आइपीओ जारी गर्ने तयारीमा रहेको एकर्ड फारमास्युटिकल्सको आम्दानी साढे ५ करोड

0
Shares

नेपाल धितोपत्र बोर्डबाट इजाजत लिई आइपीओ जारी गर्ने तयारीमा रहेको एकर्ड फारमास्युटिकल्सले सन् २०२२ मा ५ करोड ४३ लाख आम्दानी गरेको छ ।

एकर्ड फर्मास्युटिकल्सले आफ्नो जारी पूँजीको १२ प्रतिशतले हुन आउने ७ करोड ६ लाख ९ हजार ९ सय रुपैयाँ बराबरको कुल ७ लाख ६ हजार ९०९ कित्ता साधारण  जारी गर्ने तयारीमा रहेको छ। कम्पनीले आइपीओ व्यस्थापनको जिम्मा एनआइबीएल एस क्यापिटललाई दिएको छ ।

सन् २०१३ मा स्थापना भएको फारमास्युटिकल कम्पनीले हालै आफ्नै औषधी उत्पादक प्लान्टको निर्माण गरेको छ । कम्पनीले उक्त प्लान्टबाट एन्टीबायोटिक, एन्टि–ब्याक्टेरियल, एन्टि–पाइरेटिक, एन्टि–इन्फलामेटोरी, एन्टि–फङगल लगायतका विविध औषधीहरुको उत्पादन गर्दै आएको छ ।

कम्पनीले ललितपुरको महालक्ष्मीमा प्लान्टको निर्माण गरी सन् २०२१ बाट औषधी उत्पादन सुरु गरेको हो । काठमाडौँ सहरमा अस्पतालहरुको सङ्ख्या उच्च रहँदा कम्पनीलाई फाइदा पुगेको छ । उपत्यकामा मात्रै देशभरका ५० प्रतिशत भन्दा धेरै अस्पतालहरु रहेका छन् । उपत्यका क्षेत्रमा देशका अरु ठाउँहरुको तुलनामा मानिसहरुको बाक्लो उपस्थिति रहँदा पनि कम्पनीलाई सहजता भएको छ ।

औषधी उत्पादक प्लान्ट सञ्चालनमा आएको एक वर्षभित्र नै ५९ प्रकारका औषधी उत्पादन गर्न सफल भएको छ भने १४ प्रकारका औषधी उत्पादनको लागि इजाजत लिएको छ । कम्पनीले ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट र सीरप गरी चार प्रकारमा औषधी उत्पादन गर्दै आएको छ ।

 पछिल्लो समयमा औषधी उत्पादक कम्पनीहरु बीचमा बढ्दै गएको प्रतिष्पर्धा, आयातीत औषधीमा पाउँदै आएको अनुदानका कारण कम्पनीले स्थापना गरेको प्लान्ट दीर्घकाल सम्म रहन्छ या रहदैन भन्ने मै प्रश्न उठेको छ ।

कम्पनीले भारत र चीनबाट कच्चा पदार्थको आयात गर्दै आएको छ । चीनमा बढ्दै गएको कोभिड–१९का कारण कच्चा पदार्थको आपूर्ति श्रृङ्खला अवरोध हुने सम्भावना उच्च रहेको छ । कम्पनीले साढे ५ करोडको सञ्चालन आम्दानी गर्न सफल रहेता पनि अरु वित्तीय सूचांक नकरात्मक रहेका छन् । यी विविध समस्याहरुको न्युनिकरण कम्पनीले आगामी समयमा गर्न सक्यो भने दीर्घकालमा कम्पनीले राम्रो आम्दानी गर्नुका साथै ब्रान्ड भ्यालु बढाउन सफल हुनेछ ।

औषधी उत्पादन तथा बिक्री वितरणमा लामो समय बिताएका विशाल पन्डित कम्पनीका अध्यक्ष रहेका छन् । यस कम्पनीमा ४० सेयर होल्डरहरुको लगानी रहेको छ ।

कम्पनीले १ अर्ब १५ करोड ९० लाख दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्राले दीर्घकालीन कर्जाका लागि बी र अल्पकालीन कर्जाका लागि ए४ रेटिङ पुनपुष्टि गरेको छ । यसअघि ‘इस्सुअर नट काअपरेटिङ’को सूचीमा सूचीकृत गरेको इक्राले एकर्ड फारमास्युटिकल्सलाई उक्त सूचीबाट हटाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।