सम्पत्ति शुद्धीकरणको जोखिम रोक्ने जिम्मा बैंक सञ्चालक र उच्च व्यवस्थापनलाई

0
Shares

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिम मूल्याङकनमा बैंक/वित्तीय संस्थाका सञ्चालक र उच्च व्यवस्थापनको मूख्य भुमिका रहने औंल्याएको छ। केन्द्रीय बैंकले जोखिम मूल्याङकन सम्बन्धी मागदर्शन २०२२ लागु गर्दै सम्पत्ति शुद्धीकरणको जोखिम न्यूनीकरणका लागि सञ्चालक र उच्च व्यवस्थापनलाई थप जिम्मेबार बनाएको हो ।

राष्ट्र बैंकले आइतबार देखि लागु गरेको ‘एमएल/टीएफ रिस्क ऐसेसमेन्ट गाइडलाइन्स फर बैंक एण्ड फाइनान्स २०२२’ अनुसार सम्पत्ति शुद्धीकरण/आतंकारी क्रियाकलापमा वित्तीय लगानी निरुत्साहन गर्न सञ्चालक तथा उच्च व्यवस्थापनको मूख्य भुमिका हुन्छ । यस्ता क्षेत्रको लगानी निरुत्साहन गर्न वा जोखिम कम गर्ने भनेको बैंक वित्तीय संस्थाका सञ्चालक वा उच्च व्यवस्थापन मार्फत सम्भव हुने मार्गदर्शनमा उल्लेख छ । सञ्चालक तथा उच्च व्यवस्थापनले त्यसका लागि प्रतिवद्ध भइ सुरुवात गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा छ ।

बोर्डले संस्थाको नियामकीय परिपालना र कर्मचारीहरुले आन्तरिक कार्यविधि, नीति, अभ्यास र प्रक्रियालाई पालना गरे नगरेको ध्यान दिनुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ । त्यसैगरी बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी नीतिहरुको स्वीकृत र समिक्षा गर्नुपर्ने व्यवस्था समेत गरेको छ । सञ्चालक र उच्च व्यवस्थापनले यस्ता काम गरेको खण्डमा सम्पत्ति शुद्धीकरण जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने मार्गदर्शनमा छ ।

सञ्चालकले सम्पत्ति शुद्धीकरणको जोखिम काम गर्नका लागि ग्राहक स्वीकृत गर्दा संस्थाको जोखिम क्षमतालाई ध्यानमा राख्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ । त्यसैगरी मार्गदर्शन अनुसार आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्ने र उच्च व्यवस्थापनसंगको सक्रिय छलफलमा सञ्चालन हुनुपर्ने व्यवस्था गरेको छ ।

बोर्ड उच्च व्यवस्थापनले चालेका कदमहरु उपयुक्त छन् भन्नेमा निश्चित हुनुपर्ने व्यवस्था समेत मार्गदर्शनमा गरिएको छ । सम्पत्ति सु्द्धिकरण र अपराधिक गतिविधिमा वित्तीय लगानी हुन सक्ने जोखिमको पहिचान, मापन, मोनिटर र न्यूनीकरण गर्न जनचेतना बढाउनमा उच्च व्यवस्थपन जिम्मेबारी हुने व्यवस्था गरिएको छ । साथै संस्था भित्रको आन्तरिक प्रणाली, नीति तथा प्रक्रियाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने व्यवस्था समेत मार्गदर्शनमा उल्लेख छ ।

बैंक वित्तीय संस्थाले ल्याउने प्रडक्ट तथा प्रदान गर्ने सेवामा पनि धेरै सम्पत्ति सुद्धिकरण र अपराधिक क्रियाकलापमा लगानी बढाउने जोखिम हुन्छ । बैंकहरुले सञ्चालन गर्ने प्रडक्टहरुमा ठुलो आकारको नगद कारोबार, तेस्रो पक्षको सहभागिता हुने हुनाले यसमा नदेखिने खालको जोखिम हुन सक्छ । त्यसैले जोखिम मूल्याङकन प्रक्रियामा बैंक वित्तीय संस्थाले कारोबारको आकार, औसत कारोबार, बैदेशिक कारोबारको हिस्सा, नगद कारोबारको लेभल, प्रडक्टको जटिलता र पारदर्शिता लगायतका विषयमा ध्यान दिनुपर्ने व्यवस्था मार्गदर्शनमा छ ।

