साना तथा मझौला कम्पनीको हकप्रद सेयर ‘अक्सन’ नहुने

0
Shares

नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभए लिलाम गर्न नमिल्ने व्यवस्था गरेको छ । बोर्डले साना तथा मझौला कम्पनीको हकप्रद सेयर बाँडफाँड गर्दा दामासाहीले गर्नुपर्ने व्यवस्था गरेको हो ।

धितोपत्र बोर्डले २५ करोड रुपैयाँ सम्म चूक्ता पुँजी रहेका कम्पनीहरुलाई साना तथा मझौला कम्पनीमा वर्गिकरण गर्दै साधारण सेयर तथा हकप्रद सेयर निष्कासनको व्यवस्था गरेको छ । बोर्डले साना तथा मझौला कम्पनीको सेयर निष्कासन प्रक्रियालाई थप सहज र व्यवस्थीत बनाउन भन्दै नियमावलीको मस्यौदा समेत तयार गरेको छ ।

बोर्डले तयार गरेको मस्यौदा अनुसार जारी पुँजीको न्यूनतम ३० र अधिकत ४९ प्रतिशतसम्म साधारण सेयर जारी गर्न सक्ने व्यवस्था गरेको छ । यसरी साधारण सेयर निष्कासन गरीसकेको कम्पनीले पुँजी बढाउनका लागि हकप्रद सेयर समेत जारी गर्न पाउनेछ । कायम रहेका सेयरधनीलाई लक्षित गरी निष्कासन हुने हकप्रद सेयरका लागि आफुले पाउने भन्दा धेरैका लागि पनि आवेदन दिन सकिने व्यवस्था मस्यौदामा उल्लेख छ ।

मस्यौदा अनुसार हकप्रद निष्काशनको निर्णय गरेको पन्ध्र दिन भित्र संचालक समितिका सदस्य तथा निजका एकाघर परिवारका सदस्यहरुले लिनुपर्ने हकप्रद शेयर बराबरको रकम जम्मा गरिसकेपछि मात्र अन्य शेयरधनीका लागि दरखास्त खुल्ला गर्नुपर्नेछ । संचालक समितिका सदस्य तथा निजका एकाघर परिवारका सदस्यहरुले आफुले लिनुपर्ने हकप्रद शेयर नलिएमा वा लिन नचाहेमा सोको जानकारी आव्हानपत्रमा खुलाउनु पर्ने व्यवस्था मस्यौदामा छ ।

धितोपत्रको हकप्रद निष्काशन गर्ने संगठित संस्थाले आफ्नो साधारण सभाले हकप्रद निष्काशन गर्ने निर्णय गरेको तीस दिन भित्र हकप्रद निष्काशनको बिक्री खुल्ला गर्नुपर्नेछ । यसरी खुला भएको हकप्रद सेयरको आवेदन दिन सकिने अवधि १५ दिनको हुने मस्यौदामा उल्लेख छ ।

साना तथा मझौला कम्पनीले हकप्रद सेयर निष्कासन गरेको खण्डमा सेयरको दरखास्त दिँदा योग्य सेयरधनीले उक्त हकप्रद निष्कासनको लागि तोकिएको अनुपात भन्दा बढी संख्यामा समेत आवेदन दिन सक्नेछन् । दरखास्त परेका हकप्रद सेयरको बाँडफाँड उक्त हकप्रद निष्कासनको लागि तोकिएको अनुपात अनुसार गनुपर्नेछ ।

बाँडफाँड भएपश्चात बाँकी रहेको धितोपत्र बढी माग गर्ने योग्य सेयरधनीलाई प्राथमिकतामा राखी खण्डित सेयरमा नआउने गरी समानुपातिक रुपमा बाँडफाँड गर्नुपर्नेछ । यसरी तोकिएको अनुपात भन्दा धेरै बाँडफाँड भएपश्चात बाँकी रहन गएमा उक्त सेयर गोलाप्रथाद्धारा पुनः बाँडफाँड गर्नुपर्ने व्यवस्था मस्यौदामा छ । यसरी बाँडफाड भएको १५ दिन भित्र उक्त सेयर धितोपत्र बोर्डमा दर्ता गराउनु पर्ने व्यवस्था समेत मस्यौदामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।