न्यूनत्तम पारिश्रमिक नदिँदा ९० प्रतिशत कामदार सामाजिक सुरक्षा कोष बाहिर


नेपालमा सञ्चालित प्रतिष्ठानहरुले कामदारलाई न्यूनतम पारिश्रमिक भुक्तानी नगर्दा ९० प्रतिशतभन्दा बढी कामदार सामाजिक सुरक्षा कोषको दायरामा आउन सकेका छैनन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐनले निजी प्रतिष्ठानलाई कोषमा आबद्ध हुन अनिवार्य गरेको छ । तर, प्रतिष्ठानहरुले कामदारलाई न्यूनतम पारिश्रमिक प्रदान नगरेकै कारण प्रतिष्ठान आफैँ र कामदाहरु कोषमा आबद्ध हुन नसकेको कोषका कार्यकारी प्रमुख कपिलमणी ज्ञवालीले बताए ।

ऐन अनुसार कोषमा आबद्ध हुने प्रतिष्ठानले कामदारको न्यूनतम पारिश्रमिकको ३१ प्रतिशत रकम कोषका जम्मा गर्नुपर्ने हुन्छ । जसमध्ये २० प्रतिशत रोजगारदाता आफैले भुक्तानी गर्नुपर्ने हुन्छ भने ११ प्रतिशत रकम कामदारको पारिश्रमिकबाट कट्टा गरी रोजगारदाताले नै कोषमा रकम पठाउनु पर्ने व्यवस्था छ ।

तर, अधिकांश प्रतिष्ठानले कामदारलाई नियुक्ती पत्र, न्यूनतम पारिश्रमिक, स्वास्थ तथा बीमा सुविधा, संचयकोषको सुविधा लगायतका आधारभूत सुविधा समेत नदिएपछि कोषमा आबद्ध हुन नसकेको कोषका कार्यकारी प्रमुख ज्ञवालीले बताए । उनका अनुसार जबसम्म प्रतिष्ठानहरुमा कामदारले ऐन बमोजिमको सुविधाहरु पाउँदैनन्, तबसम्म प्रतिष्ठान र कामदार कोषमा आबद्ध हुन नसक्ने उनको दाबी छ ।

सरकारले कामदारको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको छ । तर, रोजगारदाताले कामदारलाई न्यूनतम पारिश्रमिक त्यो भन्दा पनि कम दिने गरेको कोषको भनाई छ । निजी विद्यालय, सरकारी तथा गैरसरकारी संस्था, निजी कम्पनीहरुले आधारभूत पारिश्रमिक नदिने गरेको पाइएको उनको भनाई छ ।

त्यति मात्रै हैन यस्ता प्रतिष्ठानले कोषमा भुक्तानी गर्नुपर्ने रकम कामदारको पारिश्रमिकबाट भने कट्टा गर्ने तर, कोषमा जम्मा नगर्ने गरेको समेत गुनासो सुनिएको कोषका कार्यकारी प्रमुख ज्ञवालीले बताए ।

कामदारको हिस्सामा पर्ने ११ प्रतिशत रकम कट्टा गर्ने र सो रकम प्रतिष्ठान आफैँले समेत परिचालन गरेको गुनासो आउने गरेको उनले जानकारी दिए ।

यस्तो गतिविधि गर्ने प्रतिष्ठान आफैँ आर्थिक जोखिममा पर्ने उनको दाबी छ । कामदारको पारिश्रमिकबाट रकम काटेर कोषमा जम्मा नगरेको अवस्थामा यदि सम्बन्धित कामदारको कुनै घटना घटेमा प्रतिष्ठान आफै त्यसको जिम्मेवार हुनुपर्ने उनले बताए । “कामदारको पारिश्रमिकबाट रकम काटेपछि त कोषमा जम्मा गर्नुपर्छ । यदि जम्मा नगरी आफैले चलाएमा र सम्बन्धित कामदार भवितब्यमा परेमा सोही प्रतिष्ठानले सबै दायित्व बहन गनुपर्छ,” उनले भने ।

सामाजिक सुरक्षा कोषमा हालसम्म १७ हजार ५०७ रोजगारदाता सुचीकृत भएका छन् । कोषको २०७९ मंसिर १० गतेसम्मको तथ्यांक अनुसार तीन लाख ७५ हजार ९०५ योगदानकर्ता कोषमा सुचीकृत भएका छन् । योगदानकर्ताबाट हालसम्म २६ अर्ब रुपैयाँ संकलन भएको छ भने कोषले दाबी बापत दुई अर्ब ७० करोड रुपैयाँ भुक्तानी गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।