व्यवसाय पाएनन् पुनर्बीमा ब्रोकरले, ५० करोड लगानी जोखिममा

0
Shares

नेपाल बीमा प्राधिकरणबाट अनुमति लिएर सञ्चालनमा आएका १० वटा पुनर्बीमा ब्रोकर कम्पनीहरुको लगानी जोखिममा परेको छ । ब्रोकर कम्पनीले व्यवसाय नपाएपछि कम्पनीहरुको लगानी धरापमा परेको हो ।

प्राधिकरणले हालै एलिएण्ट इन्स्योरेन्स ब्रोकर, एलाइड इन्स्योरेन्स ब्रोकर, ट्रष्ट रि इन्स्योरेन्स, ग्लोबल इन्स्यारेन्स ब्रोकर, फेडेरल रिइन्स्योरेन्स ब्रोकर, शुभ रिइन्स्योरेन्स ब्रोकर, हब म्यानेजम्याण्ट, एवन रिइन्स्योरेन्स, एसटिसि रिइन्स्योरेन्स र जेबि बोडा रिइन्स्योरेन्स ब्रोकरलाई सञ्चालन अनुमति दिएको थियो । यि कम्पनीहरुले ५ करोड रुपैयाँ चुक्ता पूँजी सहित कार्यालय स्थापना गरी व्यवसाय गर्दै आएका छन् ।

प्राधिकरणले पुनर्बीमाका लागि मुलुक भित्र स्थापना भएका पुनर्बीमा कम्पनीलाई प्राथमिकता दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । नेपालमा स्थापना भएका पुनर्बीमा कम्पनीले पुनर्बीमा गर्न नचाहेमा मात्रै विदेशी पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गर्न सक्ने व्यवस्था गरेको छ ।

यस्तो अवस्थामा बीमा कम्पनीहरुले ब्रोकरको प्रयोग नगर्ने गरेको प्राधिकरण कै भनाई छ । मुलुक भित्र कै पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्नका लागि कुनै पनि नेपाली कम्पनीले व्यवहारिक रुपमा नै ब्रोकरको प्रयोग नगर्ने प्राधिकरण कै एक कर्मचारी बताउँछन् ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीमा नेपालका सबै निर्जीवन बीमा कम्पनीको लगानी छ । आफनै लगानी भएको कम्पनीमा पुनर्बीमा गर्दा कम्पनीहरु ब्रोकर प्रयोग गर्न नचाहने प्राधिकरणको दाबी छ ।

यता नेपाल भित्र सञ्चालनमा रहेका पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्नका लागि नेपाली बीमा कम्पनी प्रयोग गर्नका लागि आफै उत्साहीत छैनन भने उता अन्तराष्ट्रिय पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गराउने सक्ने क्षमता नेपाली पुनर्बीमा ब्रोकरसँग नभएको प्राधिकरणको दाबी छ।

बीमा कम्पनीहरुले बीमा गरेको सम्पति वा व्यक्तिको पुरै जोखिम आफुले नै राख्दैनन् । आफनो क्षमता अनुसार आफुले धारण गरि बाँकी जोखिम अन्य कम्पनीलाई हस्तान्तरण गर्छन् । यो प्रक्रियालाई पुनर्बीमा भनिन्छ ।

तर, कम्पनीले पुनर्बीमा गर्दा उचित कम्पनीको छनौट भएन भने दाबी गर्दा पुनर्बीमा कम्पनीले भुक्तानी गर्न सक्दैन । त्यसैले कम्पनीले पुनर्बीमा कम्पनीको व्यवस्थापकिय र प्राविधिक रुपमा विश्लेषण गरेर मात्रै पुनर्बीमा गर्नुपर्छ ।

तर, बीमा कम्पनीमा यस्तो विश्लेषण गर्ने क्षमता र जनशक्ति अभाव हुन सक्छ । यस्तो अवस्थामा बीमा कम्पनीले पुनर्बीमा ब्रोकरको प्रयोग गर्न सक्छन् ।

पुनर्बीमा ब्रोकरले सम्भावित पुनर्बीमा कम्पनीको सबै खालको विश्लेषण गरी बीमा कम्पनीलाई सिफारिश गर्छ । त्यस्तै दाबी परेको समयमा पहल पनि गर्छ । यसले गर्दा बीमा कम्पनीलाई पुनर्बीमा कम्पनीको विश्लेषण गर्न जनशक्तिको आवश्यकता पर्दैन । ब्रोकर मार्फत सजिलै पुर्नर्बीमा गर्न र भुक्तानी लिन सक्छ । तर, यसको लागि ब्रोकरले निश्चित रकम कमिशन लिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।