कलेज पढ्दै पैसा कसरी बचत गर्ने ?

0
Shares

तुलनात्मक रुपमा हेर्ने हो भने विद्यार्थी जीवन अभाव नै अभावको समय हो । यो समयमा आफैँ कमाउने समय आइनसकेको हुने हुँदा चाहिने खर्च बाबाआमासँग मागेर गर्जो टानुपर्ने हुन्छ ।

कहिले २० रुपैयाँ जोगाउनको लागि २० मिनेट हिड्नुपर्छ त कहिले त्यहि २० मिनेट जोगाउनका लागि २० रुपैयाँ मात्रै नभई २०० रुपैयाँ पनि खर्च गर्नुपर्छ । यस समयमा घरबाट बाबा–आमाले आर्थिक सहयोगको अपेक्षा नराखेपनि उहाँहरुसँग दिनै पैसा माग्न अधिकांश मानिसहरु हिच्कीचाउने नै गर्छन् ।

यस्तै यो त्यस्तो समय हो, जहाँ विद्यार्थीलाई पढ्नुपर्छ भनिन्छ तर पढाईका साथसाथै आइपर्ने समस्याहरुको बारेमा सिकाइँदैन, पढाइँदैन । नेपालको वित्तीय साक्षरता कमजोर हुनुमा पैसाको बारेमा स्कुल तथा कलेजमा अध्ययन नगराउनु, पैसाको महत्वको बारेमा जानकारी नगराउनु पनि एक मानिन्छ ।

जसले समयमा खर्च र बचतको महत्व बुझेको हुन्छ, सायद त्यो विद्यार्थीलाई पर्ने वित्तीय समस्या केही नबुझेको विद्यार्थीको तुलनामा कम हुने गर्छ । यो लेखमा केही त्यस्ता उपायहरुको बारेमा चर्चा गरिनेछ, जसको प्रयोगले कलेज तथा स्कुल पढ्दै गरेका विद्यार्थीहरुले आफ्नो खाजा खर्चको जोहो गर्न मात्रै नभई आपत्कालीन अवस्थाका लागि केही रकम वचत गर्न समेत सक्नेछन् ।

१. आधारभूत सीपहरु सिक्ने

नेपाली बजारमा काम नपाउनेको सङ्ख्या पनि ठूलो छ र कमचारी खोज्ने संस्थाहरुको सङ्ख्या पनि धेरै रहेको छ । विद्यार्थीहरु पाठ्यपुस्तकमा मात्रै केन्द्रीत हुँदा कम्पनीहरुले चाहेको जस्तो कर्मचारी पाउन सकेको छैनन् भने कम्पनीहरुले विभिन्न पदका लागि दरखास्त आह्वान गर्दा विद्यार्थीहरुको न्युनतम योग्यता तथा सीप नपुग्दा अधिकांश मानिसहरु बेरोजगार बस्न बाध्य छन् ।

तसर्थ कलेज पछिको केही समय नयाँ सीपहरु सिक्नको लागि खर्चिँदा, ती सीपहरु नै पछि आम्दानीको स्रोत बन्नेछन् । उदाहरणका लागि, आधारभूत कम्प्यूटर तालिम, फोटो–इडिटिङ, भिडियो–इडिटिङ, माइक्रोसफ्ट एक्सेल, ड्राइभिङ, नेपाली–अङग्रेजी टाइपिङ आदि ।

२. इन्टर्नसीप गर्ने

कक्षाकोठामा आर्जन गरेको शिक्षा र बाहिर बजारमा प्रचलित कार्यविधिमा आकाश जमिनको अन्तर हुने गर्छ । इन्टर्नसीप एक त्यस्तो अवसर हो जसले विद्यार्थीलाई बाहिरी संसार बुझ्न र पढाइ सक्काएपछि जागिर खानको लागि तयार गर्छ । तसर्थ आफ्नो विषय सम्बन्धित रहेका इन्टर्नसीप कार्यक्रमहरुमा आवेदन दिई काम सुर गर्नुपर्छ ।

हाल नेपालमा इन्टर्नको लागि ७ हजार देखि १५ हजारसम्मको मासिक तलब पनि कम्पनीहरुले दिँदै आएका छन् । जसकारण विद्यार्थीहरुले इन्टर्नसीपबाट नै आफ्नो पकेट–मनी पु¥याउन सक्छन् र केही रकम बचत समेत गर्न सक्छन् ।

