मारुती फूड पार्कले गर्यो १ अर्ब १७ करोडको कारोबार, आम्दानी ४५% ले बढ्यो

0
Shares

चामल उत्पादन, प्रशोधन तथा वितरण गर्दै आएको मारुती फूड पार्कले सन् २०२२ मा १ अर्ब १७ करोड बराबरको आम्दानी गरेको छ । सो आम्दानी गत वर्षको तुलनामा ४५ प्रतिशतले बढेको हो ।

नेपालीहरुको प्रमुख खाना दाल, भात, तरकारी रहेको छ । जसकारण नेपाली बजारमा चामलको मागमा कहिल्यै पनि कमी आउँदैन । तनिस्क, काठमाडौँ गेट, बुद्ध गेट, सेतो हिमाल, एच एन्ड टी जस्ता ब्रान्ड नामबाट चामलको बिक्री वितरण गर्दै आएको मारुती फुड्को आम्दानी पनि निरन्तर रुपमा बढेको छ ।

गत वर्ष ८० करोड ८० लाख आम्दानी गरेको उद्योगले सन् २०२२ मा १ अर्ब १७ करोड ४० लाख आम्दानी गरेको छ । आम्दानीमा भएको बढोत्तरीले उद्योगका वित्तीय सूचकहरु पनि बलियो देखिएका छन् । डिप्रिसियसन, अर्मोटाइजेसन र कर अघिको उद्योगको नाफा कुल सञ्चालन आम्दानीको ८.५२ प्रतिशत रहेको छ । यसैगरी सेयर धनीहरुको सेयर र कर्जाको अनुपात (गियरिङ रेसियो) ३.९९ रहेको छ ।

उद्योगले चामल, कनिका, ढुटो र चामलको भूस बिक्री गरी आम्दानी गरिरहेको छ । तरपनि औद्योगिक क्रियाकलाप चालु पुँजीमा निर्भर भएका कारण ऋणमा बढी कारोबार हुने गरेको छ । सन् २०२२ मा कम्पनीले २० करोड कर्जा लिई उपयोग गरिसकेको छ । धान खेती मौसमी भएका कारण वर्षमा ८५ दिन मात्रै उद्योग सञ्चालनमा आउने गरेको छ । यसैगरी चामलको प्रशोधन, उत्पादन तथा वितरण उद्योगहरुको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएका कारण उद्योगले अपेक्षा गरेअनुसारको नाफा गर्न सकेको छैन ।

प्रत्येक त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउदै आएका छन् । पछिल्लो दुई त्रैमासमा बैंकले बढाएको ब्याजदरका कारण उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । चर्को ब्याजदर र अन्तराष्ट्रिय बजारमा नेपाली मुद्रा कमजोर हुँदा उद्योगले कच्चा पदार्थको आयातमा पनि समस्या भोग्दै आएको छ ।

तथापि फूड तथा एग्रो टे«डिङ क्षेत्रमा लामो अनुभव बटुलेका धिरज कुमार अग्रवाल अध्यक्ष र अनुभवी व्यवसायीहरुको लगानी रहेका कारण उद्योग सञ्चालनमा सहजता रहेको छ । नेपालीहरुले भातलाई दैनिक खाद्य वस्तुका रुपमा उपभोग गर्दै आएका छन् । तसर्थ, चामलको माग बजारबाट कहिल्यै पनि घट्दैन । स्थीर माग रहेका कारण उद्योगको आम्दानी बढ्ने देखिन्छ ।

सन् २०१९को अक्टोबर महिनाबाट सञ्चालनमा आएको उद्योग सञ्चालनको केही वर्षमै राम्रो आम्दानी गर्न सफल रहेको छ । नवलपरासीको रामग्राममा अवस्थित रहेको उद्योगको ३३ हजार ८४० मेट्रिक टन उत्पादन क्षमता रहेको छ ।

उद्योगले ७५ करोड दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि केयर रेटिङ नेपालबाट रेटिङ गराएको छ । केयर रेटिङ नेपालले २२ करोड ३ लाख १० हजार बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र ५२ करोड ९६ लाख ९० हजार बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।