धितोपत्रमा विवेकशील भई लगानी गर्न बोर्डको आग्रह, सामाजिक सञ्जालबाट लगानी निर्णय नलिन सुझाव

0
Shares

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा विवेकशील भई लगानी गर्न आग्रह गरेको छ ।  विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक २०२३) को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने युवा तथा सर्वसाधारण लगानीकर्ताका लागि बोर्डले २० बुँदामा मुख्य सन्देश जारी गर्दै सो आग्रह गरेको हो ।

धितोपत्र बजार सम्बन्धमा सामाजिक सञ्जाल (जस्तै फेसबुक, क्लबहाउस, युटयूब तथा टिकटक आदि) मार्फत प्रकासन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारीक नहुने भएकोले ती अनुमान, प्रक्षेपण, विचार र परामर्शको आधारमा मात्र लगानी सम्बन्धी निर्णय नलिन बोर्डले लगानीकर्ताहरुलाई आग्रह गरेको छ ।

यसैगरी नयाँ–नयाँ प्रविधि प्रयोग गरी हुने कारोबार सम्बन्धमा सचेत रहन, धितोपत्र बजारमा समय समयमा उतार–चढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा यथार्थ र उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भई लगानी सम्बन्धी निर्णय लिन पनि बोर्डले आग्रह गरेको छ ।

धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुबै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नपरी बजार तथा कम्पनीको वित्तीय विवरण लगायतका जानकारी लिई आफ्नो स्वविवेकमा जोखिम बहन गर्ने क्षमता अनुसार लगानी उपकरण छनौट गरी लगानी निर्णय लिन बोर्डको अनुरोध छ ।

बोर्डले दिएको सन्देशमा धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनितिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग हुन, मुद्रास्फिति, तरलता तथा व्याजदरले प्रत्यक्ष असर गर्ने हुनाले लगानी गर्दा यस्ता विषयलाई मनन् गरी लगानी सम्बन्धी निर्णय लिन भनिएको छ । साथै धितोपत्रको लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न लगानी विविधिकरणमा ध्यान दिन, दीर्घकालीन, नियमित तथा विविधीकृत लगानीका फाइदा सम्बन्धमा जानकारी राख्न, आवश्यक वा अपेक्षित प्रतिफल दर निर्धारण गरेर लगानी गर्न बोर्डले सजग गराएको छ ।

धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनहरु सम्बन्धी आधिकारीक जानकारीका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्न तथा धितोपत्रमा लगानी सम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचीकृत कम्पनी, सिडिएससी, नेप्से वा बोर्डमा सम्पर्क राख्न समेत बोर्डले भनेको छ ।

धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा बोर्डबाट अनुमतिपत्र प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) मार्फत मात्र कारोबार गर्न र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नियमित रुपमा प्रशिक्षण तथा सचेतना मूलक कार्यक्रम तथा प्रकाशन मार्फत सञ्चालन गर्दै आएकोमा त्यस्तो कार्यक्रममा सक्रिय सहभागी भई बजार तथा लगानी सम्बन्धी आवश्यक ज्ञान हासिल गर्न सकिने बोर्डको भनाई छ ।

धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारिक वा प्रमाणित रुपमा जारी गरेको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु, धितोपत्रको मूल्य प्रवृत्ति, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) र कम्पनीसँग सम्बन्धित उद्योग क्षेत्रको अवस्था आदि जस्ता महत्वपूर्ण पक्षहरुको अध्ययन गर्न आवश्यक हुने बोर्डले औंल्याएको छ ।

प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्काशनकर्ता कम्पनीको आह्वानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङ्गस्तर जस्ता महत्वपूर्ण पक्षहरुको विश्लेषण गर्न बोर्डले लगानीकताृहरुलाई सुझाव दिएको छ ।

धितोपत्र कारोबार वापत धितोपत्र दलालले लिने शुल्क सम्बन्धमा रहेको कानुनी व्यवस्थाको जानकारी लिन, दुई दिनको राफसाफको चक्रबारे जानकारी राख्न र धितोपत्र कारोबार गर्दा बैंक मार्फत मात्र रकमको लेनदेन गर्नुपर्ने लगायतका विषयहरुमा बोर्डले सुझाव दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।