बन्द भयो एमडिएमएस, अवैद्य मोवाइल आयातलाई कसरी रोक्छ सरकारले ?

0
Shares

नेपाल दुरसञ्चार प्राधिकरणले नेपालमा हुने अवैद्य मोवाइल आयातलाई रोक्न सञ्चालनमा ल्याएको मोवाइल डिभाईस म्यानेम्याण्ट सिस्टम (एमडिएमए) सञ्चालनको प्रक्रिया बन्द भएपछि अवैद्य व्यापारीलाई भने फाईदा भएको छ ।

प्राधिकरणले गत पुस १५ गते सिस्टम पूर्ण रुपमा सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । तर, निश्चित व्यक्तिले व्यक्तिगत फाईदाको लागि एमडिएमएसको बिषयमा गलत प्रचार गरेपछि यसको चौतर्फी विरोध भयो । विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल स्थगित गर्न निर्देशन दिए ।

प्राधिकरणले गत असोज देखि नै सिस्टम औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो । प्राधिकरणले यो अवधिमा मोवाइल सेटको बर्गीकरण गरी सकेको थियो । तर, प्रधानमन्त्री दाहालले स्थगित गर्न निर्देशन दिए पछि सिस्टम बन्द भएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । उनका अनुसार प्राधिकरणले अहिले सबै खालका मोवाइल चल्न दिएको छ । यस अघि गरिएको सबै प्रक्रिया बन्द भएको उनले बताए ।

प्राधिकरणले सिस्टम सञ्चालनमा ल्याएपछि अवैद्य रुपमा ल्याउने मोवाइल बन्द हुने जनाएको थियो । यही बिषयलाई गतल रुपमा प्रचार गरिएपछि सिस्टम नै बन्द गर्नुपरेको हो । प्राधिकरणले अवैध रुपमा भित्रिएको मोवाइल सेटलाई रोक्न खोजेको थियो । न कि विदेशबाट आउने नेपाली व्यक्तिले ल्याउने मोवाइलको संख्या तर, मोवाइल वैध प्रक्रियाबाट आएको भन्ने प्रमाणीत गर्नका लागि मात्रै भन्सारको प्रज्ञापनपत्रको प्रावधान राखेको थियो । तर, एमडिएमएस सिस्टमले विदेशबाट आउने नेपालीले ल्याउने मोवाइल संख्या कडाइ गर्ने गलत बुझाइले प्रक्रिया नै बन्द गर्नु पुगेको प्राधिकरणको बुझाइ छ ।

प्राधिकरणले बिषेश गरी अबैध रूपमा नेपाल भित्रने मोवाईल सेटलाई निरूत्साहीत गर्न सिस्टमको अवधारणा ल्याएको हो । प्राधिकरणले २०७६ साल नै यो सिस्टम सञ्चालनमा ल्याउने भनिएपछि कोभिडका कारण सञ्चालनको प्रक्रिया लम्बिएको थियो । सिस्टम सञ्चालनको जिम्मा मलेशियन कम्पनी न्यूमेरालाई दिइएको थियो ।

प्राधिकरणले करिब ८० करोडमा सिस्टम सञ्चालनको जिम्मा मलेशियन कम्पनी न्यूमेरा दिएको थियो । यो कम्पनी बर्हाद मलेशिया, ओएसआई कन्सल्टिगं कम्पनी इण्डिया र नमस्ते ग्लोबल कप्यूनिकेसन सिंगापुरको ज्वाईन्ट भेन्चर कम्पनी हो । कम्पनीले एमडिएमएसको डिजाईन, विकास, आपूर्ति, जडान, परीक्षण, सञ्चालन लगायतका सम्पूर्ण कामहरू गर्नेछ ।

त्यस्तै, कम्पनीले नेपाल भित्रने सबै मोवाईलसेटको आईएमईआई नम्बर दर्ता गर्नेछ । साथै सिम कार्ड पनि दर्ता गर्नेछ । एउटा सिम लाग्ने मोवाईलको एउटा मात्रै आईएमईआई हुनेछ भने दुई वटा सिम प्रयोग हुने मोवाईलको पनि दुई वटा नै आईएमईआई हुनेछ । कम्पनीले मोवाईलको आईएमईआई नम्बर र टेलिकम अपरेटर बिच लिंक गराईदिनेछ । कम्पनीले पाँच बर्षसम्म सिस्टम सञ्चालन गर्नेछ । पाँच बर्ष पछि प्राधिकरणलाई नै हस्तान्तरण गर्ने प्राधिकरणले जनाएको छ ।

नेपालमा भित्रने मोवाईल सेटको ४० प्रतिशत मोवाईल सेट अबैध रूपमा भित्रने मोवाईल फोन इम्पोर्टस एशोसियशनका महासचिव अमित अग्रवालको भनाई छ । उनका अनुसार नेपालमा प्रति महिना औसत ५ लाख सेट भित्रिन्छ । थप ४० प्रतिशत सेट विभिन्न माध्यमबाट अबैध रूपमा नेपाल भित्रने उनको दाबी छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।