बैंकहरुको निक्षेप ५३ खर्ब नाघ्यो, अन्तर बैंकदर ७% मुनि, सिडी रेसियो साढे ८६ प्रतिशत

0
Shares

बैंक तथा वित्तीय संस्थाको निक्षेपको आकार ५३ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुकोे निक्षेप ५३ खर्ब २ अर्ब रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको छ ।

यहि पुस २० गते बुधबारसम्ममा बैंकहरुको निक्षेप ५३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो । पुस १९ गतेको तुलनामा ७ अर्बले निक्षेप थपिएको हो। बैंकिङ प्रणालीमा रहेको निक्षेपमा वाणिज्य बैंकमा ४६ खर्ब ७५ अर्ब तथा विकास बैंक र फाइनान्स कम्पनीसँग ६ खर्ब २७ अर्ब छ ।

राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ६७ अर्ब कर्जा परिचालन गरेका छन । वाणिज्य बैंकहरुले ४२ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका छन भने विकास बैंक र फाइनान्स कम्पनीले ५ खर्ब ४६ अर्ब कर्जा प्रवाह गरेका छन ।

बैंकमा निक्षेप बढ्दै गएपछि कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.५६ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले यस्तो सीमा ९० प्रतिशतभन्दा नाघ्न नहुने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले एक-आपसमा गर्ने अन्तरबैंक कारोबारको ब्याजदर गत ६.८३ प्रतिशतमा झरेको छ । बैंक वित्तीय संस्थामा निक्षेप थपिन थालेपछि तरलताको अवस्थामा आएको सहजताले अन्तर बैंक दर घटेको हो । बैंक तथा वित्तीय संस्थाले एक आपसमा छोटो अवधिका लागि लिने सापटको ब्याजदर अन्तर बैंक दर हो ।

वित्तीय संस्थाहरुले दैनिक कारोबारको राफसाफ तथा नियामकीय मापदण्ड पुरा गर्नका लागि एक अर्कासंग यस्तो सापट लिन्छन । तरलता अभाव भएको अवस्थामा अन्तर बैंक कारोबारमा रकम दिने भन्दा पनि सापट माग्ने नै धेरै भएपछि स्थायी तरलता सुविधा दर बराबर नै अन्तर बैंक दर पुगेको थियो ।

अन्तर बैंक सापट नपाएपछि बैंक वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले उपलब्ध गराउने स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन । एसएलएफ रेट ८.५ प्रतिशतसम्म छ ।

पछिल्लो समयमा बैंक वित्तीय संस्थाले प्रयोग गर्ने एसएलएफ पनि घटेको छ । पुस १७ यता बैंकहरुले यस्तो सुविधा उपयोग गरेका छैनन् ।अन्तरबैंक कारोबारको ब्याजदर घटेपछि बैंकहरुले यस्तो सुविधा लिन छाडेका छन । एसएलएफ उपयोग नुहनु भनेको बैंकिङ प्रणालीमा तरलताको अवस्था सहज भएको स्पष्ट हुन्छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।