स्थायी तरलता सुविधा मार्फत राष्ट्र बैंकले कमायो ८ अर्ब २५ करोड

0
Shares

नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा बाट मात्रै गत आर्थिक वर्षमा ८ अर्ब २५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । केन्द्रीय बैंकले गत आवमा करिब ९२ खर्ब स्थायी तरलता सुविधा बैंक वित्तीय संस्थालाई प्रदान गरी सो ब्याज आम्दानी गरेको हो ।

बैंक तथा वित्तीय संस्थामा तरलता अभावको समस्या जटिल भएपछि स्थायी तरलता सुविधाको उच्चतम प्रयोग भएको थियो । बैंक वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षमा अधिक कर्जा लगानी गरेपछि गत आवमा कर्जा लगानी योग्य रकम मात्र नभई दैनिक तरलता व्यवस्थापनमा समेत समस्या देखिएको थियो । त्यसपछि बैंकहरुले स्थायी तरलता सुविधा मार्फत दैनिक तरलता व्यवस्थापन मात्र नभई सरकारी ऋणपत्रमा समेत लगानी गरेका थिए ।

बैंकहरुले गत आवमा एक सताका लागि ७ प्रतिशत बैंकदरमा स्थायी तरलता सुविधा लिने र ११ प्रतिशतसम्म सरकारी ऋणपत्रमा लगानी गर्ने गरेका थिए । यसरी राष्ट्र बैंकले मात्र नभई बैंकहरुले पनि ब्याज आम्दानी गरेको अवस्था थियो । तर, चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले मुद्रास्फीतिमा परेको दबाब तथा अर्थतन्त्रमा देखिएको उच्च मागलाइ न्यूनीकरण गर्न भन्दै बैंक दर बढाएर ८.५ प्रतिशत बनाएको छ भने स्थायी तरलता सुविधाको अवधि समेत ५ दिनमा झारेको छ ।

तरपनि बैंक वित्तीय संस्थामा स्रोतको अभाव भएपछि गत महिनासम्म बैंकहरुले एसएलएफको सुविधा प्रयोग गरीरहेका थिए । चालु आर्थिक वर्षको मंसिर महिना पछि बैंकिङ प्रणालीमा निक्षेप थपिन थालेसंगै स्थायी तरलताको प्रयोगमा कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा खुलाबजार कारोबारका विभिन्न उपकरणहरू मार्फत कुल ६० अर्ब तरलता प्रशोचन गरिएको केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी सो अवधिमा कुल ९७ खर्व २ अर्ब ४१ करोड तरलता प्रवाह भएको थियो । गत आवमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई ९१ खर्व ७० अर्ब ११ करोडको स्थायी तरलता सुविधा प्रदान गरेको छ ।

तर, केन्द्रीय बैंकले ब्याज आम्दानी गर्ने स्रोत स्थाइ तरलता सुविधा मात्र होइन । बैंकले अन्तरािष्ट्रय ऋणपत्रमा गरेको लगानी, बैंकहरुमा राखेको निक्षेप, सरकारी ऋणपत्रमा गरेको लगानी लगायतबाट ब्याज आम्दानी गर्छ । बैंकको कुल आम्दानीमा ब्याज आम्दानीको हिस्सा करिब ९४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को राष्ट्र बैंकको खुद संचालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ९३.७२ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ५.६८ प्रतिशत र अन्य संचालन आम्दानीको अंश ०.६० प्रतिशत रहेको छ।

केन्द्रीय बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ५३.६४ प्रतिशतले वृद्धि भई ३३ अर्ब ५२ करोड २४ लाख ७६ हजार कायम भएको छ । त्यसैगरी विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी ६.६९ प्रतिशतले वृद्धि भई २ अर्ब ०३ करोड १२ लाख ३९ हजार कायम भएको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मा खुद संचालन आम्दानी अघिल्लो वर्षको तुलनामा ४५.११ प्रतिशतल वृद्धि भई ३५ अर्ब ७६ करोड ९९ लाख २४ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, अन्य आम्दानीमा ७६.६९ प्रतिशतले ह्रास आई २१ करोड ६२ लाख ०८ हजार रुपैयाँ कायम भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ/हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ४७.४४ प्रतिशतले वृद्धि भई २८ अर्ब ४२ करोड ७ लाख ६८ हजार कायम भएको राष्ट्र बैंकले जनाएको छ । यस्तो खुद आय आर्थिक वर्ष २०७७/७८ मा १९ अर्ब २७ करोड ६१ लाख ६२ हजार रहेको थियो ।

आवमा विदेशी विनिमय पुनर्मूल्याङ्कन लाभ ३४ अर्ब ७८ करोड ९१ लाख ४८ हजार र सुन तथा चाँदी पुनर्मूल्याङ्कन हानी १ अर्ब २२ करोड ९२ लाख ४ हजार समायोजन पछिको खुद आय ६१ अर्ब ९८ करोड ०७ लाख १३ हजार कायम भएको छ । गत वर्ष खुद आय ३० अर्ब ४७ करोड ५३ लाख १ हजार रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।