लघुवित्तलाई पनि असल कर्जामा १.३० प्रतिशत नोक्सानी व्यवस्था, सञ्चालक र कर्मचारीलाई आचारसंहिता

0
Shares

नेपाल राष्ट्र बैंकले माइक्रो फाइनान्स कम्पनीहरुलाई पनि असल कर्जा १.३० प्रतिशत कर्जा जोखिम व्यवस्था गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले माइक्रोफाइनान्सको पछिल्लो अवस्थालाई समीक्षा गर्दै असर कर्जाको एक प्रतिशतलाई बढाई १.३ प्रतिशत कर्जा नोक्सानीको व्यवस्था गरेको हो ।

निर्देशन अनुसार एक वर्षभन्दा बढीको लागि प्रवाह भएको कर्जा असुलीभाखा नाघेको कम्तिमा ६ महिना व्यतीत भई शंकास्पद वर्गमा वर्गीकरण भएपछि मात्र सार्वजनिक सूचना प्रकाशित गर्नुपर्नेछ । कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाइँदैन ।

लघुवित्त वित्तीय संस्थाले कुनै ऋणीले एउटा प्रयोजन/शीर्षक अन्तर्गत कर्जा उपभोग गरेको अवस्थामा बैंकले तोकेको सीमाभित्र रही अन्य थप शीर्षकमा समेत कर्जा प्रवाह गर्नसक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । त्यसका साथै लघुवित्तले स्वीकृत गरेको सम्पूर्ण कर्जा/सुविधा कर्जा प्रवाह गरेको ७ दिनभित्र कर्जा सूचना केन्द्रमा जानकारी गराउनुपर्नेछ । त्यसैगरी ९० दिनभन्दा बढीले भाखा नाघेका सम्पूर्ण कर्जा/सुविधा महिना भुक्तानी भएको १५ दिनभित्र केन्द्रलाइ जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ ।

सम्पत्ति शुद्धीकरण निवारण प्रणाली सम्बन्धमा आन्तरिक तथा बाह्य लेखापरीक्षकले जोखिमका आधारमा अनुगमन गर्ने र त्यस्तो अनुगमनमा लक्षित वित्तीय कारबाही, उच्च पदस्थ व्यक्ति, उच्च जोखिम रहेको मुलुक, क्षेत्र तथा उच्च जोखिमयुक्त उत्पादन, उपकरण, सेवा तथा कारोवारको अनुगमन हुने व्यवस्था भए नभएको सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ । संस्थाले प्रतिवेदन वा सूचना दिनका लागि उपयुक्त सूचना प्रविधि प्रणाली र सोसम्बन्धी कार्यविधि तर्जुमा गरी समयमै प्रतिवेदन पेश गर्ने व्यवस्था निश्चित गर्ने व्यवस्था समेत केन्द्रीय बैंकले गरेको छ ।

संस्थाले जोखिमका आधारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा गनुपर्ने कार्यक्रमहरू तय गरी उक्त कार्यक्रमहरू आफ्नो वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्नुपर्नेछ । लघुवित्त वित्तीय संस्थाले वित्तीय जानकारी इकाईमा पेश गर्नुपर्ने सीमा, शंकास्पद कारोवार÷गतिविधिको प्रतिवेदन तथा अन्य सूचना वा विवरणलाई विद्युतीय माध्यमबाट पेश गर्नका लागि संस्थाको कोर सिस्टम वा अन्य विद्युतीय माध्यममा ग्राहकका विवरण समयमै अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

लघुवित्त वित्तीय संस्थाले कुनै व्यक्ति वा संस्थाले तोकिएको सीमा भन्दा बढी स्वदेशी वा विदेशी मुद्राको कारोबार गरेमा त्यस्तो कारोबारको विवरण कारोबार भएको मितिले १५ दिनभित्र वित्तीय जानकारी इकाईमा उपलब्ध गराउनुपर्नेछ । एकै पटक वा पटक पटक गरी एक दिनमा कुनै खातामा गरिएको १० लाख वा सो भन्दा बढी रकमको नगद जम्मा कारोबार, विद्युतीय वा अन्य स्थानान्तरण, ५ लाख वा सो भन्दा वढी रकमको नगदमा सटही गरिएको विदेशी मुद्रा कारोबार गरेमापनि वित्तीय जानकारी इकाइमा जानकारी गराउनुपर्नेछ ।

लघुवित्त वित्तीय संस्थाले आफ्नो चुक्ता पुँजीको दुई प्रतिशतभन्दा बढी सेयरधारण गरेका शेयरधनी, सञ्चालक समितिका सदस्यहरु तथा उच्च व्यवस्थापन, कार्यान्वयन अधिकारी र एएिमए/सिएफटीको कार्यमा प्रत्यक्ष तथा नियमित रुपमा संलग्न अन्य कर्मचारीहरुलाई क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी गराउने व्यवस्था मिलाउनुपर्नेछ ।

लघुवित्त वित्तीय संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जोखिमको आधारमा आफ्नो संस्थाको काम कारवाही, कार्य प्रकृति र ग्राहक सेवाको आधारमा शंकास्पद कारोवारको पहिचान सम्बन्धमा मार्गदर्शन तयार गरी लागू गर्ने र सामयिक रुपमा अद्यावधिक गर्नुपर्नेछ । लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीहरूले पालना गनुपर्ने आचरण सम्बन्धमा आचार संहिता तर्जुमा गरी लागू गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।