दुई दशकमा घरजग्गामा महिलाको स्वामित्व ११.८ प्रतिशतले बढ्यो


दुइ दशकमा घरजग्गामा महिलाको स्वामित्व ११ दशमलव ८ प्रतिशतले बढेको छ ।

राष्ट्रिय जनगणना २०५८ अनुसार नेपालमा करिब १२ प्रतिशत परिवारका महिलाको नाममा घर वा जग्गाको स्वामित्व रहेकोमा राष्ट्रिय जनगणना २०७८ मा घर, जग्गा वा घरजग्गा दुवैमा महिलाको स्वामित्व रहने परिवार संख्या २३ दशमलव ८ प्रतिशत पुगेको छ । यो संख्या २०६८ को जनगणनामा १९ दशमलव ७१ प्रतिशत थियो ।

राज्यले विभिन्न किसिमका छुट दिइरहँदा पनि २० वर्षको अन्तरालमा जग्गा वा घरमा महिलाको स्वामित्व ११ दशमलव ८ प्रतिशतले मात्र बढेको हो । सरकारले महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजस्व छुट दिइरहेको छ तर पनि एक चौथाइ महिलासँग पनि घर वा जग्गाको स्वामित्व नभएको पाइएको हो ।

राष्ट्रिय जनगणना २०५८ र २०६८ को तुलनामा घर वा जग्गामा महिलाको स्वामित्व केही बढेको देखिए पनि यो पुरुषको तुलनामा अझै धेरै कम हो । सरकारले जग्गामा महिलाको स्वामित्व बढाउन जग्गा पास गर्दा लाग्ने राजस्वमा छुट दिएपनि पुरुषसरह जग्गामा महिलाको स्वामित्व बढ्न सकेको छैन।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल ६६ लाख ६६ हजार ९३७ परिवार छ । ६६ लाख परिवारमध्ये १ लाख ५६ हजार ३७६ परिवारमा मात्र महिलामा घरको स्वामित्व रहेको छ । यो कुल परिवारको २ दशमलव ३ प्रतिशत हो । यो तथ्यांकले अझै पनि महिला र पुरुष समान हुन नसकेको देखाउँछ ।

यस्तै ६ लाख ४३ हजार ६७५ परिवारमा घर र जग्गा दुवैको स्वामित्व महिलामा रहेको छ । यो कुल परिवारको ९ दशमलव ७ प्रतिशत हो । यस्तै ७ लाख ८८ हजार ९१७ परिवारमा जग्गाको स्वामित्व महिलामा छ । यो कुल परिवारको ११ दशमलव ८ प्रतिशत हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १५ लाख ८८ हजार ९६७ महिलाको स्वामित्व घर जग्गा वा जग्गा दुवैमा स्वामित्व रहेको छ । यो कुल परिवारको २३ दशमलव ८ प्रतिशत हो ।

यो तथ्यांकले ७४ दशमलव ६ प्रतिशत परिवारमा घर र जग्गा दुवैमा महिलाको स्वामित्व नभएको पाइएको छ । नेपालको पहिलो लिखित कानून वि.सं. १९१० को मुलुकी ऐनले सर्तसहित सम्पत्तिमा महिला अधिकार कायम गरेको थियो । प्रजातन्त्रको पुनःस्थापनापछि मुलुकी ऐनको १२ औँ संशोधन (२०५९) मा छोरीलाई पैतृक सम्पत्तिमा समान अधिकार प्रदान गरेको थियो । तर पनि नेपालमा जग्गाको स्वामित्व बढ्न सकेको छैन ।

जनगणना २०७८ अनुसार नेपालको जनगणना २ करोड ९१ लाख ६४ हजार ५७८ छ । जसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ छ भने महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । तथ्यांक अनुसार पुरुषको तुलनामा महिलाको संख्या २ दशमलव २ प्रतिशतले बढी छ । तर पनि महिलाको घर जग्गामा स्वामित्व नहुनुले अझै महिलामा शिक्षा र अग्रसरताको कमी भएको देखाउँछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।