तरलता अभावको समस्या जटिल बन्दै, अन्तर बैंक र रिपोमा पनि बैंकदर अफर गर्दै बैंकहरु

0
Shares

बैंकिङ प्रणालीको तरलता अभावको समस्या झनै जटिल बन्दै गएको छ । पछिल्ला दिनहरुमा अल्पकालीन ब्याजदरमा आएको वृद्धिले वित्तीय प्रणालीमा तरलता अभावको समस्या गहिरिँदै गएको स्पष्ट भएको हो ।

माघ महिनाको अन्तिम तथा फागुन सुरु भएसँगै वित्तीय प्रणालीमा तरलताको अवस्था जटिल देखिएको हो । वित्तीय प्रणालीमा तरलता अवस्था जटिल बन्दै गएपछि केन्द्रीय बैंकले गत पुसमा दीर्घकालिन रिपोको प्रयोग गरेको थियो । ४५ दिन अवधिको उक्त रिपो माघ २८ गते परिपक्क भएपनि पुनः तरलताको समस्या बल्झिएको हो ।

बैंकिङ प्रणालीमा निक्षेप पनि विस्तारै बढ्दै गएको र केन्द्रीय बैंकले पनि तरलता व्यवस्थापनका लागि दीलर्घकालिन र अल्पकालिन उपकरणहरुको प्रयोग बढाएसँगै तरलताको अवस्था सहज देखिएको थियो । त्यसका नतिजा अल्पकालिन ब्याजदर घटेको थियो भने बैंकहरुले पनि निक्षेपको ब्याजदर घटाएका थिए ।  तर, फागुन महिना लागेपछि मात्रै अन्तर बैंक दर ४ प्रतिशतबाट बढेर ८.५ प्रतिशत पुगेको छ । त्यसैगरी बैंकहरुले सोही दरमा रिपो खरिद गरेका छन् । यो बैंकहरुले राष्ट्र बैंकबाट लिने अल्पकालिन सापट स्थायी तरलता सुविधा लिँदा तिर्ने बराबर दर हो ।

बुधबार मात्रै बैंकहरुले राष्ट्र बैंकबाट स्थायी तलता सुविधा (एसएलएफ) वापत एक अर्ब ५० करोड रुपैयाँ लिएका छन् । बैंकहरुले कर्जा विस्तार समेत गर्न नसकेको अवस्था छ । उच्च ब्याजदरका कारण कर्जाको माग समेत छैन । यस्तो अवस्थामा पनि बैंकहरुमा तरलता अभावको समस्या जटिल बनेको हो । बैंकहरुमा नयाँ निक्षेप नथपिने र कर्जा लगानी रोकिँदा निक्षेप सृजनामा समेत असर गरेको हो ।

वित्तीय प्रणालीमा तरलताको अवस्था निकै कसिलो बन्दै गएपछि मंगलबार बैंकिङ प्रणालमिा रिपो मार्फत १४ दिनका लागि ३० अर्ब रुपैयाँ पठाएको छ । उक्त रिपोका लागि बैंकहरुले ५० अर्ब १५ करोड रुपैयाँ बराबरको माग गर्दै आवेदन दिएका थिए । त्यसका लागि २२ संस्थाले ९१ वटा आवेदन गरेको केन्द्रीय बैंकले जनाएको छ । उक्त रिपोका लागि बैंकहरुले अधिकतम ८.६५ र न्यूनतम ७.८० प्रतिशतसम्मको ब्याजदर अफर गरेका छन् । यसको औसत ब्याजदर ८.३७४५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

फागुन महिना लागेसँगै अन्तर बैंक कारोबारदर करिब दोब्बरले बढेको छ भने रिपोको ब्याजदर समेत करिब १ प्रतिशतको बिन्दुले बढेको छ । त्यसैगरी ट्रेजरी बिल्सको डिसकाउन्ट रेट समेत बढेको छ । बैंकिङ प्रणालीको अल्पकालिन ब्याजदमा आएको वृद्धिले आगामी दिनमा बैंकहरुको ब्याजदर घट्ने सम्भावना न्यून छ । तर, उद्योगी व्यवसायीले ब्याजदर घटाउने माग राख्दै आन्दोलन गर्नेदेखि शक्ति केन्द्र धाउने क्रम जारी नै राखेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।