भन्सारमा रोकिएका गाडी भित्र्याउन तथ्यांक माग्दै विभागका महानिर्देशक


भन्सार विभागका महानिर्देशक चक्रवहादुर बुढाले सवारी आयातकर्तासँग भन्सारमा अड्किएका सवारी साधनको तथ्यांक उपलब्ध गराउन आग्रह गरेका छन् । नेपालको भन्सार नाकाहरुमा आईसकेका सवारी साधनहरुको यथासंम्भव भन्सार जाँच पास गर्न भन्दै महानिर्देशक बुढाले सबै नाकामा रोकिएका सवारी साधनको तथ्यांक मागेका हुन् ।

बुधबार नाडा अटोमोवाइल्स एशोसिएसनका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा महानिर्देशक बुढाले सरकारलाई राजश्व संकलनको दवाव परिरहेको भन्दै यस्तो तथ्यांक मागेका हुन् । व्यवसायीले भन्सार जाँचपास गरिदिन गरेको आग्रहको जवाफमा बुढाले व्यवसायीका मागलाई यथासंम्भव सम्बोधन गर्ने आश्वासन समेत दिए ।

नाडाका उपाध्यक्ष श्रेष्ठले सरकारको पछिल्लो समयको नीतिले अटोमोवाइल व्यवसायीहरु धरासायी हुने अवस्थामा पुगेको बताएका थिए । बैंकको उच्च व्याज दर, अटो लोन हायर पर्चेज कर्जाको जोखिम भार १५० प्रतिशतमा पु¥याइएको, बैंकहरुबाट नीजि सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको सीमा ५० प्रतिशत पु¥याइएको जस्ता कारणले सवारी साधन बिक्री गर्न समस्या भएको श्रेष्ठको भनाई थियो ।

जसका कारण सवारी साधन पैठारीकर्ताहरुले भन्सारमा आईपुगेका सवारी साधनहरुको भन्सार जाँच पास गर्न नसकेकातर्फ उनले विभागका महानिर्देशकको ध्यानाकर्षण गराएका थिए । व्यावसायिक महत्वका सवारी तथा ढुवानीका साधनहरुको बिक्री समेत दुई तिहाईले घटेको पनि जानकारी गराएका थिए ।

छलफलका क्रममा नाडाका पुर्व अध्यक्ष सुनिल खेतानले भन्सार जाँच पासका लागि विभागले तोकेका सवै कागजातहरु पेश गर्दा पनि कठीनाई उत्पन्न भईरहेको गुनासो गरेका थिए ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले कोभिडको समयमा नियन्त्रणमा आएको अनाधिकृत आयात अहिले फेरी बढ्न थालेको भन्दै नियन्त्रणका लागि कम्प्युटर विलिङ्गलाई अनिवार्य गर्न आग्रह गरेका थिए ।

टू ह्वीलर समितिका सभापति अभिक ज्योतिले पछिल्लो समय मोटरसाइकलको आयात ५० प्रतिशतले घटेको जानकारी गराएका थिए ।

त्यसैगरी राजश्व समितिका सभापति आकाश गोल्छाले नेपालमा सवारी साधनको एसेम्बल प्लाण्ट खोल्न फीजिविलिटी नभएका सवारी साधन पैठारीकर्ताहरुले सवारी साधनको एसेम्बल प्लाण्ट खोल्न फीजिविलिटी भएका कम्पनीहरुसंग मिलेर आफनो ब्राण्डको एसेम्बल गर्न सकिने व्यवस्थाका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।