मोती दुगडको विवेक अटोमोबाइल्स कर्जा सूचना केन्द्रको कालोसूचीमा


एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सस प्रालि कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको छ । विपन्न वर्ग कर्जा अन्तर्गत विवेक अटोमोबाइल्ससले ग्यारेन्टी बसेर बिक्री गरेका सवारी साधनको कर्जा चुक्ता नभएपछि कालोसूचीमा परेको हो ।

सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड अध्यक्ष रहेको एमभी दुगड ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रालि हो । साथै सो अटोमोबाइल्सका कर्मचारी पनि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरेको भन्दै यसअघि नेपाल राष्ट्र बैंकमा उजुरी समेत परेको थियो । राष्ट्र बैंकको अनुसन्धान प्रतिवेदनमा समेत उक्त विषय समेटिएको छ ।

व्यवसायिक घराना एमभी दुगड गु्रपका अध्यक्ष समेत रहेका मोतिलाल दुगडले बैंकको विपन्नवर्ग कर्जा तथा हायर पर्चेज कर्जामा बैंकलाई आफ्नो व्यवसाय अनुकुल प्रयोग गरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष दुगडले आफ्नै घरायसी कम्पनी विवेक अटोमोवाइल र दुगड ब्रदर्स एण्ड सन्स मार्फत अटोमोवाइल व्यवसाय गर्दै आएका छन् ।

विवेक अटोमोबाइल्सले सवारी साधन बिक्री गर्दा खरिदकर्ताको पक्षबाट फाइनान्सिङ गर्न संस्था खोजिदिने तथा आफैं जमानी बसिदिने गर्दै आएको छ । सोही अनुसार अटोमोबाइल्सले बिक्री गरेका सवारी साधनको ऋण चुक्ता नभएपछि बैंक वित्तीय संस्थाहरुले ऋणी सहित जमानीकर्ताहरुलाई पनि कालोसूचीमा राखेका हुन् । कर्जा सूचना केन्द्रका अनुसार २०७९ माघ २३ गते बैंक वित्तीय संस्थाको आग्रहमा विवेक अटोमोबाइल्सलाई कालोसूचीमा राखिएको हो । सो सम्बन्धि विबरण भने कर्जा सूचना केन्द्रको वेबसाइटमा अद्यावधिक गरिएको छैन । नोटबजारलाई प्राप्त जानकारी अनुसार विवेक अटोमोबाइल्सको कालोसूची नम्बर ५६१०८, ५६११३ र ५६११५ हो । तर उल्लेखित कालोसूची नम्बरहरु कर्जा सूचना केन्द्रको कालोसूची विबरणमा ‘स्कीप’ गरिएको छ ।

एमभी दुगड सुमह अन्तर्गतका दुगड ब्रदर्स एण्ड सन्स र विवेक अटोमाबाइल्स प्रालि ट्याक्टर, निर्माण साधान, चार पाङग्रे, तीन पाङग्रे र २ पाङग्रे सवारी साधानको आधिकारिक बिक्रेता हुन् । दुगड ब्रदर्स एण्ड सन्स प्रालि चार पाङग्रे सहित दुई पाङग्रे अप्रिला र भेस्पालगायतको पनि आधिकारिक बिक्रेता हो । त्यसैगरी विवेक अटोमोबाइल्स्स जोन डियरका ट्याक्टर, पियाजियो लगायतका सवारी साधनको आधिकारिक बिक्रेता पनि हो ।

विवेक अटोलाई सनराइज बैंकले विपन्नवर्ग कर्जा अन्तर्गत करिब ५ सय ट्याक्टरका लागि फाइनान्सिङ गरेको थियो । सो मध्ये १८० भन्दा धेरै एमभी दुगड समुह अन्तर्गतको कम्पनीको अधिकारिक बिक्रेता रहेको जोन डियरका ट्याक्टर रहेको राष्ट्र बैंकको निरिक्षण प्रतिवेदनले देखाएको छ । बैंकले विपन्न वर्ग कर्जा अन्तर्गत उक्त ट्याक्टर तथा तीन पाङग्रे पियाजियो ब्राण्डको केही अटो पनि बिक्री गरेको छ ।

बैंकको फाइनान्सिङ मार्फत बिक्री भएका जोन डियर ब्राण्डका करिब ५० ट्याक्टर र ६ पियाजियो अटोको लगानी डिफल्ट भएको थियो । सो डिफल्टमा सनराइज बैंकका अध्यक्षले आफ्नो व्यवसाय विस्तारका लागि बैंकको गलत प्रयोग गरेको केन्द्रीय बैंकको निरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।