तीन कम्पनीको संयुक्त कारोबार हिमालयन लाइफ इन्स्योरन्स लिमिटेडबाट हुने, स्वाप रेसियो १:१:१

0
Shares

यूनियन लाइफ इन्योरेन्स, प्राइम लाइफ इन्योरेन्स, गुराँस लाइफ इन्योरेन्स कम्पनीहरुको मर्जर पश्चात् ‘हिमालयन लाइफ इन्स्योरन्स लिमिटेड’ को नामबाट संयुक्त कारोबार हुने भएको छ ।

पुस ३० गते शनिबार तीन कम्पनीबीच मर्जर सम्बन्धि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा युनियन लाइफको तर्फबाट अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफको तर्फबाट पियुस राज अर्याल र गुराँस लाइफको तर्फबाट विवेक दुगडले हस्ताक्षर गरेका हुन् ।

तीनवटै कम्पनीको नाम जोड्दा लामो हुने भएपछि नयाँ नाममा सहमति जुटेको हो । हिमालयनको नामबाट अहिले पुनर्बीमा कम्पनी ‘हिमालयन रि इन्स्योरेन्स’ र निर्जीवन बीमा कम्पनी ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’ सञ्चालनमा रहेका छन् । अब बन्ने जीवन बीमा कम्पनीको नाम पनि सोही अनुसार हिमालयन लाइफ इन्स्योरेन्स बन्ने भएको हो । तीन वटै कम्पनीमा प्रमुख लगानीकर्ता मारवाडी समुदाय छन् ।

युनियन लाइफमा शंकर ग्रुप शुलभ र शाहिल अग्रवालको २५ प्रतिशत धेरै लगानी रहेको छ भने प्राइम लाइफमा लक्ष्मी बैंक, राजेन्द्र खेतान र पुजा अग्रवाल सहित खेतान समुहको ५० प्रतिशत र गुराँस लाइफमा सनराइज बैंक सहित दुगड परिवारको ५२ प्रतिशत अधिक लगानी रहेको छ ।

एक बराबर एक अनुपातमा गाभिए पश्चात एकीकृत संस्थाको चुक्ता पुँजी सात अर्ब रुपैयाँ नाघ्ने छ । हाल युनियन लाइफको बोनस वितरण पुर्व २ अर्ब १५ करोड रूपैयाँ, प्राइम लाइफको बिनस बितरण पुर्व चुक्ता पूँजी २ अर्ब ७७ करोड र गुराँस लाइफको २ अर्ब ८ करोड चुक्ता पुँजी छ । गत आर्थिक वर्षबाट युनियनले ८.६५ प्रतिशत र प्राइमले १३ प्रतिशत बोनश बितरण गर्नेछन ।

जीवन बीमा कोषको आकार करिब ५० अर्ब हाराहारीमा पुग्नेछ । केन्द्रीय कार्यालय भने प्राइम लाइफको मुख्य कार्यालय रहेको स्थान नक्सालमा रहनेछ । हाल युनियनको नयाँ बानेश्वर, गुराँसको तीनकुनेमा केन्द्रीय कार्यालय छ ।

त्यस्तै सञ्चालक समितिको अध्यक्षमा पनि युनियनकै सुलभ अग्रवाल रहने सहमति भएको छ । युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजलाल कर्णले नै मर्जरपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्नेछन् । यस्तै गुराँस लाइफका सीइओ विपिन लाल कर्ण र प्राइम लाइफका सीईओ निर्मल दाहाल नायब प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहनेछन् ।

तीन कम्पनीहरुबीच जीवन बीमा क्षेत्रमा नै पहिलो मर्जर सम्झौता भएको थियो । तीन जीवन बीमा कम्पनीहरूबीच आपसमा गाभ्ने गाभिने ९मर्जर० सम्बन्धमा गत बैशाख २९ गते प्रारम्भिक सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । डिडिए सकिएर अन्तिम सम्झौता गरेसँगै अब तीन वटै कम्पनीले वार्षिक साधारण सभाबाट मर्जरको विशेष प्रस्ताव अनुमोदन गर्नेछन् । त्यसपछि नेपाल बीमा प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति पाएसँगै एकीकृत कारोबारको बाटो खृुृला हुनेछ । एकीकृत कारोबार आउँदो चैत भित्रै सुरु गर्ने लक्ष्य छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।