अर्थमन्त्रीको सक्रियताले पनि उकासेन सेयर बजारका लगानीकर्ताको मनोबल

0
Shares

अर्थमन्त्री डा. प्रकाशरण महतको पुँजी बजारमा सुधार ल्याउने सक्रियताको बाबजुत सोमबार धितोपत्र बजारका लगानीकर्ताको मनोबलमा सुधार देखिएन । 

अर्थमन्त्रीले सोमबार बिहान नेपाल उद्योग वाणिज्य महासंघ, पुँजी बजार फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल सहित ब्रोकर संघ, मर्चेन्ट बैंकर तथा लगानीकर्ताका संघका प्रतिनिधि सहितका सेयर बजारका प्रतिनिधिमण्डल, पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल बैंकर्स संघसँग छलफल गरी तरलता र सेयर बजारका लगानीकर्ताको मनोबल बढाउने विषयमा छलफल अगाडि बढाएपनि बजारले भने उनको सक्रियताको बाबजुत उल्टो असर देखाएको छ ।

अर्थमन्त्री महतसँगको भेटमा लगानीकर्ताको समुहले सेयर बजार सुधारका लागि तत्काल गर्नुपर्ने ८ बुँदे र क्रमिक रुपमा गनुपर्ने ८१ बुँदा गरी कुल ८९ बुँदे सुझाव पेश गरेका थिए । जसमा मार्जिन ऋणमा लागू १२ करोडको सीमा हटाउनुपर्ने, सेययरमा रहेको जोखिम भार १५० बाट १०० प्रतिशतमा झार्नुपर्ने, कुल कर्जा लगानीको १० प्रतिशत धितो कर्जामा दिन पाउने व्यवस्था गर्नुपर्ने, स्वदेशी संस्थागत र वैदेशिक रणनीतिक साझेदार ल्याउने र सेवालाई अझ प्रतिस्पर्धी बनाउनुपर्ने लगायतका सुझाव दिएका छन् । पौडेलको नेतृत्वमा गएको टोलीसँग छलफल गर्दै अर्थमन्त्री महतले सेयर बजार सुधार, विकास र विस्तारको लागि काम प्रतिबद्धता जनाउँदै लगानीकर्ताको मनोबल उकास्नेगरी आफूले काम गर्ने बताएका थिए ।

अर्थमन्त्री महतले आजै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई केही दिनभित्रै पुँजीबजारको सुधारका लागि ठोस योजना बनाउन निर्देशन दिएका छन् । भेटवार्तामा उनले सकारात्मक नतिजा निकाल्ने गरी अघि बढ्न अध्यक्ष निर्देशन दिए ।  साथै सोमबार नै अर्थमत्रन्त्री महतले नेपाल बैंकर्स संघका पदाधिकारीसँग भेटवार्ता गरे । भेटमा पछिल्लो समय उठेको ब्याजदर लगायत तत्कालीन समस्याका विषय र समसामयिक विषयवस्तुमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको थियाे । लगातारकाे छलफलकाे सकारात्मक असर पुँजी बजारमा भने पर्न सकेन ।

लामो समयदेखि निरन्तर घट्दै गएको सेयर बजार अर्थमन्त्री नियुक्त हुनुअघि केही बढेको भएपनि उनको नियुक्तपछि भने निरन्तर घटिरहेको छ । अर्थमन्त्रीले बजारका सेयरबजार नियामकीय निकाय, लगानीकर्ता संघ संस्था प्रतिनिधिहरु र बैंकर्स संघका प्रतिनिधिहरुसँग गरेको भेटवार्ताले समग्र अर्थतन्त्रसँगै पुँजी बजारमा समेत सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको थियो ।

अर्थमन्त्रीले पुँजी बजारका विकास र विस्तारको लागि आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाएकै दिन सेयर बजार दोहोरो अंकले घट्नु र कारोबार रकम पनि एक अर्बभन्दा थोरैमा समेटिनुले अर्थमन्त्रीको पहलकदमीले बजारका लगानीकर्ताहरुको मनोबलमा आशातिर असर गर्न नसकेको रुपमा बुझ्न सकिन्छ ।

