वाग्मती प्रदेश बैंकिङ ‘हब’ बन्दै गर्दा सहुलियपूर्ण कर्जामा ‘लिड’ गर्दै सुदूरपश्चिम

0
Shares

सरकारले विभिन्न उद्यम तथा स्वरोजगार मूलक कार्यक्रम प्रवद्र्धन गर्न ल्याएको सहुलियतपूर्ण कर्जाको प्रयोग सुदुरपश्चिम प्रदेशमा सबैभन्दा धेरै देखिएको छ । बैंक वित्तीय संस्थाबाट लगानी भएको कुल सहुलियपूर्ण कर्जाको आधा भन्दा धेरै हिस्सा सुदुरपश्चिमको देखिएको हो ।

चालु आर्थिक वर्षको कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाले कुल २ खर्ब ५९ अर्ब ९ करोड रुपैयाँ सहुलियपूर्ण कर्जा लगानी गरेका छन। सो मध्ये २ खर्ब १० अर्ब १२ करोड रुपैयाँ कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसरी प्रबाह भएको कर्जामा सबैभन्दा धेरै हिस्सा अर्थात ५४.३८ प्रतिशत सुदुरपश्चिम प्रदेशको रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी सुदुरपश्चित प्रदेश पुनरकर्जाको उपयोगमा समेत अग्र स्थानमा रहेको छ । केन्द्रीय बैंकका अनुसार कुल पुनरकर्जा मध्ये ४५.९२ प्रतिशत सुदुरपश्चिम प्रदेशका उद्योगी तथा व्यापारीले उपभोग गरेका छन् ।

बैंकिङ पहुँच र प्रयोगको दृष्टिकोणले बाग्मती प्रदेश अग्रस्थानमा रहेपनि राज्यबाट सञ्चालन भएका सहुलियपूर्ण बैंकिङ कार्यक्रमको सदुपयोगमा भने सुदुरपश्चिम प्रदेशको नेतृत्वदायी सहभागिता देखिएको हो । बैंकिङ क्षेत्रको कुल निक्षेपमा २.२५ प्रतिशत मात्र योगदान रहेको यस प्रदेशमा प्रबाह हुने कर्जा कुल कर्जाको २.८८ प्रतिशत छ । बैंकिङ पहुँच तथा प्रयोगमा सात प्रदेश मध्ये छैटौ स्थानमा रहेको यस प्रदेशले सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको प्रयोगमा सबै प्रदेशलाई लिड गरेको हो ।

चालु आर्थिक वर्षको कात्तिकसम्ममा बैंक वित्तीय संस्थाले विभिन्न दश शिर्षकमा एक लाख ४८ हजार ४ सय ३३ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन् । यी ऋणीका लागि सरकारले कात्तिकसम्मका लागि १९ अर्ब ८१ करोड २३ लाख रुपैयाँ ब्याज अनुदान दिइसकेको छ ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा थोरै सहुलियतपूर्ण कर्जा प्रबाह हुने प्रदेशमा कर्णाली रहेको छ । कुल सहुलियतपूर्ण कर्जामा कर्णाली प्रदेशको हिस्सा ०.८१ प्रतिशत मात्र छ । त्यसैगरी बाग्मती प्रदेशको १८.९९, मधेश प्रदेशको ५.८३, प्रदेश नं. १ को ३.४०, गण्डकी ७.८७ र लुम्बिनीको ८.७२ प्रतिशत हिस्सा रहेको छ ।

बैक तथा वित्तीय संस्थाले कृषि तथा पशु कर्जा, शैक्षिक युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवालाई प्रोजेक्ट कर्जा, महिला उद्यमी कर्जा, दलित समुदायको लागि व्यवसाय विकास कर्जा, उच्च प्राविधिक तथा व्यवसायीक कर्जा, भुकम्प पिडितका लागि घरकर्जा, टेक्सटायल व्यवसाय कर्जा, सिटिइभिटिबाट तालिम लिएका व्यक्ति लागि कर्जा र स्वरोजगार युवा कर्जा शिर्षकमा सहुलियतपूर्ण कर्जा दिदै आएका छन ।

यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाले निर्धारण गरेको ब्याजदर मध्ये ५ प्रतिशत ब्याजदर अनुदान स्वरुप सरकारले उपलब्ध गराउने छ । महिला उद्यमशीलता कर्जाको हकमा यो अनुदान ६ प्रतिशत उपलब्ध हुनेछ । तर पाँच करोड रुपैयाँ भन्दा बढीको व्यवसायिक कृषि तथ पशुपन्छी कर्जामा भने २ प्रतिशत मात्र ब्याजदर अनुदान उपलब्ध हुन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार कुल राष्ट्रिय निक्षेप परिचालनमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ६८.२९ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको अंश सबैभन्दा कम १.१७ प्रतिशत मात्र छ । मधेश प्रदेशको यस्तो योगदान ५.०९ प्रतिशत रहेको छ ।

कुल राष्ट्रिय कर्जा प्रवाहमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ५०.५४ प्रतिशत रहेको छ भने सबैभन्दा कम सुदुरपश्चिम प्रदेशको अंश २.८८ प्रतिशत रहेको छ । कर्जामा मधेश प्रदेशको अंश ८.२९ प्रतिशत रहेको छ ।विपन्न वर्गमा प्रवाहित कर्जा मध्ये सबै भन्दा बढी बागमती प्रदेशको अंश ४८.०६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको अंश १.४६ प्रतिशत रहेको छ । नेपालमा कुल विपन्न वर्गमा प्रवाहित कर्जामा मधेश प्रदेशको अंश ८.७४ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ११ हजार ५ सय २८ वटा रहेको छ । सोमध्ये सबै भन्दा बढी बागमती प्रदेशमा ३ हजार ३ वटा रहेको छ भने सबै भन्दा कम कर्णाली प्रदेशमा केवल ४ सय ५५ वटा शाखाहरू रहेको छ । मधेश प्रदेशमा सञ्चालित बैंक वित्तीय संस्थाहरूको शाखा संख्या १ हजार ७ सय ४५ वटा रहेको छ । त्यसैगरी शाखा रहित बैकिङ्ग सेवा सबै भन्दा बढी प्रदेश १ मा ५ सय ७६ स्थानमा र सबैभन्दा कम कर्णाली प्रदेशमा ४२ स्थानमा संचलन भईरहेको छ भने मधेश प्रदेशमा यस्तो सेवा २ सय १ स्थानमा सञ्चालनमा रहेको छ ।

यसैगरी मोबाईल बैंकिङ्ग प्रयोगकर्ता सबैभन्दा बढी बागमती प्रदेशमा ५२ लाख ६६ हजार ७ सय २२ वटा रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ३ लाख ९१ हजार ७ सय ५९ रहेको छ । इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता सबैभन्दा बढी बागमती प्रदेशमा ६ लाख ६७ हजार ६ सय ५२ र सबैभन्दा कम कर्णाली प्रदेशमा ७ हजार ८ सय ७५ रहेका छन् ।

मधेश प्रदेशमा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता १३ लाख ९ हजार ८ सय ३९ र इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता ८० हजार ४ सय ४६ रहेका छन् । त्यसैगरी ए.टि.एम. मेशिनको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा २ हजार १ सय ४७ र सबैभन्दा कम कर्णाली प्रदेशमा ८८ रहेको छ भने मधेश प्रदेशमा यस्तो संख्या ४ सय २ वटा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।