एयर इन्डियाले खरिद गरेका ४७० जहाजका लागि ६५०० पाइलट आवश्यक

0
Shares

हालै एयर इन्डियाले ४७० वटा हवाइजहाजका खरिदका लागि एयरबस र बोइङ कम्पनीसँग अर्डर सम्झौता गरेको छ ।

उक्त ४७० न्यारोबडी तथा वाइडबडी जहाज सञ्चालनका लागि ६ हजार ५०० बढी पाइलटहरु आवश्यक पर्ने भारतीय उडड्यन मन्त्रालयले जनाएको छ ।

हवाइजहाज खरिद प्रक्रियाको इतिहासमा एयर इन्डिया ग्रुपले खरिद गरेको ४७० बोइङ र एयरबस अहिले सम्मकै उच्च हो । निरन्तर घाटामा गइरहेको सरकारी एयरलाइन्स–एयर इन्डियालाई टाटा ग्रुपले खरिद गरेपछि एयर इन्डियाको संगठनात्मक संरचनामा मात्रै नभई क्षमता विस्तारमा समेत काम भइरहेको छ । जसको एक उदाहरण जहाजहरुको सङ्ख्यामा गर्न लागिएको वृद्धि र फ्लीट विस्तारको कामलाई लिन सकिन्छ ।

हाल एयर इन्डियामा १ हजार ६०० पाइलटहरु रहेका छन् जसले १५३ वटा हवाइजहाज उडाइरहेका छन् । तथापि क्रीउ सदस्यहरुको कमी हुँदा अहिले पनि एयर इन्डियाका कुनै फ्लाइटहरु रद्द हुने तथा उडानमा ढिलाई हुने जस्ता समस्या रहेका छन् । यस्तै एयर इन्डियाकै भगिनी कम्पनी एयर इन्डिया एक्सप्रेस र एयर एशिया इन्डियामा ८५० पाइलट रहेका छन् जसले ५४ वटा जहाजहरुको उडान भरिरहेका छन् ।

यस्तै टाटा ग्रुपको भिस्तारा एयरलाइन्समा ६०० पाइलटहरु रहेका छन् जसले ५३ वटा जहाजहरुको उडान गरिरहेका छन् । यी चार कम्पनीहरुमा कुल ३ हजार पाइलट र २२० जहाजहरु छन् ।

एयर इन्डियालाई टाटा ग्रुपले अधिग्रहण गरेपछि कम्पनीले २१० वटा ए३२०/३२१ र नीओ/एक्सएलआर मोडलको एयरबस र ४० वटा ए३५०–९००/१००० मोडलको एयरबस अर्डर गरेको छ । यस्तै १९० वटा बोइङ ७३७–म्याक्स, २० वटा बोइङ ७८७ र १० वटा बोइङ ७७७ अर्डर गरेको छ ।

ए३५० मोडलको एयरबसमा १५ पाइलट र १५ को–पाइलटको आवश्यकता हुन्छ । ४० वटा ए३५० एयरबसमा मात्रै ६०० पाइलट र ६०० को–पाइलटको आवश्यकता हुने मन्त्रालयले जनाएको छ । यस्तै बोइङ ७७७ मोडलको जहाजमा २६ पाइलट, बोइङ ७८७ मोडलको जहाजमा २० पाइलट, बोइङ ७३७ म्याक्समा १२ पाइलट आवश्यक पर्नेछ ।

पाइलट तथा क्याबिन क्रीउहरुको बारेमा एयर इन्डियाका प्रमुख कार्यकारी अधिकृत क्याम्पबेल वील्सन भन्छन्, “एयर इन्डियाले क्षमता विस्तारका लागि गरेको कार्यहरुले आगामी समयमा हजारौँको सङ्ख्यामा पाइलट, को–पाइलट, इन्जिनियर तथा क्याबिन क्रीउको आवश्यकता पर्ने छ । भारतको ध्वाजाबाहक एयरलाइन्सले नयाँ उचाइ लिँदा भारतकै क्षमतावान् व्यक्तिहरुलाई उच्च प्राथमिकताका साथ भर्ना गरिने छ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।