पेट्रोलियम पदार्थको आयातमै बाहिरिन्छ साढे १८ प्रतिशतभन्दा धेरै रकम


मुलुकको कुल आयातको १७ प्रतिशतभन्दा धेरै हिस्सा डिजेल, पेट्रोल र ग्यासको आयातमा भएको छ । जलविद्युतको उत्पादन बढ्दै गइरहेका बेला त्यसको खपत बढाउँदै पेट्रोलियम आयातलाई कम गर्दै लैजाने योजना सरकारको भए पनि इन्धन आयातमै डेढ खर्ब बढी खर्च भएको हो ।

बुधबार भन्सार विभागले सार्वजनिक गरेको ७ महिनाको व्यापारको तथ्यांकले डिजेल, पेट्रोल र ग्यासको आयात कुल आयातको १७.०४ प्रतिशत रहेको देखाएको हो । जस अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ महिनाको ७ महिनामा ८४ अर्ब ६१ करोड ६४ लाख १७ हजार रुपैयाँको ६ लाख लाख ७९ हजार ८०२ किलोलिटर डिजेल आयात भएको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै आयात भएको वस्तु पनि डिजेल नै हो ।

त्यसैगरि धेरै आयात भएको दोस्रो स्थानमा रहेको पेट्रोलको खरिदमा ३८ अर्ब ७३ करोड ३३ लाख १६ हजार बराबर स्वदेशी मुद्रा बाहिरिएको छ । उक्त अवधिमा ३ लाख ८७ हजार ६५१ किलोलिटर पेट्रोल आयात भएको छ ।

अधिक आयात हुने वस्तुको तेस्रो स्थानमा रहेको खाना पकाउने ग्यासमा पनि ३३ अर्ब ३४ करोड २९ लाख ३२ हजार रुपैयाँ विदेशिएको छ । उक्त रकम खर्चिएर २९ करोड ३९ लाख २२ हजार १७६ किलो ग्यास आयात गरिएको छ ।

उल्लेखित डिजेल, पेट्रोल र ग्यासको आयातमा मात्र कुल १ खर्ब ५६ अर्ब ६९ करोड २६ लाख ६५ हजार रुपैयाँ स्वदेशी रकम विदेशमा खर्च भएको हो ।
७ महिनाको अवधिमा नेपालले गरेको कुल आयात रकम ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख ४८ हजार रुपैयाँ हो । कुल आयातमा डिजेल, पेट्रोल र ग्यास आयातको हिस्सा १७.०४ प्रतिशत देखिएको हो ।

अझ हवाई इन्धन र मट्टीतेलको विबरण पनि थप गर्दा यो प्रतिशत १८.५१ हुन आउँछ । ७ महिनाको अवधिमा १२ अर्ब ९७ करोड ६० लाख १४ हजार रुपैयाँको हवाई इन्धन र ७८ करोड १० लाख ४१ हजार रुपैयाँको मट्टीतेल आयात भएको छ ।

उक्त अवधिमा डिजेल, पेट्रोल, ग्यास, हवाई इन्धन र मट्टीतेलको आयातमा १ खर्ब ७० अर्ब १८ करोड १० लाख १९ हजार रुपैयाँ खर्च भएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।