विद्युतीय कारोबार बढेसँगै पछिल्लो डेढ वर्षको अवधिमा कागजी नोटको प्रयोगमा ६३ अर्ब ८९ करोड २५ लाख ४६ हजार रुपैयाँले कमी आएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो डेढ वर्षको अवघिमा विस्तृत मुद्राप्रदाय ९.५४ प्रतिशतले घटेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७९ माघ मसान्तसम्ममा ६ खर्ब ६९ अर्ब ५१ करोड ३७ लाख ५८ हजार ८५४ रुपैयाँ बराबरको नोट चलन चल्तीमा रहेको छ । विसं २०७८ असार मसान्तसम्ममा ६ खर्ब ५ अर्ब ६२ करोड १२ लाख १२ हजार ७४५ रुपैयाँ बराबरको नोट चलन चल्तीमा रहेको थियो । चालु आवको ७ महिना अवधिमा ६ अर्ब ४० करोड ६३ लाख ९१ हजार रुपैयाँले घटेको छ ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले नोटभन्दा विद्युतीय कारोबारका लागि प्रोत्साहन गर्दै आएको छ । जसका लागि केन्द्रीय बैंकले अभियानकै रुपमा क्यूआर पेमेन्टलाई प्रवद्र्धन गर्दै आइरहेको छ । ठूला कारोबारको लागि रियल टाइम ग्रस सेलटमेन्ट (आरटिजीएस) को प्रयोगले कागजी नोटको उपयोगमा अझै कमी आएको हो ।
कार्डको माध्यमबाट किनमेल गर्ने प्रवृत्ति बढेको छ । सोही कारण पनि कागजी नोटको प्रयोगमा कमी आइरहेको हो । बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, वालेट बैंकिङ, डेबिट, भिसा तथा क्रेडिट लगायतका कार्डको प्रयोगलाई प्राथमिकता दिएका छन् ।
केन्द्रीय बैंकले कमभन्दा कम नगद प्रयोगको नीति लिन थालेपछि बैंक तथा वित्तीय संस्थाले पनि नोटको कारोबार भन्दा विद्युतीय कारोबारलाई प्राथमिकता दिने गरेका छन् । विद्युतीय कारोबार गर्दा साथमा नगद बोक्न नपर्ने भएपछि कागजी नोटको प्रयोग कम हुन थालेको हो ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा भएको भन्दा बाहेकको पैसालाई चलन चल्तीमा रहेको नोटको रुपमा गणना गर्ने गरिन्छ । अन्य समयको तुलनामा यस्तो रकम दशैं तिहार जस्ता चाडपर्वहरुको समयमा बढ्ने गर्दछ भने चाडपर्वपछि घट्ने गरेको छ ।
नयाँ नोट छपाइ गर्न वार्षिक करिब अर्बौं रुपैयाँ खर्च हुने रउक्त रकम विदेश बाहिरिने भएकाले नोटको संरक्षण गर्न राष्ट्र बैंकले अपिल गर्दै आएको हो । नेपालीहरुले धार्मिक कार्यमा कागजी पैसा प्रयोग गर्दा धेरै रहेकाले चाडपर्वको समयमा समेत केन्द्रीय बैंकले नोटको कम र विद्युतीय कारोबार बढी प्रयोग गर्न आग्रह गर्दै आइरहेको छ । सामान्यतया १ हजार र ५०० रुपैयाँका नोटको आयु ३ वर्ष र साना दरका नोटको आयु २ वर्ष हुन्छ । नोट कति समयमा प्रणालीमै फर्कन्छ भन्ने प्रयोगकर्तामा भर पर्ने कुरा हो । प्रयोगकर्ताले प्रयोग गरेर पुराना भएका नोट बैंकिङ प्रणालीमा पुगेपछि पुनः बजारमा जाँदैन । त्यस्ता पुराना, झुत्रा र मैला नोटको संकलन गरी राष्ट्र बैंकले धुल्याएर नष्ट गर्छ ।
