अर्थतन्त्र सुध्रियो, व्यवसायीको विरोधले आर्थिक गतिविधि विस्तार हुन सकेन: गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको आन्तरिक तथा बाह्य अवस्था सुध्रिएको बताए । गभर्नर अधिकारीले चालु आर्थिक वर्षको ८ महिनासम्म आइपुग्दा अर्थतन्त्र ट्र्याकमा आएको दावी गरेका हुन ।

चालु आर्थिक वर्षको फागुनसम्ममा चालु खाता घाटाको अवस्थामा ४६० अर्ब बाट घटेर ४४ अर्बमा झरेको गभर्नर अधिकारीले बताए । उनले कुल ग्राहस्र्थ उत्पादनको १२.८ प्रतिशतसम्म चालु खाता घाटा पुगेको अवस्थालाई बाउन्स ब्याक गर्न सफल भएको बताए । उनले गत वर्षमा २५५ अर्ब नकारात्मक रहेको शोधनान्तर अवस्था पनि अहिले १४८ अर्ब रुपैयाँसम्मले सकारात्मक रहेको जानकारी दिए ।

पछिल्लो समयमा उद्योगी व्यवसायीको गतिविधिलाई इगिंत गर्दै गभर्नर अधिकारीले भने,“व्यवसायी स्वार्थ पुरा नभए अरुलाई दोष दिने प्रचलन छ, जुन निकै खराब कुरा हो ।” केन्द्रीय बैंकले कोरोनाबाट निकै प्रभावितहरुलाई सहजिकरण र सहुलियतको नीति लिएको हो । कुनै बैंक वित्तीय संस्थाले दिएको कर्जा उठ्ने सम्भावना नै छैन भने त्यस्ता ऋणीलाई सहुलियत/सहजीकरण नगर्न भनेको उनको भनाइ छ ।

तर, कर्जाको दुरुपयोग भएको विषयमा केन्द्रीय बैंक जानकार रहेको भन्दै गभर्नर अधिकारीले भने,“विगतको तुलनामा केन्द्रीय बैंकले गरेका कारबाही हेर्ने हो भने यो वर्ष निकै धेरै छ ।” राष्ट्र बैंक व्यवसायीलाई मार्ने गरी भन्दा पनि सजग र सचेत गराउने गरी अघि बढेको हुनाले कर्जा दुरुपयोग गर्नेलाई कानुनले दिएको पूर्ण अधिकार प्रयोग गर्दै कारबाही नगरेको उनको भनाइ छ ।

“पछिल्लो समयमा उद्योगी व्यवसायीहरुले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा तिर्दिन भन्नु जस्तो अराजकता अरु केही हुन सक्दैन,” गभर्नर अधिकारीले भने,“व्यवसायीका त्यस्ता गतिविधिले पनि बैंकहरुलाई सहज कर्जा दिन हुँदो रैनछ भनेर सचेत गराएको छ। ” पछिल्लो समयमा अर्थतन्त्रका सुचकहरु सबल अवस्थामा पुगेको तथ्याङक दिँदै गभर्नर अधिकारीले थपे,“अर्थतन्त्र सकारात्मक छ, उद्योगी व्यवसायीको ध्यान विरोध र आन्दोलन तर्फ भएकाले आर्थिक गतिविधि घटेको हुन सक्छ ।” अर्थतन्त्रका सूचकहरुमा देखिएको सुधार सर्वसाधारणको क्रय शक्तिमा तत्काल देखा नपर्ने उनको भनाई छ । अर्थतन्त्रका तथ्याङक हेर्दा अहिले निकै सुधार आएको बताउँदै उनले भने,“गत आर्थिक वर्षमा निकै जटिल अवस्था थियो, निद्रा समेत लाग्दैनथ्यो ।” 

