अपेक्षित मात्रामा निर्यात हुन सकेन सिमेन्ट, उद्योगी भन्छन्, ‘मार्केटिङ गरिरहेका छौं’


नेपालबाट भारतर्फ सिमेन्ट निर्यात सुरु भए पनि त्यसको अपेक्षित नतिजा देखिएको छैन । नेपाल सिमेन्टमा आत्मनिर्भर भईसकेको दाबी गर्र्दै पछिल्लो पटक २ वटा सिमेन्ट उद्योगले भारततर्फ सिमेन्ट निर्यात सुरु गरेका थिए । यद्यपी निर्यात सुरु भएको ५ महिनामा थप निर्यात हुन भने सकेको छैन ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा १२ करोड ५९ लाख ५२ हजार रुपैयाँको सिमेन्ट निर्यात भएको छ ।

विभागका निर्देशक एवं सूचना अधिकारी पुण्य बिक्रम खड्काका अनुसार सिमेन्टका साथै अन्य उत्पादनको सूचीमा ६ करोड १४ लाख ९९ हजार र ६ करोड ४४ लाख ५३ हजार रुपैयाँको निर्यात देखिएकोमा नेपालबाट सिमेन्ट मात्र निर्यात भएकाले यस्तो रकम गरी १२ करोड ५९ लाख ५२ हजार कायम भएको हो ।

गत असार अन्तिम साता पाल्पा सिमेन्टले तानसेन ब्राण्डको ३ हजार बोरा तयारी सिमेन्ट पहिलो पटक भारततर्फ निर्यात गरी नियमित निर्यात गर्ने उद्घोष गरेको थियो । त्यस्तै, असोज अन्तिममा अर्घाखाँची सिमेन्टले पनि दोस्रो उद्योगका रुपमा २०० टन सिमेन्ट पहिलोपटक भारततर्फ निर्यात गरेको थियो । उक्त उद्योगले पनि क्रमिक रुपमा भारततर्फको सिमेन्ट निर्यातलाई निरन्तरता दिँदै जाने बताएको थियो ।

भारततर्फ सिमेन्ट निर्यात सुरु गरेपछिका दिनमा उल्लेखित कम्पनीहरुले अपेक्षित रुपमा सिमेन्ट निर्यात गर्न सकिरहेका छैनन् । सिमेन्टको खपत हुने समयमा निर्यात सुरु गरिएकाले माग नआएकाले अपेक्षित निर्यात हुन नसकेको र माग आउन थाले पछि निर्यात बढ्ने सम्बद्ध उद्योगका प्रतिनिधिहरु बताउँछन् ।

निर्यात सुरु गर्दा भारतमा निर्माणका कामहरु घट्दो अवस्थामा रहेकाले अपेक्षित नतिजा नदेखिएको बताउने उनीहरु अब क्रमिक रुपमा निर्माणका काम बढ्न थालेसँगै माग आउने र पुर्वनिर्धारित लक्ष्य अनुसार निर्यात हुने बताउँछन् । “अहिले निर्माणको काम कम छ, यो बढेपछि मागसँगै निर्यात बढ्छ” पाल्पा सिमेन्टका सञ्चालक राजेश अग्रवालले नोटबजारसँगको कुराकानीमा भने ।

अहिले पनि निर्यात ठप्प नभएको बताउँदै अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाले उद्योगले भारतमा मार्केटिङको कामलाई तिब्रता दिइएको बताए । “बिक्रेता चयन गर्नेदेखि आफ्ना उत्पादनका सम्बन्धमा बिक्रेता तथा उपभोत्तालाई जानकारी गराउने कामलाई तिब्र बनाएका छौं, अब माग आउन थालेपछि निर्यात अपेक्षित हुन्छ ।”

पहिले नै भारतीय सिमेन्टको बजार एक तहमा कायम रहेको अवस्थामा नेपाली सिमेन्टको उपस्थितीसँगै खपतको वाताबरण बनाउन मार्केटिङ प्रभावकारी बनाउनुपर्ने उनीहरुको जोड छ ।

सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था कार्यविधि मार्फत गरेको थियो । सरकारले ३० प्रतिशत मूल्य अभिवृद्धि गरी ५० करोड माथिको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान र ५० करोडमुनिको निर्यात गर्दा ४ प्रतिशत नगद अनुदान दिने निर्णय सहित निर्यात प्रोत्साहन कार्यविधि बनाएको थियो ।

भन्सार विभागको तथ्यांकलाई आधार मान्ने हो भने चालु आर्थिक वर्षको पहिलो ५ महिनामा १२ करोड ५९ लाखको मात्र सिमेन्ट निर्यात भएको छ । अर्घाखाँची र पाल्पाले गरेको निर्यातमा उक्त रकमलाई वर्गीकरण गर्दा एएटा उद्योगको भागमा ६ करोड पर्दा पनि उल्लेखित अनुदान तत्काल पाउने अवस्था छैन ।

पुस अन्तिमसम्म नेपाल तथा भारतमा निर्माणका कामहरु सुस्त हुने र अब त्यो क्रम बढेसँगै निर्यात पनि बढेर जाने उद्योगहरुको तर्क छ । योसँगै सरकारले उपलब्ध गराउने अनुदानको मापदण्डमा पुग्ने मात्र नभई अर्बौ रुपैयाको सिमेन्ट निर्यात हुने ती उद्योगको दाबी छ । मार्केटिङमा सरकारबाट सहयोगको अपेक्षा समेत गरेका दुवै उद्योगले अरु उद्योग पनि आउँदा ती उद्योगलाई पनि सजिलो हुने अपेक्षा पनि गरेका छन् । ब्राण्डको मात्र नभई नेपाली उत्दानको रुपमा प्रवद्र्धन गरी माग बढाउन सकेको खण्डमा त्यसको लाभ उद्योगीलाई मात्र नभई सरकारलाई पनि हुने उनीहरुको बुझाई छ ।

भारततर्फ निर्यात गर्न अन्य नेपाली सिमेन्ट उद्योगहरुले पनि प्रकृया अघि बढाएका छन् । तानसेन र अर्घाखाँचीले बिआईएस (ब्युरो अफ इण्डियन स्टाण्डर्डस्) मापदण्ड पाएसँगै निर्यात सुरु गरेका थिए भने अन्य उद्योग यस्तो माफण्ड लिने प्रकृयामा छन् ।

सरकारले छुट दिएसँगै वार्षिक दुई खर्ब बढीको सिमेन्ट निर्यात गर्न उद्योगी तयार रहेको सिमेन्ट उत्पादक संघले बताउँदै आएको छ । चालु आर्थिक वर्षको बजेटमा निर्यातका सम्बन्धमा गरिएको हिजीकरणसँगै उद्योगहरुले निर्यात गर्न सकिने बताएका हुन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।