बैंक र व्यवसायी एकअर्काका परिपूरक, अर्थतन्त्र सुधारका लागि संरचनागत परिवर्तनको आवश्यकता

0
Shares

नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल बैंकर्स संघबीच बुधबार संघको सचिवालयमा बैंकिङ र व्यवसायिक क्षेत्रका चासोका विषयमा छलफल भएको छ ।

सो अवसरमा निकासी पैठारी संघका अध्यक्ष विनोदकुमार सेठियाले बैंक र व्यवसायी एकअर्काका परिपूरक भएको बताउँदै सोही अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

अध्यक्ष सेठियाले व्यवसायीका चासोका विषयहरु राखेका थिए । उनले कतिपय बैंकहरुले बढी लिएको ब्याज अझसम्म फिर्ता नगरेको गुनासो गरे । उनले चालुपुँजी कर्जाका व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्न पनि बैंकर्स संघलाई आग्रह गरे ।

कार्यक्रमका सहभागीले बैंक चार्जका विषय पनि उठाएका थिए । ठूला व्यवसायीले सौदावाजी गरेर कुनै चार्ज नतिर्ने तर सौदावाजी गर्न नसक्ने मझौला र साना व्यवसायीले भने चार्ज तिरिरहेको व्यवसायीको गुनासो छ ।

अध्यक्ष सेठियाले भारतीय मुद्रामा व्यापार बढाउनुपर्ने आवश्यकता औंल्याउँदै बैंक ग्यारेन्टीको मिति तोक्नुपर्नेमा पनि जोड दिए । चालुपुँजी कर्जा मार्गदर्शनले व्यापार व्यवसायका आकारअनुसार फरक प्रावधान राखे पनि बैंकहरुले सबैलाई एउटै भन्ने गरेको गुनासो व्यवसायीबाट आइरहेको पनि सो अवसरमा बैंकर्स संघका अध्यक्षलाई जानकारी गराए।

सो अवसरमा व्यवसायीले मार्जिन कल, कोल्याटरल, चेक बाउन्स, कालोसूची, एलसी कमिसनलगायतका विषय उठाएका थिए । कार्यक्रममा बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले आर्थिक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्थाबारे प्रस्तुति दिएका थिए ।

बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपाली अर्थतन्त्रको संरचनागत समस्याले गर्दा एकातिर सुधार्न खोज्दा अर्कोतिर बिग्रने स्थिति रहेको भन्दै संरचनागत परिवर्तनको आवश्यकता औंल्याए । अहिलेको अवस्थामा तत्कालै ब्याजदर घट्न सक्ने सम्भावना नरहे पनि स्प्रेड रेटका कारण थोरै घट्न सक्ने बताए ।

तरलताको समस्या समाधान हुन प्रत्यक्ष विदेशी लगानी आउनुपर्ने बताउँदै कर्पोरेट क्षेत्रले विदेशबाट रकम ल्याउन सकेको खण्डमा पनि समस्या समाधानमा बल पुग्ने अध्यक्ष केसीको भनाइ छ ।

संघको तर्फबाट सम्भव हुने विषयमा तत्काल सम्बोधनको प्रयास गरिने र व्यवसायीका चासोका विषयको सन्देश नियामक निकाय नेपाल राष्ट्र बैंकसम्म पु¥याउने र समाधानका लागि पहल गर्ने पनि उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।