अर्थमन्त्री महत पुँजी बजार बजारप्रति सुरुवाती दिनदेखि नै सकारात्मक देखिँदा पनि सोमबार बिहानैदेखि सेयर बजार ओरालोको ओरालोमा नै बन्द भएको छ । बजार बन्द हुँदा समेत दिनको न्यूनतम बिन्दुभन्दा केही माथि मात्र बन्द हुनुले पनि अहिलेको बजारमा लगानीकर्ताले लगानी वृद्धि गर्न नचाहेको देखिन्छ । यद्यपी उनले सेयर बजारका प्रतिनिभिसँग भेटमा पुँजी बजारको विकास र विस्ताका लागि आफूले प्रतिबद्धता व्यक्त गरेकाले उनले आगामी दिनमा नीतिगत र व्यवहारगत सुधार गर्ने आंकलन गर्न सकिन्छ । उनको पहलकदमीको असर आगामी दिनमा देखिँदा बजारले सकारात्मक मोड लिनसक्ने ठाउँ रहेपनि तत्कालीन कामबाटै भने लगानीकर्ता सकारात्मक हुन नसकेका हुन् ।

बिहान खुलेदेखि नै ओरालो लागेको सोमबार बजार सूचक नेप्से १६.६७ अंकले घटेर १८७१.६७ बिन्दुमा झरेको बन्द भएको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ३.०५ अंकले घटेर ३५२.७१ बिन्दुमा झरेको छ । आज कारोबारमा आएका १३ वटा उपसमुहगत सूचकमध्ये ब्यापार बाहेक १२ वटै ऋणात्मक भएका छन् । ब्यापार सूचक १.२१ प्रतिशतले बढेर २१०१ दशमलव ५१ बिन्दुमा पुगेको छ । जलविद्युत सर्वाधिक १.३० प्रतिशत घटेर २४७९ दशमलव ८६ बिन्दुमा झरेको छ । यस्तै आजको बजारमा  निर्जीवन बीमा १.१९, लघुवित्त १.१६, उत्पादन तथा प्रशोधनमुलक १.०४, लगानी १.०२, विकास बैंक १ प्रतिशत, म्युचुअल फन्ड ०.९०, फाइनान्स ०.७९, बैंकिङ्ग ०.७५ प्रतिशत, होटल ०.५६, अन्य ०.५६ र जीवन बीमाको इन्डेक्स ०.५१ प्रतिशतले घटेको छ ।

यसैगरी आजको बजारमा २६० कम्पनीका २८ लाख २९ हजार ४२६ कित्ता सेयर ९२ करोड २ लाख ४९ हजार ११ रुपैयाँमा खरिद बिक्री भएका छन् । आजको बजारमा नबिल बैंकको सबैभन्दा धेरै ३ करोड ६२ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै एनआईसी एशिया बैंकको २ करोड ९३ लाख, ग्लोबल आईएमई बैंकको २ करोड ५३ लाख, हिमालयन डिष्टिलरीको २ करो १७ लाख र अपि पावरको २ करोड ६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

सोमबार कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर २३४ रुपैयाँ ४० पैसा पुगेको छ । यस्तै महुली लघुवित्तको ३.१६ प्रतिशत, बिशाल बजार कम्पनीको २.५०, एनआईसी एशिया ग्रोथ फन्डको २.४८ प्रतिशत र एसबिएल डिबेञ्चर २०८४ को २ प्रतिशतले बढेको छ ।
यता प्रभु बैंक डिबेञ्चरको मूल्य १० प्रतिशतले घटेर ८१३ रुपैयाँ ६० पैसामा झरेको छ । यस्तै एशियन हाइड्रोपावरको ५.०३, मायाखोला हाइड्रोपावरको ४.८१, जाल्पा सामुदायिक लघुवित्तको ४.४७ र सामुदायिक लघुवित्तको सेयरमूल्य ४.३० प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।