तीन जिल्लाका उद्योग/व्यवसायमा आधा लगानी सहूलियतपूर्ण कर्जा

0
Shares

लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ जिल्लामा सञचालन भएका उद्योग व्यवसायमा भएको कुल लगानीमा सहुलियपुर्ण कर्जाको अंश करिब आधा रहेको छ। सरकारले ब्याजदरमा सहुलियत दिएर स्वरोजगार तथा आन्तरिक उत्पादन बढाउने नीति अनुरुप सहज रुपमा बैंक वित्तीय संस्थाबाट सहुलियपूर्ण कर्जा उपलब्ध हुन थालेपछि लगानी बढेको हो ।

नेपाल राष्ट्र बैंकले हालै सम्पन्न गरेको सर्वेक्षण अनुसार उद्योग÷व्यवसायमा गरेको जम्मा लगानीमा सहूलियतपूर्ण कर्जाको अंश ४८.६५ प्रतिशत रहेको देखिएको छ । त्यसमा पनि बर्दिया जिल्लामा सबैभन्दा धैरै ६८.१० प्रतिशत रहेको छ । त्यसैगरी, बाँके जिल्लामा ३४.५० प्रतिशत र दाङ जिल्लामा ६३.१३ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

केन्द्रीय बैंकले सहूलियतपूर्ण कर्जाका लागि ब्याज अनूदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधन) बमोजिम प्रवाह गरिएको सहूलियतपूर्ण कर्जाको सदूपयोगिताको अवस्था, कर्जा प्रवाहको स्वरुप र प्राप्त कर्जाबाट ऋणीको आर्थिक अवस्थामा पारेको प्रभावबारे अध्ययन गरेको थियो । अध्ययनमा लूम्विनी प्रदेश अन्तर्गतका बाँके, बर्दिया र दाङ जिल्लाका ३५६ ऋणीहरुको सहभागिता रहेको छ ।

अध्ययन प्रतिवेदन अनुसार सर्वेक्षणमा ४९.७२ प्रतिशत सहभागीहरुले उद्योग/व्यवसायमा २० लाखभन्दा माथि लगानी गरेको देखिएको छ । त्यसैगरी, ३२.३१ प्रतिशतले १० लाखदेखि २० लाखसम्म र १७.९७ प्रतिशत सहभागीहरुले १ लाख देखि १० लाखसम्म लगानी गरेको पाईएको छ ।

सर्वेक्षणमा सहूलियतपूर्ण कर्जाका साथै, अन्य शीर्षकमा समेत कर्जा लिई व्यवसाय सञ्चालन गरेका सहभागीहरु १६.२९ प्रतिशत रहेका छन् भने ८३.७१ प्रतिशत सहभागीहरुले अन्य शीर्षकमा कर्जा लिएको देखिएको छैन । सहूलियतपूर्ण कर्जा बैंक तथा वित्तीय संस्थाबाट सहज ढंगले प्रवाह भएको देखिएको छ । केही कागजी प्रक्रिया बाहेक अन्य झन्झट खासै नभएको अध्ययनले देखाएको छ । सर्वेक्षणमा ७३.८८ प्रतिशतले सहजरुपमा कर्जा प्राप्त गरेको देखिएको छ ।

सहूलियतपूर्ण कर्जा सर्वसाधारणको पहँुचसम्म पूगेको देखिन्छ । सर्वसाधारणले पनि सहूलियतपुर्ण कर्जा पाउँछन् भनेर विश्वास गर्नेहरुको अंश ८९.०४ प्रतिशत छ । पहूँचवालाले मात्र सहूलियतपुर्ण कर्जा पाउँछन् भनेर विश्वास गर्ने सहभागीहरु १०.९६ प्रतिशत मात्रै देखिएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले व्यावसायिक योजना मागेर मात्र कर्जा प्रवाह गरेको देखिएको छ । कर्जा प्रवाह पछि बैंकले ९५.२३ प्रतिशत ऋणीको व्यवसाय अनूगमन गरेको अध्ययनले देखाएको छ । सहूलियतपूर्ण कर्जाबाट ९२.२८ प्रतिशत सहभागीहरुको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आएको देखिएको छ भने ७.०२ प्रतिशत सहभागीहरुको आर्थिक अवस्था उस्तै रहेको पाइएको छ ।

परिवारका सदस्यहरुलाई व्यवसायमा संलग्न गराई आंशिक रोजगारी प्रदान गर्ने ऋणीको अंश १०.४० प्रतिशत रहेको छ भने ३९.९१ प्रतिशतले आफ्ना परिवारका सदस्य बाहेक अन्य कर्मचारी तथा कामदारहरुलाई रोजगारी उपलब्ध गराएको देखिएको छ ।

सर्वेक्षणमा संलग्न सहभागीहरुद्वारा सञ्चालित व्यावसायिक फर्महरुले औसतमा कूल लगानीको वार्षिक १८.८३ प्रतिशत आम्दानी गरेको देखिएको छ । जसमध्ये औसतमा कृषि कर्जामा १८.८३ प्रतिशत, महिला उद्यमशील कर्जामा १८.७५ प्रतिशत र अन्यमा २८.५७ प्रतिशत आम्दानी गरेको देखिएको छ ।

बैंक तथा वित्तीय संस्थावाट प्राप्त गरेको सहूलियतपूर्ण कर्जा रकमको सहभागीहरुले बार्षिक ३८.६९ प्रतिशत आम्दानी गरेको देखिएको छ जसले गर्दा कर्जाको साँवा व्याज भूक्तानीमा समस्या देखिएको छैन । सहूलियतपूर्ण कर्जाबाट शिक्षा, स्वास्थ्य लगायत दैनिक उपभोगका वस्तुहरुको गूणस्तरमा परिवर्तन आएको अनूभुति गर्ने सहभागीहरु ९६.०६ प्रतिशत छन् भने ३.९४ प्रतिशतले मात्रै परिवर्तनको अनूभुति नभएको बताएका छन् ।

सहूलियतपूर्ण कर्जा शिक्षा, स्वास्थ्य, पूरानो ऋण तथा अन्य घरायासी खर्चमा प्रयोग नगर्ने सहभागीहरु ९५.५१ प्रतिशत रहेका छन् भने ४.४९ प्रतिशतले आंशिक रुपमा अन्य कार्यमा प्रयोग गरेको देखिएको छ । सर्वेक्षणमा प्राप्त कर्जाको समयमा नै किस्ता तिर्न सहभागीहरु सक्षम भएको देखिन्छ । सर्वेक्षणमा ९८.०३ प्रतिशत सहभागीहरुले समयमा नै किस्ता तिर्न सक्षम भएको पाइएको छ भने १.९७ प्रतिशत सहभागीहरुले समयमा नै किस्ता तिर्न सकेको देखिएको छैन ।

सहूलियतपूर्ण कर्जाबाट शतप्रतिशत सहभागीहरु सन्तुष्ट देखिएका छन् । असन्तुष्ट छु भन्ने सहभागीको संख्या शून्य रहेको छ भने थोरै सन्तुष्ट सहभागीहरु ४.७८ प्रतिशत, धेरै सन्तुष्ट सहभागीहरु ७६.१२ प्रतिशत र अत्ति धेरै सन्तुष्ट सहभागीहरु १९.१० प्रतिशत रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।