कच्चा पदार्थ आयात गरी निर्यात हुने प्रशोधित पाम आयलमा टिकेको निर्यात


नेपालबाट धेरै मात्रामा विदेश निर्यात हुने वस्तुमा वनस्पतिजन्य तेलमा आधारित उत्पादनको हिस्सा धेरै रहेको छ । बुधबार भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक तथ्यांकले यस्तो देखाएको हो । 

विभागको तथ्यांकलाई केलाउने हो भने नेपाली मौलिक उत्पादनको निर्यातभन्दा प्रशोधन गरेर हुने निर्यात धेरै देखिएको हो । विभिन्न शिर्षकमा पाम आयलको निर्यात हुँदा धेरै निर्यात हुने वस्तुमा प्रशोधित पाम आयल परेको छ । ठुलो मात्रामा कच्चा पाम आयल आयात हुने र प्रशोधन भई विभिन्न चरणमा निर्यात हुने भएकाले यसको निर्यात नेपालको निर्यात हुने वस्तुको पहिलो स्थानमा परेको छ ।

यद्यपी विभागले सार्वजनिक गरेको तथ्यांक र तालिकाका आधारमा नै हेर्दा भने भटमासको तेल अर्थात सोयाविन आयल धेरै निर्यात भएको देखिन्छ ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिमा नेपालबाट सबैभन्दा धेरै भटमासको तेल (सोयाबिन आयल) निर्यात भएको छ । ७ महिनाको अवधिमा ८ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको ३ करोड ४ लाख १० हजार ३७७ किलो भटमासको तेल निर्यात भएको हो । सोयाबिन आयल पछि सबैभन्दा धेरै निर्यात हुने वस्तुमा प्रशोधित पाम आयल रहेको छ । ७ महिनाको अवधिमा नेपालबाट जुन ७ अर्ब ७६ करोड ६१ लाख ३२ हजार रुपैयाँको ३ करोड ७९ लाख ५१ हजार ९८२ लिटर प्रशोधित पाम आयल निर्यात भएको भन्सार विभागले जनाएको छ ।

यस्तै कार्पेट तथा गलैंचा धेरै निर्यात हुने वस्तुको तेस्रो स्थानमा रहेको छ । ६ अर्ब ४५ करोड ४५ लाख ८१ हजार रुपैयाँको २ लाख ६३ हजार ४ वर्गमिटर कार्पेट तथा गलैंचा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । यता अलौँची भने धेरै निर्यात हुने वस्तुको सूचीमा चौँथौ स्थानमा रहेको छ । यस अवधिमा ४ अर्ब ८९ करोड ७३ लाख ६८ हजार रुपैयाँको ६१ लाख १७ हजार ३८४ किलो अलौँची निर्यात भएको हो ।

प्रशोधित पाम आयल (अलग चरणको) निर्यात हुनेको पाचौँ स्थानमा रहेको छ । ४ अर्ब ३० करोड ६१ लाख ४६ हजार रुपैयाँको २ करोड ८ लाख ७५ हजार २१५ लिटर यस्तो पाम आयल निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

उल्लेखित कच्चा र प्रशोधित पाम आयलको विबरण एकीकृत गर्दा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा पाम आयल परेको हो । यो तथ्यांकलाई एकीकृत गर्दा नेपालबाट निर्यात हुने पाम आयलको रकम १२ अर्ब ७ करोडभन्दा बढी हुन आउँछ ।

नेपालमा आयात हुने वस्तुको शीर्ष ७ औं स्थानमा कच्चा पाम आयल रहेको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १७ अर्ब ७६ करोड रुपैयाँको कच्चा पाम आयल आयात भएको छ । नेपालमा उत्पादित नभई प्रशोधित पाम आयलको निर्यात भए पनि आयातभन्दा निर्यात कम भएको तथ्यांकले देखाउँछ । नेपालमा भएको प्रशोधनको लागत समेत हिसाव गर्ने हो भने पाम आयलको निर्यातको आँकडालाई सन्तोषजनक मान्न सकिन्न ।

छैठौं स्थानमा २ अर्ब ८१ करोड ९० लाख २६ हजार रुपैयाँको १० लाख ३२ हजार किलो उनेर बनाइएका सामान निर्यात भएको छ भने सातौँ स्थानमा रहेको कालो चिया २ अर्ब ५८ करोड ३४ लाख ५२ हजार रुपैयाँको निर्यात भएको छ ।

७ महिनाको अवधिमा मिश्रित जु्स २ अर्ब ३३ लाख १७ हजार ९३ रुपैयाँको निर्यात भएको छ । ढाकालगायतका बुनेका कपडा भने २ अर्ब ३० करोड ४५ लाख ४३ हजार निर्यात भएको छ । ढाका पछि निर्यात हुने वस्तुमा पोलिस्टर धेरै भएको धागो रहेको छ, जुन २ अर्ब २४ करोड २६ लाख ५६ हजार रुपैयाँको निर्यात भएको छ । कम पोलिस्टरयुक्त धागो पनि २ अर्ब १५ करोड ७२ लाख ८६ हजारको निर्यात भएको छ ।

स्काफ, मफलर लगायतका वस्तु भने १ अर्ब ९४ करोड ६५ लाख ९९ हजारको निर्यात भएको छ । यस्तै ७ महिनाको अवधिमा १ अर्ब ९१ करोड ३ लाख ८६ हजार रुपैयाँको फलाम स्टिल जस्ता वस्तुहरु निर्यात भएको छ ।

यस्तै १ अर्ब ८५ करोड ४४ लाख ५१ हजार रुपैयाँको पुन प्रशोधित पाम आयल पनि निर्यात भएको छ भने १ अर्ब ६५ करोड ७५ लाख ४७ हजार रुपैयाँको कुकुर तथा बिरालोको खानेकुरा निर्यात भएको छ ।

नेपालबाट धेरै निर्यात हुने वस्तुको सूची (रकम हजारमा):

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।