सरकारले चौथो त्रैमासमा एक खर्ब ३९ अर्ब आन्तरिक ऋण उठाउने

0
Shares

सरकारले चालु आर्थिक वर्षको चौथो त्रैमासमा एक खर्ब ३८ अर्ब ७९ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सोमबार राष्ट्र बैंकले सरकारले चौथो त्रैमासमा उठाउने आन्तरिक ऋणको सूचि सार्वजनिक गरेको हो ।

पछिल्लो समयमा आर्थिक गतिविधिमा आएको सुस्तताले राजस्व संकलन भन्दा खर्च उच्च रहेको अवस्था छ । सरकारी वित्त सन्तुलनमा समस्या देखिएपछि समग्र अर्थतन्त्र नै प्रभावित हुन्छ । सरकारले विदेशी विनिमय सञ्चितिमा परेको दबाब कम गर्न आयात नियन्त्रण गर्दा राजस्व संकलनमा असर पुग्यो । त्यसले सरकारी वित्त सन्तुलनमा अस्थिरता उत्पन्न ग्रयो ।

सरकारले खर्च गर्ने स्रोत व्यवस्थापनका लागि राजस्व, बाह्य ऋण तथा अनुदान र आन्तरिक ऋणको प्रयोग गर्छ । पछिल्लो समयमा राजस्व संकलनमा देखिएको कमीले आन्तरिक ऋणलाई बढी जोड दिँदै आएको छ । पछिल्लो समयमा बैंक वित्तीय संस्थाहरुमा कर्जा लगानीको माग नभएकाले सरकारी ऋणपत्रमा लगानी बढेको छ ।

तर, ट्रेजरीको डिस्काउन्ट रेट भने आसा गरेअनुसार घटेको छैन । त्यसले गर्दा पनि सरकारलाई आन्तरिक ऋण महंगो पर्दै आएको छ । बैंक वित्तीय संस्थाले कर्जा लगानी गर्न नपाएपछि स्थायी तरलता सुविधा सस्तो दरमा लिने र दोहोरो अंकको डिस्काउन्ट रेटमा सरकारी ऋणपत्रमा लगानी गर्ने गरेका थिए ।

पछिल्लो समयमा भने दोहोरो अंकको डिस्काउन्ट रेट घट्दो क्रममा देखिएको छ । सोमबार मात्र सरकारले निष्कासन गरेको ट्रेजरी बिल्सको डिसकाउन्ट रेट ९ अंकको हाराहारीमा रहेको छ । पछिल्लो समयमा बैंक वित्तीय संस्थाले ब्याजदर घटाउन थालेपछि र केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउँदा डिस्काउन्ट रेट पनि घट्न थालेको हो ।

सरकारले चालु आर्थिक वर्षको चौथो त्रैमासमा एक खर्ब ३८ अर्ब ७९ करोड रुपैयाँ बरावरको आन्तरिक ऋण उठाउने तयारी गरेको छ । त्यसमध्ये ट्रेजरी बिल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र र बैदेशिक रोजगार बचतपत्र रहेका छन् ।

सरकारले चालु आवको दोस्रो त्रैमासमा ८८ अर्ब आन्तरिक ऋण उठाएको थियो । चालु आवमा सरकारले १८३ अर्ब रुपैयाँ आन्तरिक ऋण बक्यौता रहेको छ । चालु आवमा सरकारले कुल २५६ अर्ब आन्तरिक ऋण उठाउने योजना गरेको थियो । सो मध्ये चौथो त्रैमासको १३८ अर्ब उठाउने तयारी गरेको हो ।

चौथो त्रैमासमा सरकारले ७५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स, ६० अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्र, २ अर्ब ८२ करोड रुपैयाँ बरावरको नागरिक बचतपत्र र ९७ करोड रुपैयाँ बरावरको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।