माथिल्लो तामाकोशीले ऋण तिर्न र रोल्वालिङ आयोजना बनाउन माग्यो हकप्रद बिक्री अनुमति

0
Shares

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता विस्तार गर्न र अल्पकालीन ऋणको भार कम गर्न कम्पनीले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद बिक्री गर्ने भएको छ ।

कम्पनीले हकप्रद बिक्रीका लागि फागुन ८ गते बिहीबार पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले विद्यमान कायम रहेका सेयरधनी लागि प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ अंकित दरमा १० करोड ५९ लाख कित्ता सेयर जारी गर्न अनुमति माग गरेको हो ।

कम्पनीले सो हकप्रद सेयर निष्कासन गर्ने सन्दर्भमा २०७९ भदौ ३ गते सम्पन्न भएको १४ औं वार्षिक साधारण सभाबाट समेत १० अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद बिक्री गर्ने प्रस्ताव अनुमोदन गराइसकेको छ । यस्तै नियामक निकाय नेपाल विद्युत नियमन आयोगले पनि कम्पनीलाई १० करोड ५९ लाख कित्ता हकप्रद बेच्न फागुन १६ गते अनुमति दिइसकेको छ ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको तामाकोसी निर्माण गर्ने अवधारणा बन्दै गर्दा रोल्वालिङ खोलालाई फर्काएर तामाकोसीको जलाशयमा पानी थप्ने योजना थियो । सो योजनालाई थप परिष्कृत गर्दै २०.६६ मेगावाटको रोल्वालिङ आयोजना बनाउने र त्यसपछि पानी जलाशयमा पुर्याउने योजना कम्पनीको छ । यसका लागि लाग्ने ८ अर्ब रुपैयाँ खर्च जुटाउन कम्पनीले हकप्रद जारी गर्न लागेको हो । हकप्रद जारी भएपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोडबाट दोब्बर भएर २१ अर्ब १८ करोड पुग्ने छ ।

नियन्त्रण बाहिरको परिस्थिति उत्पन्न भई निर्माण अवधि बढेर ऋणको भार बढी ऋण र पुँजीको अनुपात कायम हुन नसकेकाले पुँजी वृद्धिको लागि कम्पनीले हकप्रद सेयर बिक्रीबट पुँजी संकलन गर्न लागेको हो । रोल्वालिङ ड्राइभर्सन, रोल्वालिङ खोला जलविद्युत आयोजनाहरुको निर्माण र माथिल्लो तामाकोशी आयोजनाको लागि अपुग रकम अल्पकालिन ऋण लिएर सम्पन्न गरिएको हुँदा सो ऋण चुक्ता गर्नको लागि पनि कम्पनीलाई वित्तीय व्यवस्थापन गर्न आवश्यक छ ।

अपर तामाकोशी सम्पन्न भएपश्चात दोस्रो चरणमा निर्माण गर्न योजना रहेको रोल्वालिङ खोलाको पानीलाई ७ किलोमिटर लामो सुरुङमार्फत लामाबगरस्थित तामाकोशी नदीबाट निर्मित जलासयमा मिसाई थप २०० सय गिगावाट गरी जम्मा ३०० सय गिगावट घण्टा विद्युत उत्पादन गर्ने लक्ष्य लिई सो कार्यको विस्तृत अध्ययन गरेर निर्माण गर्ने भएको छ ।

तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विद्युतगृहबाट निस्कने पानीलाई करिब ८ किलोमिटर सुरुङमार्फत ९९ सय मेगावाट क्षमताको तामाकोशी पाँचौं आयोजना निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको लक्ष्य छ । रोल्वालिङ खोलाको पानीलाई ७ किलोमिटर लामो सुरुङमार्फत लामाबगर स्थित तामाकोशी नदीबाट निर्मित जलाशयमा मिसाई थप २०० सय गिगावट गरी जम्मा ३०० सय गिगावट घण्टा विद्युत् उत्पादन हुनेछ । उक्त आयोजना साढे चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

पिकिङ रन अफ द रिभरमा आयोजित ४५६ मेगावाट क्षमताको यो आयोजनाबाट वार्षिक औसत २२८१ गिगावाट आवर बिजुली उत्पादन गर्ने लक्ष छ । राष्ट्रिय गौरवको र पूर्ण स्वदेशी लगानीको यो आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत नागरिक लगानी कोषको २ प्रतिशत राष्ट्रिय विमा संस्थानको २ प्रतिशत सेयर स्वामित्व छ ।

अपर तामाकोशीले २०७८ भदौदेखि बिजुली उत्पादन गर्दै आइरहेको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ८२ करोड ४८ लाख ४६ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । प्रतिसेयर नेटवर्थ घटेर ६२.३८ रुपैयाँमा झरेको कम्पनीको पुससम्ममा वार्षिक प्रतिसेयर आम्दानी (इपीएस) ७.७९ रुपैयाँ ऋणात्मक छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।