अन्तर्राष्ट्रिय व्यापारमा डलरको एकाधिकार तोड्न विकल्प खोज्दै शक्ति राष्ट्रहरु

0
Shares

अन्तर्राष्ट्रिय व्यापारमा प्रभुत्व जमाएको अमेरिकी डलरको एकाधिकार तोड्नका लागि विभिन्न शक्ति राष्ट्रहरुले विकल्पको खोजी गर्न थालेका छन् । चीन, भारत, रुस, दक्षिण अफ्रिका, ब्राजिल लगायतका मुलुकहरुले अन्तरदेशीय कारोबारमा डलरलाई प्रतिस्थापन गर्ने बैंकल्पिक मुद्राको विषयमा छलफल अगाडि बढाएका हुन् ।

पछिल्लो समयमा ब्राजिल र अर्जेन्टीनाले व्यापारका लागि डलर बैंकल्पिक मुद्राको खोजी गर्न सुरु गरेका छन । दुई राष्ट्रहरुबीच ‘साझा मुद्रा’ निर्माण गरी व्यापार गर्ने दुबै मुलुकका सम्बन्धित निकायहरुले छलफल नै सुरु गरेको अवस्था छ । डलरसँगको विनिमय दर फिक्स नभई पेग हुँदा अमेरिकी अर्थतन्त्रमा देखिने परिवर्तनको सोझो असर विकासशील तथा विकसीत राष्ट्रहरुमा देखिँदै आएको सत्य लुक्न सक्दैन ।

अर्जेटिनाको राजधानी बुएनस एरिसमा भएको “कम्युनीटि अफ ल्याटिन अमेरिकन एन्ड क्यारिबियन स्टेट” सम्मेलनमा सहभागी हुँदै अर्जेटिनी राष्ट्रपति अल्बर्टो फरनान्डेज र ब्राजिलियन राष्ट्रपति लुइजइनासीओ लुला डा साल्भीयाले व्यापारका लागि बाह्य मुद्राको प्रयोगले देशहरुलाई थप क्षति पु¥याएको जनाउँदै साझा मुद्राको विषयमा छलफल अघि बढाउने बताएका थिए ।

४० वर्ष यताकै उच्च स्थीतिमा पुगेको मुद्रास्फीति नियन्त्रणका लागि अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भले आक्रामक शैलीमा ब्याजदर बढाउँदै आएको छ । जसकारण डलर आकाशिएको छ भने विकासशील देशका मुद्रा कमजोर हुँदै गएका छन् । स्वदेशी मुद्राको क्रयशक्ति कमजोर भइरहेको छ भने विकासोन्मुख तथा अल्पविकसीत राष्ट्रहरु टाट पल्टिने अवस्थामा पुगेका छन् । विश्व समुदायको ब्यापारसंग जोडिएका यस्ता राष्ट्रहरुलाई उच्च आयातका कारण विदेशी विनिमय सञ्चितिमा दबाब परेको र समग्र अर्थतन्त्र मै समस्या देखिने गरेको छ । यसको कारण भनेको अन्तराष्ट्रिय ब्यापारमा डलरको एकाधिकार हुनुले पनि हो ।

सन् २०२२को अप्रिल २२ मा श्रीलंकाको विदेशी सञ्चिति–डलर रित्तिएपछि देशले टाट पल्टिएको घोषणा ग्रयो । यस्तै पाकिस्तानको पनि विदेशि विनिमय सञ्चितिको अवस्थानिकै नाजुक भैसकेको छ । पछिल्लो समयमा बंगलादेश तथा नेपालको सन्दर्भमा पनि अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब कायम नै छ । विदेशी सञ्चितिमा कमी आएपछि ती देशहरुले आयात नै कटौती गर्ने नीति अबलम्बन गरेको छन् । नेपालको सन्दर्भमा केहीसमय अघि मात्र प्रतिबन्ध गरिएका वस्तुहरुको आयात खुलेको छ ।

विदेशी सञ्चितिमा कमी आउनु र स्वदेशी म्ुद्राको क्रयशक्ति घट्दै जानुले धेरै देशको व्यापार घाटा समेत बढाइरहेको छ । सन् २०२१ मा अन्तराष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वभरका देशहरुमा रहेको विदेशी सञ्चितिको कुल हिस्सामा ६० प्रतिशत अमेरिकी डलर रहेको छ ।