बैंकिङ क्षेत्रको ब्याजदर २०४६ साल देखि बजारलाई निर्धारण गर्न छोडेको उनले बताए । ब्याजदर घट्दा र बढ्दाको अन्तिम लाभग्राही सर्वसाधारण हुनुपर्छ भन्ने हो । व्याजदरको सन्दर्भमा केन्द्रीय बैंकले केही नियन्त्रण गर्ने भएपनि निर्धार गर्ने नगरको उनको भनाइ छ ।

“ब्याज जति घटे वा बढेपनि बैंकहरुले पाउने भनेको राष्ट्र बैंकले तोकेको स्प्रेड रेट भित्रको हो,” उनले भने,“ आवाज बिहीनका लागि राष्ट्र बैंकले आधार दर भन्दा यति मात्र लिनु भनेर तोकेकै छ ।” बैंक वित्तीय संस्थाको तरलताको अवस्थाले ब्याजदर निर्धारण हुने भएकाले बजारको अवस्था अनुसार आफै घट्ने बढ्ने हुने उनको तर्क छ । पछिल्लो समयमा अर्थतन्त्रमा देखिएको सुधारले बैंक वित्तीय संस्थाहरु पनि सहज अवस्थामा आउने क्रममा रहेको हुनाले ब्याजदर विस्तारै आफै घट्ने उनको बुझाइ छ ।

अहिले अर्थतन्त्रमा ब्याजदर मात्र उच्च हो की अन्य आर्थिक गतिविधि पनि हुन नसकेको हो ? यसलाइ पनि विश्लेषण गर्नुपर्ने गभर्नर अधिकारीको सुझाव छ । “व्यवसाय गर्ने भनेको ब्याजदरमा मात्र होइन होला,” उनले थपे,“कुनै पनि उत्पादनको लागतमा ब्याजदरको हिस्सा कती हुन्छ ?” अहिले ब्याजदर बढ्ने क्रम रेकिएको छ भने अल्पकालिन ब्याजदरहरु घट्दो क्रममा देखिएको उनी बताउँछन ।

विश्व अर्थतन्त्रमा देखिएको असरका कारण केही अन्तराष्ट्रिय बैंकहरुले डुबेको बताउँदै गभर्नर अधिकारीले भने,“नेपाली बैंक वित्तीय संस्थाको सुरक्षा र क्षमता विश्लेषण गर्दा स–सानो धक्काले असर गर्ने अवस्था छैन ।” यो नेपाल राष्ट्र बैंकको प्रभावकारी नियमन तथा सुपरिवेक्षणको नतिजा पनि हो ।

तथ्याङकमा अर्थतन्त्र कस्तो छ ?

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको फागुन सम्मको मूल्य वृद्धि पनि ७.४४ प्रतिशतमा झरेको छ । यो मुद्रास्फिती बजेटले राखेको ७ प्रतिशतको लक्ष्य भन्दा धेरै हो । पछिल्लो समयमा आयात पनि बढेको हुनाले सरकारी राज्स्वमा परेको दावाव पनि केही सहज हुने अवस्था छ । चालु आवको फागुन महिनामा मात्रै १०४ अर्ब रेमिट्यान्स भित्रिएको छ । चालु आवको फागुनसम्मको कुल रेमिट्यान्स आप्रबाह ७९४ अर्ब पुगेको छ ।

चालु आवको औसत मासिक रेमिट्यान्स आनप्रबाह ९९ अर्ब रहेको छ । गत आर्थिक वर्षको फागुनसम्ममा मासिक औसत रेमिट्यान्स आप्रबाह ८४ अर्ब मात्र रहेको थियो । त्यसका साथै बैंकिङ प्रणालीमा कर्जा लगानी भन्दा निक्षेप संकलनको वृद्धिदर धेरै रहेको केन्द्रीय बैंकले जनाएको छ। गत आर्थिक वर्षको ८ महिनामा कुल विदेशी विनिमय सञ्चिति ११ खर्ब ७१ अर्ब रहेकोमा चालु आवको फागुनमा यस्तो सञिचति बढेर १४ खर्ब १ अर्ब पुगेको छ ।

आर्थिक वर्ष २०७९/८० को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । आर्थिक वर्ष २०७८/७९ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।