इन्टरनेट बैंकिङ्गको नाममा सेवाग्राहीबाट ठगी, २५% ले मात्रै प्रयोग गर्छन् अनलाईन सुविधा

0
Shares

इन्टरनेट बैंकिङ्ग सुविधाको नाममा बैंक तथा वित्तीय संस्थाहरुले सेवाग्राहीबाट ठूलो रकम असुल्ने गरेका छन् । अनलाईन र मोबाईल बैंकिङ सुविधा लिने तर प्रयोग नगरेको अवस्थामा पनि बैक तथा वित्तीय संस्थाले वार्षिक ५०० देखि एक हजार रुपैयाँसम्म सेवा शुल्क लिने गरेका हुन् ।

तर, सेवा लिने सेवाग्राहीमध्ये २५ प्रतिशतले मात्रै यस्तो सुविधा उपभोग गर्ने गरेको कम्प्यूटर एसोशियसन अफ नेपालका अध्यक्ष नवराज कुँवरले बताए । बाँकी ७५ प्रतिशत सेवाग्राहीले भने सुविधा प्रयोग नगरिकन नै शुल्क भुक्तानी गरि रहेका छन् ।

खाता खोल्ने बेलामा लिन्छु भनेको सुविधा अनुसार नै बैंक/वित्तीय संस्थाले शुल्क लिने गरेको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले बताए । “ग्राहकले लिन्छु भनेको सुविधा प्रयोग नगरेको भए बैंकलाई जानकारी गराएको खण्डमा त्यस बापतको शुल्क काटिँदैन,” उनले भने, “अकाउन्ट होल्डिङ भैरहेको हुनाले मेन्टिनेन्स कस्ट त लिनुपर्ने हुन्छ ।” ग्राहकले बैंकबाट लिन्छ भनेको सुविधा सबैले लिन्छ वा लिँदैनन् भन्ने विषय ग्राहकले सम्बन्धित संस्थालाई जानकारी गराएको खण्डमा न्यूनतम सेवा लिनुपर्ने बाहेकको अवस्थामा शुल्क नकाटिने उनले बताए ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७९/८० को असोज महिनासम्ममा १ करोड ९१ लाख दुई हजार ६५२ जनाले मोबाईल बैंकिङ सुविधा लिएका छन् । जसमध्ये वाणिज्य बैंकहरुबाट एक करोड ६६ लाख ८० हजार ६०१ सेवाग्राहीले मोवाइल बैंकिङ सुविधा लिएका छन् । त्यस्तै, विकास बैंकहबाट २३ लाख ७ हजार ९५९ र वित्त कम्पनीका १ लाख १४ हजार ९२ सेवाग्राहीले मोवाइल बैंकिङको सुविधा लिएका छन् ।

त्यस्तै, इन्टरनेट बैंकिङ्गको सुविधा लिने सेवाग्राहीको संख्या १७ लाख १९ हजार ७३३ पुगेको छ । जसमध्ये वाणिज्य बैंकको १२ लाख ८६ हजार ५२९ पुगेका छन् । विकास बैंकबाट ४ लाख २२ हजार ३७९, वित्त कम्पनीको १० हजार ८२५ छन् ।

सेवाग्राहीले सुविधा लिए पनि प्रयोग भने नगर्ने गरेको क्यानका अध्यक्ष कुँवरको दाबी छ । उनका अनुसार अझै पनि नेपालमा बैंकिङ अभ्यास नै छैन । त्यसमा पनि इन्टरनेट वा मोबाईल बैंकिङको सुविधा लिनेको संख्या झनै न्यून भएको उनले बताए । उनका अनुसार सुविधा लिन्छन् तर, प्रयोग गर्न भने जान्दैनन् । यद्यपी बैंक तथा वित्तीय संस्थाले पनि वार्षिक रुपमा उनीहरुको खाताबाट शुल्क भने काटी रहेको उनले बताए ।

इन्टरनेट बैंकिङ सुविधा लिन लगाउनु अघि सेवाग्राहीलाई यस बिषयमा जानकारी भए नभएको बैक तथा वित्तीय संस्थाले हेक्का राख्नुपर्ने उनले बताए । यदि सेवाग्राहीले सेवा प्रयोग गर्न जान्दैनन् भने वित्तिय संस्थाले तालिम समेत प्रदान गर्नुपर्ने उनको दाबी छ ।

केन्द्रीय बैंकको तथ्याङ्क अनुसार गत असोज महिनासम्ममा ४ हजार ६६४ वटा एटिम जारी भएका छन् । वाणिज्य बैंकबाट ४ हजार २९५, विकास बैंकबाट ३२५ र वित्त कम्पनीबाट ४४ वटा एटिएम जारी भएको छ । त्यस्तै, सो अवधिमा १ करोड १५ लाख ५७ हजार १७४ डेविट कार्ड जारी भएको छ भने २ लाख ६२ हजार ९४५ क्रेडिट कार्ड जारी भएको छ । त्यस्तै, १ लाख १६ लाख २८५ प्रिपेड कार्ड जारी भएको केन्द्रीय बैंकको तथ्याङ्कमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।