बैंक वित्तीय संस्थाले प्रदान गरेको सेवामा तेस्रो पक्षको सहभागितालाई पनि ध्यान पुर्वक हेर्न मार्गदर्शनले सुझाएको छ । बैंक वित्तीय संस्थाले नयाँ प्रडक्ट ल्याउँदै गर्दा सम्पत्ति शुद्धीकरणको जोखिम न्यूनीकरणको संयन्त्र तयार गरेको हुनुपर्छ । त्यसका लागि मार्गदर्शनले सेवा तथा प्रडक्टहरु तोकेको पनि छ ।

बैंक वित्तीय संस्थाले ब्याज आउने र नआउने दुबै खालका निक्षेप खाताको तथा कर्जा गतिविधिमा हुने जोखिम न्यूनीकरणलाइ ध्यान दिनु पर्छ । कर्जाको भुक्तानी नगदमा, कर्जाको तत्काल चुक्ता नगर्ने वा मार्केटयबल सेक्यूरीटी धितोमा राखेको छ भने त्यस्तो अवस्थामा बैंक व्त्तिीय संस्थाले सम्पत्ति शुद्धीकरणको जोखिम न्यूनीकरणको उपाय अबलम्बन गर्नुपर्ने व्यवस्था छ ।

त्यसैगरी मार्गदर्शनले जोखिम हुने क्षेत्रमा विद्युतीय बैंकिङ, टे«ड फाइनान्सीङ, तेस्रो पक्ष भुक्तानी प्रक्रिया, क्रसपोण्डेन्ट बैंकिङ सर्भिसेज, सेफ डिपोजिट भल्ट, डिपोजिटरी सर्भिसेज, मार्केट मेकर फर गभरमेन्ट सेक्यूरीटीज लगायत उल्लेख गरेको छ । यस्तो सेवा प्रदान गर्दै बैंक वित्तीय संस्थाले जोखिम न्यूनीकरणको संयन्त्रलाइ चनाखो बनाइराख्नु पर्ने हुन्छ ।

बैंक वित्तीय संस्थाले जोखिम न्यूनीकरण गर्न आफुले सञ्चालन गर्ने योजनाहरुले गुमनामतालाई अनुमती दिन्छ की दिदैन भनेर हेर्नुपर्ने व्यवस्था मार्गर्दशनले गरेको छ । त्यसैगरी ग्राहकको हिताधिकारीले लुकाउछ की लुकाउदैन ? सम्पत्तिको स्रोत लुकाउछ की लुकाउदैन ?, तेस्रो पक्षलाइ भुक्तानी अनुमती दिन्छ की दिदैन ? नगद कारोबारलाई प्रोत्साहन गर्छ कि गर्दैन ?, योजनाले बारम्बार ठुलो आकारको कारोबारको अनुमती दिन्छ दिदैन भन्ने प्रश्नहरुको जवाफ खोजेको हुनुपर्छ । त्यसैगरी योजनालाई नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाइ तथा नेशनल रिस्क ऐसेसमेन्टले पहिचान गरेको छ की छैन भन्ने विषयलाई समेत ध्यान दिनुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ ।

यस्तो जोखिम न्यूनीकरणका लागि बैंक वित्तीय संस्थाले ग्राहकको पहिचान, डेलिभरी च्यानल र जोगराफिकल लोकेसनको विषयमा पनि विषेश ध्यान दिनुपर्ने व्यवस्था मागदर्शनले गरेको छ । यसका लागि केन्द्रिय बैंकले निर्देशन पनि जारी गरिसकेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीहरूले पालना गनुपर्ने आचरण सम्बन्धमा सदाचार नीति तर्जुमा गरी लागू गर्न निर्देशन समेत दिइसकेको छ । आतङ्कवादी क्रियाकलाप तथा आम विनाशकारी हातहतियारको निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धमा निरन्तर अनुगमन गर्नको लागि कार्यप्रणाली अवलम्बन गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।