खाद्यान्न निर्यात गर्ने हामी सकारात्मक शक्ति पहिचान नगर्दा परनिर्भर हुनुपरेको छ : प्रधानमन्त्री 


प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो आत्मनिर्भर नेपालीहरू अहिले आफूसँग भएको सकारात्मक शक्ति पहिचान नगर्दा परनिर्भर हुनुपरेको बताएका छन् । खाद्यान्नमा आत्मनिर्भर भएर निर्यात समेत गरेका हामी निराश हुनुपर्ने अवस्था नभएको उनले बताएका हुन । 

प्रधानमन्त्री दाहालले गतवर्ष श्रीलंका जस्तै हुनलाग्यो भने पनि अहिले त्यस्तो अवस्था नरहेको बताए । अर्थतन्त्रको समस्या समाधान गर्नु जीवन मरणको लडाइँ रहेको बताउँदै उनले भने,“आफू नेतृत्वको सरकारले अर्थतन्त्रको सुधारलाई प्रमुख एजेण्डा बनाएको छ ।”

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेका नेपाली अर्थतन्त्रको अबको बाटो विषयक कन्फरेन्स तथा सेजन अवार्ड २०७९ कार्यक्रममा बोल्दै उनले भने,“निर्वाचन अभियान चलाउँदा पनि अबको समय आर्थिक उन्नति र विकास नै हो भनेको थिएँ । त्यसका निम्ति सुशासन अपरिहार्य छ ।”

उनले समाजिक न्याय सुशासन र समृद्धिको बाटोमा देशलाई डोर्याउने अभिभारा रहेको भन्दै जनतासँग गरेको बाचा  संकल्प निष्ठापूर्वक अघि सारेको बताए । उनले नेपाली अर्थतन्त्रलाई सुधार्ने कुरा सजिलो नभएको भन्दै राष्ट्रिय अन्तर्राष्ट्रिय चुनौतीहरूको समाना गर्नु परेको बताए । पछिल्लो दुई महिना अर्थतन्त्रमा सुधार देखिएका छ तर यो स्थायी खालको नभएको उनको स्वीकारोक्ति रहेको थियो । 

उनले अबको आर्थिक विकासलाई लागि कृषिलाई नै प्राथमिकतामा राख्नुपर्ने बताए । त्यसैगरी प्रधानमन्त्रीले आर्थिक विधेयकलाई उच्च प्राथमिकतामा राखेको बताए ।  देशलाई आर्थिक निकास दिन विधेयकलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । उनले आर्थिक विकासको लागि कृषिलाई प्राथमिकता दिनु पर्ने बताए । दाहालले सरकारको न्यनतम साझा कार्यक्रममा पनि अब मुलुकले लिनुपर्ने बाटोको बिषय उल्लेख  गरेको बताए । 

उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विश्व अर्थतन्त्रमा अझै संकट कायम रहेकाले  संयमित हुनु पर्ने बताए ।  २०७२ मा संविधान जारी भएपछिका ३ बर्ष मुलुकले उच्च आर्थिक वृद्धिदर हासिल गरेको थियो । “हाम्रो पालामा आर्थिक समृद्धि हुन्छ भन्ने आशा पलाएको थियो । तर त्यसपछि कोभिड र राजनीतिक अस्थिरता सुरु भयो,” उनले भने,“विभिन्न कारणले उत्पादन लागत वृद्धि भइ मूल्य वृद्धि अकासिएको छ ।”

उनका अनुसार विदेशी मुद्राको संचिता घटेका कारण आयात प्रतिबन्ध लगाउनु परेको थियो । जसका कारण राजश्वमा असर परेको छ । आइएमएफले पनि अझै जोखिम बढ्न सक्ने देखाएको छ । यथाशीघ्र अर्थतन्त्रको कोर्ष करेक्सन गर्नुपर्ने उनले बताए । उनका अनुसार आयात बढेको छ । व्यापार घाटा चुलिएको छ ।  डिजिटल अर्थतन्त्र र नवप्रवर्तनमा जोड दिनुपर्ने अवस्था छ ।  राष्ट्र बैंकको पछिल्लो तथ्यांकले केहि सुधार देखाएको उनले बताए छ । 

योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले महत्वाकाङ्क्षी नीति बनाउनु नै समस्या रहेको बताए । उनका अनुसार आवश्यकता र सम्भावना भएको नेपाल जस्तो मुलुकमा केही महत्वाकाङ्क्षी योजना पनि बन्नुपर्छ । तर त्यसलाई कार्यान्वयन गर्न नसक्दा नतिजा आउन सकेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।