरानाको लगानी

0
Shares

नेपाल बीमा प्राधिकरणबाट लघुबीमा व्यवसाय सञ्चालनको लागि पूर्व सहमती पाएका लघुबीमा कम्पनीमा पुरानै व्यवसायीक घरानकै लगानी रहेको छ । प्राधिकरणले गत मंसिर ११ गते सात वटा कम्पनीलाई यस्तो सहमती प्रदान गरेको छ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा पशुपति मुरारक समूहको लगानी रहेको प्राधिकरणले जनाएको छ । मुरारकले नेपालका विभिन्न क्षेत्रमा लगानी गरेका छन् । क्रेष्ट माइक्रो लाइफमा अमृत मोरको लगानी रहेको छ । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्समा मनोज तिमिल्सीनाको लगानी रहेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्समा भवानी राणा लगायतको लगानी छ । राणाले नेपालको होटल, उद्योग लगायतका क्षेत्र लगानी गर्दै आएकी छिन् । स्टार माइक्रोमा सुमन कुमार आचार्य र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीमा राजीव मोरको लगानी रहेको छ । साथै ट्रस्ट माइक्रोमा भने विज्ञानलाल शर्माको लगानी रहेको छ ।
सञ्चालनका लागि पूर्व सहमती पाएका यि कम्पनीले ३५ दिनमा कम्पनी दर्ता भै थप प्रक्रियाको लागि प्राधिकरण पुग्नु पर्नेछ । कम्पनी दर्ता गर्नुपूर्व कम्पनीहरुले प्रवन्धपत्र तथा नियमावली निर्माण गर्नुपर्नेछ ।

चुक्ता पूँजीको ६० प्रतिशत रकम एयरमार्क

लघुबीमा व्यवसाय सञ्चालनको लागि पूर्व सहमती पाएका बीमा कम्पनीले चुक्ता पुँजीको ६० प्रतिशत रकम नेपाल बीमा प्राधिकरणको नाममा अनिवार्य रुपमा एयरमार्क गर्नुपर्नेछ ।

प्राधिकरणका अनुसार व्यवसाय सञ्चालनको अनुमति पाएका कम्पनीले ३५ दिन भित्रमा कम्पनी रजिष्ट्रार कार्यलयमा पुगी कम्पनी दर्ता गर्नुपर्नेछ । यसका लागि कम्पनीले प्रवन्धपत्र र नियमावली निर्माण गर्नुपर्नेछ । कम्पनीले पेश गरेका कागजपत्र उचित भएमा कम्पनी रजिष्ट्रर कार्यलय कम्पनी दर्ता गरिदिनेछ । कम्पनी दर्ताको प्रमाणपत्र पाए पछि कम्पनीले लाइसेन्सका लागि नेपाल बीमा प्राधिकरणमा निवदेन दिनुपर्नेछ ।

व्यवसाय सन्चालनको लाईसेन्स पाएका कम्पनीले ७५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ । यसको लागि ७० प्रतिशत संस्थापक र ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न पाउँनेछन् । संस्थापक रकमध्येको ७० प्रतिशत रकम कम्पनीले तत्काल कम्पनीको नाममा बैंकमा जम्मा गर्नुपर्नेछ । सोमध्ये ६० प्रतिशत रकम प्राधिकरणको नाममा रोक्का (एयरमार्क) राख्नुपर्नेछ गर्नुपर्नेछ । बाँकी रकम कम्पनीले चालु पुँजीमा राखी सञ्चालन खर्चका रुपमा प्रयोग गर्न पाउँनेछन् ।

त्यसपछि कम्पनीले प्राधिकरणले तोके बमोजिम भौतिक पूर्वाधार तयार पार्नुपर्नेछ । त्यस्तै सफट्वेयर जडान, एक्चुअरीसँग सम्झौता, पुर्नबीमा कम्पनीसँग सम्झौता, पोलिसी डिजाईन पेश गर्नुपर्नेछ । साथै कम्पनीको अण्डरराईटिङ्ग, क्लेम कार्यविधि, कर्मचारी कार्यविधि, प्रशासन कार्यविधि, सम्पति शुद्धिकरण कार्यविधि निर्माण गर्नुपर्नेछ । कम्पनीले प्रमुख कार्यकारी नियुक्त गर्नुपर्नेछ ।

कम्पनीले कम्तिमा पनि ६ वटा विभाग निर्माण गर्नुपर्नेछ । जसमध्ये अण्डरराईटिङ्ग, क्लेम, आईटी, इन्टरनल कन्ट्रोल, रि इन्स्योरेन्स र एचआर विभाग अनिवार्य रुपमा निर्माण गर्नुपर्ने प्राधिकरणका कानुन प्रमुख लामिछानेले बताए । उनका अनुसार तत्पश्चात कम्पनीले प्राधिकरणमा व्यवसाय शुरु गरी पाउ भनी निवेदन दिनुपर्नेछ । कम्पनीको निवेदन पछि प्राधिकरणले कम्पनीको निरिक्षण गर्नेछ । निरिक्षणमा कम्पनीको तयारी चित्तबुझ्दो भएमा प्राधिकरणले व्यवसाय शुरु गर्ने अनुमति दिनेछ । कम्पनीले कम्पनी रजिष्ट्रार कार्यलयबाट पनि व्यवसाय सञ्चालनको अनुमति प्राप्त गरेपछि मात्रै व्यवसाय शुरु गर्न पाउँनेछन्।

नयाँ लघुबीमा कम्पनीले मोटर बीमा पनि गर्न पाउने

नयाँ लघुबीमा कम्पनीले मोटर बीमा समेत गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले बनाउँदै गरेको लघुबीमा व्यवसायिक कार्यविधिको ड्राफट्मा नयाँ लघुबीमा कम्पनीहरुले मोटर बीमा पनि गर्न पाउने व्यवस्था गरिएको छ ।

प्राधिकरणले लघुबीमा कम्पनीले ३० लाख रुपैयाँसम्मको दायित्व रहने गरी बीमा गर्न पाउने व्यवस्था गर्न लागेको हो । त्यस्तै, लघु जीवन बीमा कम्पनीले पाँच देखि १० लाख रुपैयाँसम्मको जीवन बीमा पोलिसी जारी गर्न पाउने व्यवस्था गर्न लागिएको छ ।

नेपाल राष्ट्र बैंकले व्यवस्था गरे अनुसार बैंकहरुले वितरण गर्ने सहुलियतपूर्ण कर्जाको पनि लघुबीमा कम्पनी मार्फत बीमा गर्नुपर्ने व्यवस्था गर्न लागिएको प्राधिकरणले जनाएको छ । छलफल पछि ड्राफट्ले पूर्णता पाउनेछ । लघुबीमा कम्पनीले भने तत्काल दाबीको भुक्तानी गरिहाल्नु पर्ने संरचना बनाउनु पर्ने व्यवस्था गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।