सन् २००० को दशकमा विदेशी सञ्चितिमा डलरको हिस्सा ७० प्रतिशत रहेको थियो । दुई दशकमै डलरको सञ्चिति ६० प्रतिशतमा झरे पनि अन्तराष्ट्रिय व्यापारको मुद्रामा डलर अझ अब्बल बन्दै गएको छ । डलरको सञ्चितिको हिस्सा घट्नु कारण भने सुनमा लगानी, चिनिया यूवान, जापानी यन तथा यूरोको प्रयोग बढ्नु हो ।

तथापि डलरसँग प्रतिष्पर्धा गर्नका लागि चीन, रुस र इरान लगायतका देशहरुले आफ्नै मुद्राको प्रयोग गर्दै आएका छन् । चीनले आफ्नो व्यापारिक सम्बन्ध भएका ३० भन्दा धेरै राष्ट्रहरुमा करेन्सी स्वापको प्रणाली लागु गरेको छ । यसका साथै चीनले ती देशहरुमा क्रस–बोर्डर इन्टरबैंक पेमेन्ट प्रणालीको विकास गरी चिनियाँ युवान मै कारोबार गरिरहेको छ ।

यस्तै रुस–युक्रेन युद्धका कारण रुसमा अमेरिका, बेलायत, युरोपियन युनियन लगायतका देशहरुले अनेकन वित्तीय तथा आर्थिक प्रतिबन्धहरु लगाएका छन् । अमेरिकाले रुसी बैंकहरुमा रहेको डलर जफत गरेको छ । जसको प्रतिरोध गर्दै रुसले आफ्नो व्यापारिक सम्बन्ध भएका देशहरुमा रुसी मुद्रा रुबल मै कारोबार गर्न आदेश दिएको छ । रुसले विशेषतः पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, स्टील, आल्मुनियम लगायतका विभिन्न किसिमका धातु र खाद्यान्नको निर्यात गर्दै आएको छ । हाल रुसबाट वस्तुको आयात तथा निर्यात गरिरहेका देशहरुले रुसी रुबल मै कारोबार गरिरहेका छन् । जसकारण रुसी रुबल अनेकन प्रतिबन्धका बावजुद अन्तराष्ट्रिय बजारमा बलियो प्रर्दशन गर्दै आएको छ ।

यस्तै सन् १९७९ देखि अमेरिकाले इरानमा विभिन्न प्रतिबन्धहरु लगाउँदै आएको छ । जसको प्रतिरोधमा इरानले युवान र युरोमा अन्तराष्ट्रिय व्यापारिक कारोबार अघि बढाएको छ । अमेरिकाले प्रतिबन्ध लगाएको अर्को राष्ट्र भेनेजुवलाले पनि अमेरिकी डलरको सट्टामा ‘पेट्रो’को प्रयोग गर्दै आएको छ ।

यसका साथै युरोपियन युनियन अन्तर्गतका २७ राष्ट्रहरुमा युरो मुद्राका रुपमा चलनमा रहेको छ । यी २७ राष्ट्रहरुले युरोमा कारोबार गरिरहेका छन् । युरोप भर युरो मै कारोबार हुने गरेको छ । जसकारण डलरभन्दा युरो विनिमय दर धेरै छ । ब्राजिलको मुद्रा रियल र अर्जेन्टीनाको मुद्रा पेसोलाई प्रतिस्थापन गर्न ‘सुर’ नामक नयाँ साझा मुद्राको विकास गर्ने गरी छलफल गरिरहेको जर्मन अनलाइन पोर्टल डीडब्लु डटकमले जनाएको छ ।

अन्तराष्ट्रिय व्यापारमा डलरको हिस्सा ८८ प्रतिशत रहेको छ । यति ठूलो हिस्सा ओगटेको डलरलाई प्रतिस्थापन गर्न सजिलो नभएको विश्वभरका अर्थशास्त्रीहरुले आलोचना गर्दै आएका छन् । तथापि चीन, भारत, रुस लगायतका राष्ट्रहरु अन्तराष्ट्रिय ब्यापारका लागि डलरलाई प्रतिस्थापन गर्ने मुद्राको विकासको खोजीमा निरन्तर लागि रहेका छन ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।