नयाँ जीवन बीमा कम्पनीका कारण पुराना कम्पनीको पोलिसी सरेण्डर हुने क्रम बढ्यो

0
Shares

नेपाल बीमा प्राधिकरणले नयाँ जीवन बीमा कम्पनीहरुलाई सञ्चालन अनुमति दिए पछि पुराना जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर हुने क्रम बढ्न थालेको छ।

बीमा कम्पनीका अभिकर्ताले पुराना कम्पनीका बीमितलाई पोलिसी सरेण्डर गराउँदै नयाँ कम्पनीमा लैजान थालेपछि कम्पनीहरुमा यस्तो समस्या देखिन थालेको हो ।

चालु आर्थिक बर्ष २०७९/८० को पहिलो तीन महिनाको अवधिमा चार अर्ब ४३ करोड रकम बराबरको पोलिसी सरेण्डर भएको छ । यो रकम सो अवधिमा जीवन बीमा कम्पनीहरुले पहिलो बीमा बापत संकलन गरेको प्रिमियम रकमको ४८ प्रतिशत हो । अर्थात् कम्पनीहरुले गरेको पहिलो व्यवसायका आधा रकम बराबरको कम्पनीमा पोलिसी सरेण्डर हुने गरेको पाइएको हो ।

तथ्यांक अनुसार पोलिसी सरेण्डर हुने कम्पनीहरुमा सबै भन्दा पहिलो राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानले चालु आवको पहिलो तीन महिनाको अवधिमा आर्जन गरेको प्रथम बीमा शुल्क भन्दा बढी पोलिसी सरेण्डर भएको छ । कम्पनीले गत असोजसम्ममा १२ करोड ९७ लाख रुपैयाँ पहिलो बीमा बापत प्रिमियम संकलन गरेको छ भने सोही अवधिमा कम्पनीमा २१ करोड ५० लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।

एलआइसी नेपालले पनि चालु आवको पहिलो तीन महिना अवधिमा ५२ करोड ६२ लाख रुपैयाँ पहिलो प्रिमियम संकलन गरेको छ तर, सोही अवधिमा कम्पनीले ७२ करोड ३९ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर समेत भएको छ । नेपाल लाइफको एक अर्ब ३३ करोड रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । यो रकम कम्पनीले सो अवधिमा आर्जन गरेको पहिलो बीमाशुल्कको ९८ प्रतिशत हो ।

त्यस्तै, गुराँश लाइफ इन्स्योरेन्स कम्पनीको पाँच करोड ३८ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ । यो रकम कम्पनीले आर्जन गरेको पहिलो बीमा शुल्कको ९४ प्रतिशत हो । नेशनल लाइफ इन्स्योरेन्समा पनि आर्जन गरेको बीमाशुल्कको ६० प्रतिशत पोलिसी सरेण्डर भएको छ ।

जीवन बीमा व्यवसाय बीमा अभिकर्ता मार्फत नै गरिने अन्तराष्ट्रिय अभ्यास छ । व्यवसाय ल्याए बापत बीमा अभिकर्तालाई निश्चित कमिशन दिईन्छ । बीमा क्षेत्रको नियामक निकायले नै यस्तो कमिशनको व्यवस्था गरिदिएको छ । अभिकर्ताले पोलिसीको अवधि र रकमको आधारमा २५ प्रतिशतसम्म कमिशन पाउँछन् । सोही कमिशनको लोभमा कतिपय अभिकर्ताले बीमितलाई ललाई फकाई पुराना पोलिसी सरेण्डर गर्न लगाउँछन र नयाँ कम्पनीमा नयाँ पोलिसी खरिद गर्न प्रेरित गर्छन् । यस्तो खालका प्रवृतिले बीमा क्षेत्रलाई संकट पर्ने बीमा विज्ञहरु बताउँछन् ।

नेपालमा १९ वटा जीवन बीमा कम्पनी छन् । प्राधिकरणले २०७४ सालमा एकैपटक १० वटा कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।