आर्थिक वर्ष २०७७।७८ मा ४२ लाख ८२ हजार वटा संख्यामा भएको क्यूआर कारोबार मार्फत १४ अर्ब ५२ करोड ५९ लाख रुपैयाँको कारोबार भएकोमा २०७९ पुस मसान्तसम्मको तथ्याङ्क हेर्दा क्यूआर मार्फत ५६ लाख १८ हजार वटा संख्याबाट १७ अर्ब ३ करोड १७ लाख रुपैयाँ कारोबार पुगेको छ । आर्थिक वर्ष २०७७।७८ को वर्ष दिनभरिको तथा आव २०७९।८० को तथ्याङ्कको तुलनामा हेर्दा कतिपय तथ्याङ्कमा ६ महिनाको तथ्याङ्क नै उक्त एक वर्षको हाराहारीमा नै बढेको देखिन्छ ।
चालु आर्थिक वर्ष २०७९।८० को पुस मसान्तसम्म नेपालमा कनेक्ट आईपीएस मार्फत ४३ लाख २० हजार वटा संख्याबाट ३ खर्ब ४३ अर्ब ३१ करोड रुपैयाँ तथा २४ लाख ५९ हजार वटा संख्याको आईपीएस मार्फत १ खर्ब ७८१ अर्ब ४८ लाख रुपैयाँ कारोबार भएको थियो । सो समयमा ६८ हजार ७७४ वटा संख्याको आरटिजीएस कारोबारबाट २७ खर्ब १५ करोड ११ लाख रुपैयाँ, इन्टरनेट बैंकिङ्ग मार्फत २ लाख ३४ हजार वटा संख्याबाट १२ अर्ब २९ करोड १० लाख रुपैयाँ र मोबाइल बैंकिङ्ग कारोबार मार्फत २ करोड १६ लाख ४५ हजार वटा संख्याबाट १ खर्ब ६७ अर्ब ८० करोड ६९ लाख रुपैयाँको कारोबार भएको थियो ।
यस्तै डेबिट कार्ड बोक्नेको संख्या १ करोड ४ लाख ६९ लाख र क्रेडिट कार्ड बोक्नेको संख्या २ लाख ३६ हजार ५७० वटा पुगिसेकेको छ । यस अवधिमा डेबिट कार्डबाट ८१ अर्ब ४२ करोड १२ लाख तथा क्रेडिट कार्डबाट १ अर्ब ५३ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।
आर्थिक वर्ष २०७७।७८ को असार मसान्तसम्ममा नेपालमा कनेक्ट आईपीएस मार्फत उक्त वर्ष ४२ लाख ७० हजार वटा संख्याबाट ३ खर्ब ६९ अर्ब २२ करोड रुपैयाँ तथा १३ लाख २२ हजार वटा संख्याको आईपीएस मार्फत २ खर्ब ७५ अर्ब ७५ करोड रुपैयाँ कारोबार भएको थियो । एक वर्षमा सो समयमा ८१ हजार ८१७ वटा संख्याको आरटिजीएस कारोबारबाट ४३ खर्ब ४९ अर्ब ५ करोड रुपैयाँ, इन्टरनेट बैंकिङ्ग मार्फत ३ लाख १८ हजार वटा संख्याबाट १५ अर्ब ६३ करोड रुपैयाँ र २ करोड ५ लाख ६४ हजार वटा संख्याको मोबाइल बैंकिङ्ग कारोबार मार्फत १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको थियो ।
सो समयमा डेबिट कार्ड बोक्नेको संख्या १ करोड ११ लाख २७ हजार र कारोबार ८३ अर्ब २० करोड तथा क्रेडिट कार्ड बोक्नेको संख्या २ लाख २७ हजार पुग्दा कारोबार १ अर्ब ४९ करोड थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया