मौद्रिक व्यवस्थापनका अल्पकालिन दरमा दबाब, बैंकिङ प्रणालीको ब्याजदर घट्ने संकेत

0
Shares

बैंकिङ प्रणालीको ब्याजदर घट्दो क्रममा जाने संकेत देखिएको छ । केन्द्रीय बैंकले मौद्रिक व्यवस्थापनका लागि प्रयोग गर्ने वित्तीय औजारहरु ट्रेजरी बिल्स, रिपो लगायतको अल्पकालिन रेटमा आएको गिरावटले ब्याजदरमा दबाब परेको हो ।

उद्योगी व्यवसायी तथा ऋणीको चर्को विरोध भएपछि बैंकहरुले चैत महिनाका लागि निक्षेपमा ०.४ र कर्जामा एक प्रतिशत प्रिमियम ब्याजदर घटाए । बैंकहरुले बाह्य दबाबका कारण ब्याजदर घटाउने निर्णय गरेको भएपनि मौद्रिक व्यवस्थापनका लागि केन्द्रीय बैंकले प्रयोग गर्ने अल्पकालिन औजारहरुको रेटमा आएको कमीले पनि ब्याजदर घटाउने संकेत गरेको स्पष्ट हुन्छ ।

बैंक तथा वित्तीय संस्थामा कर्जाको माग नहुनु तथा बजारमा आएको मागको कमीले गर्दा समग्र अर्थतन्त्र नै सुस्त भएको छ । अर्थतन्त्रमा आएको सुस्तताले ब्यापार व्यवसाय खुम्चिदै गएको अवस्था छ । त्यसले गर्दा पनि बैंक वित्तीय संस्थाले कर्जा लगानी विस्तार गर्ने अवस्था नभएपछि तरलताको अवस्था सहज हुनुका साथै कर्जा लगानी योग्य रकमको उपलब्धता समेत बढेको छ । कर्जाको माग नभएका कारणले पनि ब्याजदर घटाउन दवाव परेको बैंकहरुको भनाई छ ।

केन्द्रीय बैंकले दैनिक मौद्रिक व्यवस्थापनका लागि जारी गर्ने वित्तीय औजारको खरिद बिक्रीकर्ता पनि बैंक वित्तीय संस्था नै हुन । बैंकहरुमा लगानी योग्य रकम तथा तरलताको अवस्था कसिलो भएको अवस्थामा रिपो, ट्रेजरी जस्ता अल्पकालिन औजारहरुका रेटहरु बढ्छन भने स्रोतको अवस्था सहज हुँदा यस्ता अल्पकालिन दरहरुपनि घट्न थाल्छन् ।

पछिल्लो समयमा ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घटेर एकल अंकमा आएको छ । त्यसैगरी केन्द्रीय बैंकले छोटो अवधिका लागि बैंकिङ प्रणालीमा पैसा पठाउन प्रयोग हुने रिपोको रेटमा पनि क्रमिक रुपमा कमी आएको छ । रिपोका लागि बैंक वित्तीय संस्थाले नै अधिकतम ८ प्रतिशत मात्र अफर गरेको अवस्था छ ।

केन्द्रीय बैंकले चैत २१ गते निष्कासन गरेको ट्रेजरी बिल्सको डिस्काउन्ट रेट एकल अंकमा आएको छ । त्यतिमात्र नभई चैत १४ गते निष्कासन भएको ट्रेजरीको डिस्काउन्ट रेटको तुलनामा चैत २१ गते घटेको छ । त्यसका साथै रिपो रेट पनि क्रमिक रुपमा घटेर ७ प्रतिशतको हाराहारीमा आएको छ । जुन ब्याजदर करिडोरको माथिल्लो सीमाको नीतिगत दर (७ प्रतिशत) पनि हो ।

त्यसैगरी बैंकहरुले निक्षेपको ब्याजदर र कर्जाको प्रिमियम घटाएको कारणले चालु आवको तेस्रो त्रैमासको आधार दर पनि घट्ने निश्चित छ । चैत अन्तिमको आधार दर घटेपछि बैंशाख महिनाको ब्याजदर पनि केही घट्ने निश्चित छ । त्यसका साथै अल्पकालिन ब्याजदरमा आएको गिरावटले पनि आगामी दिनमा ब्याजदर घट्ने संकेत गरेको छ । त्यसका साथै ब्याजदरको चौतर्फि विरोध पछि नवनियुक्त अर्थमन्त्री डा. प्रकास शरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर पनि यस सन्दर्भमा निरन्तर छलफलमा रहेको मन्त्रीले नै बताएका छन् ।

अर्थतन्त्रमा सुस्तता आउनु, माग बढ्न नसक्नुको कारण बैंकिङ प्रणालीको चर्को ब्याजदर रहेको भन्दै आर्थमन्त्री महतले पत्रकारहरुसंगको भेटघाटमा भने,“ब्याजदर घटाउने विषयमा केन्द्रीय बैंकसंग निरन्तर छलफल भैरहेको छ ।” ब्याजदर घटाइ आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने मन्त्री महतका बुझाइ छ । तर, अर्थतन्त्रमा आएको सुस्तता उच्च ब्याजदरका कारणले मात्र नभई इजी मनि मेकिङ्ग बढाएको उपभोग हो । त्यसलाई नियन्त्रणका लागि सम्पत्तिको मूल्यमा करेक्सन गरेर आयात निरुत्साहित गर्ने गरी उत्पादन विस्तार गर्नुपर्ने हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।