३. सामाजिक सेवा

ठूला–ठूला कम्पनीहरुले आफ्नो वार्षिक उत्सव तथा अन्य कुनै कार्यक्रमहरु आयोजना गर्दा सामाजिक सेवा (भोलुन्टियर) राख्ने गर्छन् । यी कार्यक्रमहरुमा भोलुन्टियरिङ गर्दा कम्पनीले दिने लन्च–प्याक, ट्राभल रकम त भयो नै त्यसका साथसाथै कार्यक्रममा सहभागी हुने व्यक्तिहरुसँग पनि सम्बन्ध (र्‍यापो)  निर्माण गर्न सकिन्छ जसले पछि गएर रोजगारी समेत दिन सक्छ ।

४. अनलाइन बिजनेश गर्ने

कोभिड महामारीपछि विश्वभरका मानिसहरु भौतिक रुपमा नभई अनलाइन तथा सामाजिक सञ्जालमा बढी उपलब्ध छन् । कुनै सामानहरु किन्नु पर्यो भने पनि मानिसहरु अनलाइनबाट नै अर्डर गर्छन् । तसर्थ कुनै एक वस्तुलाई होल्सेल मूल्यमा किनी, खुद्रामा व्यापार गरी नाफा आर्जन गर्न पनि सकिन्छ । पछिल्लो समयमा मानिसहरु पेन्टिङ, स्केचिङ गरी पनि साइड बिजनेस गरिरहेका छन् । त्यसरी पनि आम्दानी गर्न सकिन्छ ।

५. ट्युसन पढाउने

सहरी क्षेत्रमा स्कुलको सङ्ख्या धेरै भएता पनि बालबालिकाका दुवै अभिभावक जागिरे हुँदा बालबालिकाको पढाइमा ध्यान दिन सकेका हुँदैनन् तर बालबालिकाको खस्कीएको पढाइका बारेमा भने चिन्तित भइरहन्छन् । तसर्थ ती अभिभावकहरुको पत्ता लगाई उनीहरुका बालबालिकालाई ट्युसन पढाउन पनि सकिन्छ । यस्तै आफू बस्ने टोलका घरहरुमा गई आफ्नो विवरण दिएर ट्युसन टिचरको खोजीमा हुनेले सम्पर्क गर्नु पनि भन्न सकिन्छ र आवश्यक परेका अभिभावकहरुले आफैँ सम्पर्क ट्युसन पढाउन बोलाउने छन् ।  तर यसका लागि आफूसँग अध्यापन गराउन सक्ने कला र ज्ञान भने भरपूर हुनुपर्छ ।

६. राम्रो अंक ल्याई उत्तीर्ण हुने

नेपालका हरेक विद्यालय तथा कलेजहरुले जेहेन्दार विद्यार्थीलाई विशेष छुट तथा छात्रवृति प्रदान गरिरहेका हुन्छन् । तसर्थ राम्रो अंक ल्याई उत्तीर्ण हुँदा पढाइका लागि खर्चिनु पर्ने रकम कलेज तथा स्कुललाई बुझाउनु पर्दैन र यसरी कलेजको चर्को शुल्कले परिवारमा पार्ने आर्थिक भारबाट समेत बच्न सकिन्छ ।

७. खर्च विवरण राख्ने र अनावश्यक खर्च कटौती गर्ने

एक महिनमा व्यक्तिगत खर्च कति हुने रहेछ भन्ने टिपोट गर्ने र अर्को महिनामा पछिल्लो महिनामा गरेको फिजुल खर्च कटौती गर्दै जाने हो भने पनि पढ्दा पढ्दै अलिकति रकम जम्मा गर्न सकिन्छ ।

यस्तै पकेट मनीको केही हिस्सा आपत्कालीन अवस्थाका लागि जम्मा गर्ने बानीले पनि आपत्कालीन अवस्थामा लिनुपर्ने ऋणको भार कम गर्छ । बिरामी हुँदा अस्पताल जानुपर्दा त्यहि आपत्कालीन कोषको प्रयोग गर्न सकिन्छ ।

यसरी यी विधिहरु अपनाउँदा विद्यार्थी जीवन मै केही रकम बचत गर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।