बैंकिङ प्रणालीको तरलता अवस्था अघिल्लो पुसमा भन्दा यस पटक झनै असहज


बैंक वित्तीय संस्थाहरुमा तरलता केहि सहज हुँदै गइरहेको भनिँदै गर्दा गत वर्षको तुलनामा यस वर्ष झनै संकुचित भएको देखिएको छ । बैंक वित्तीय संस्थाका बीचमा हुने अन्तर बैंक कारोबार क्रमिक रुपमा बढिरहेको तथ्यांकले तरलता गत वर्षको तुलनामा यस वर्ष झनै असहज अवस्थामा रहेको देखाएको हो ।

गत आर्थिक वर्षको पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले १८ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका थिए । जसमा वाणिज्य बैंकहरुको १६ खर्ब २६ अर्ब ४ करोड र अन्य वित्तीय संस्थाको २ खर्ब १३ अर्ब ५० करोड हिस्सा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

उल्लेखित तथ्यांकलाई चालु आर्थिक वर्षको पुस मसान्तको तथ्यांकसँग तुलना गर्दा अन्तरबैंक कारोबार झनै बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक वित्तीय संस्थाका बीचमा २० खर्ब २५ अर्ब १२ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको छ । जसमा वाणिज्य बैंकको मात्र १८ खर्ब ४३ अर्ब ८ करोड र अन्य वित्तीय संस्थाको १ खर्ब ८२ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।

उल्लेखित तथ्यांकलाई तुलना गर्दा कुल अन्तर बैंक कारोबार रकम र वाणिज्य बैंकहरुको अन्तर बैंक कारोबार रकम बढेको छ भने अन्य वित्तीय संस्थाको भने २ खर्ब १३ अर्ब ५० करोडबाट १ खर्ब ८२ अर्ब ४ करोडमा झरेको हो ।

तरलता अभावका कारण बैंकहरुले गत वर्षदेखि नै तरलता व्यवस्थापनका साथै नियामकीय निर्देशन अनुसारको वित्तीय अवस्था बनाउन अन्तरबैंक कारोबारलाई तीब्रता दिएका थिए । यो क्रम चालु आर्थिक वर्षको पुससम्म आउँदा झनै बढ्नुले पुस समान्तमा बैंकहरुमा तरलता झनै संकुचित भएको प्रष्ट बनाउँछ ।

अघिल्लो आर्थिक वर्ष अधिक तरलताको अवस्थामा बैंक वित्तीय संस्थाहरुले जम्मा २ खर्ब ९० अर्ब ७८ करोड रुपैयाँ बराबरको मात्र अन्तर बैंक कारोबार गरेका थिए । जसमा वाणिज्य बैंकहरुको १ खर्ब ८९ अर्ब १८ करोड र अन्य वित्तीय संस्थाहरुको १ खर्ब १ अर्ब ६० करोडको अन्तरबैंक कारोबार भएको थियो ।

उल्लेखित ३ आर्थिक वर्षका पुस मसान्तका तथ्यांकलाई हेर्दा २ खर्ब ९० अर्ब ७८ करोडको अन्तर बैंक कारोबार गत आर्थिक वर्षमा एकै पटक १८ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँमा उक्लिएको थियो । चालु आर्थिक वर्षको पुस मसान्तमा आइपुग्दा २० खर्ब २५ अर्ब १२ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको हो ।

बैंकहरुको पहिलो प्राथमिकतामा कर्जा परिचालन, दोस्रोमा सरकारी ऋणपत्र र तेस्रोमा अन्तर बैंक कारोबार पर्ने गरेका छन् । तीनै विषय तरलतासँग प्रत्यक्ष रुपमा जोडिने भएकाले कर्जा परिचालन सुस्त हुनु, सरकारी ऋणपत्रमा बैंकहरुको लगानी घट्नु र अन्तर बैंक कारोबार बढिरहनुले तरलता सहज हुन नसकेको देखाएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।