बैंकिङ प्रणालीवाट निक्षेप झिकिन थालेपछि कर्जा प्रबाह ठप्प

0
Shares

-सुरेन्द्र थापा।

बैंकिङ प्रणालीमा निक्षेप थपिनुको साटो भएको समेत वाहिरीन थालेपछि बैंकहरुले कर्जा प्रबाह नै बन्द गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कर्जा प्रवाहमा आक्रामक भएका बैंकहरुवाट निक्षेपकर्ताले ब्याज आम्दानी झिक्दा निक्षेप समेत घटेको देखिएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सुरु भएपछि बैंकहरुबाट कात्तिक २२ गतेसम्ममा ५ अर्ब निक्षेप भिकिएपनि ५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन । बैंकिङ प्रणालीमा भएको निक्षेप झिकिने र कर्जा प्रबाह समेत रोकिने अवस्था आएको देखिन्छ । यसले आगामी दिन निक्षेपको दौडमा ब्याजदर वढ्ने देखिन्छ । कर्जाको माग नघट्ने र बैंकहरुले स्रोतका लागि अन्य विकल्पहरुको खोजी नगरेमा समग्र अर्थतन्त्रमा असर गर्ने सम्भावना वढेको छ ।

बैंकहरुले चालु आर्थिक वर्षमा निक्षेप भन्दा धेरै कर्जा प्रबाह गरेका छन । त्यसको लागि गत आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च वढेपछि आएको निक्षेपका कारण लगानी वढाएका हुन । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मा बैंकहरुले ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १२८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।

पहिलो त्रैमासमा बैंकहरुले निक्षेप संकलन भन्दा धेरै कर्जा प्रबाह गरेका छन । तर, दोस्रो त्रैमास सुरु भएलगत्तै बैंकहरुको कर्जा प्रबाह ठप्प भएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १३५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका थिए ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको ब्याज भुक्तानी गरेपछि निक्षेपकर्ताले ब्याज रकम झिकेपछि निक्षेप घटेको देखिएको सनराइज बैंकका प्रमूख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बताए । सरकारले आर्थिक बर्षको अन्त्यमा बजेट खर्च गर्ने परिपाटीलाई अन्त्यगरी त्रैमास त्रैमासमा खर्च नगर्दासम्म विगत केही वर्ष दखि देखिएको क्रेडिट क्रन्चको समस्या समाधान नहुने उनको भनाइ छ ।

‘बैंकहरुको निक्षेपको प्रमूख स्रोत भनेको सरकारी खर्च भएकाले पनि एउटै समस्या बारम्बार देखिने गरेको छ” उनले भने,’ निक्षेपका अन्य स्रोतहरुको व्यवस्थापन र आयात घटाएर निर्यात वढाउन सकेको खण्डमा यो समस्या रोकिन्छ ।” बैंकिङ प्रणालीमा निक्षेप अभाव देखिए पनि तत्काल ब्याजदर वढ्ने अवस्था भने नरहेको उनी बताउछन् । बैंकिङ प्रणालीको समस्याका कारण समग्र अर्थतन्त्रमा प्रभाव नपरोस भन्नका लागि पनि ब्याजदर वढन नहुने उनको तर्क छ ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २३ अर्ब निक्षेप झिकिएको बैंकिङ प्रणालीवाट ९ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको थियो । त्यसैगरी भदौ महिनामा बैंकहरुले १० रुपैयाँ निक्षेप संकलन गरेर ४४ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम महिना असोजमा बैंकहरुले ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ७५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन । यो तथ्याङकले पनि बैंकहरुले निक्षेपका लागि भन्दा पनि कर्जामा धेरै जोड गरेको स्पष्ट हुन्छ ।

तर, कात्तिक महिनाको २२ दिनसम्ममा बैंकहरुवाट ५ अर्ब निक्षेप झिकिएको छ भने ५ अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह भएको छ । चालु आर्थिक वर्षको कार्तिक २२ गते सम्ममा वाणिज्य बैंकहरुमा कुल निक्षेप २९ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकहरुले कुल २६ खर्ब ३१ अर्ब कर्जा प्रवाह गरेका छन् । कात्तिक महिनाको एक गतेसम्म बैंकिङ प्रणालीको कुल निक्षेप २९ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो भने २६ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।