प्राधिकरणद्धारा बीमा कम्पनीलाई पुँजी वृद्धि गर्न तीन महिना समय थप

0
Shares

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुकोे चुक्ता पुँजी वृद्धि गर्न असार मसान्तसम्मको समय थप गरेको छ ।

प्राधिकरणले बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तसम्ममा पुँजी पुर्याउन निर्देशन दिएको थियो । यो अवधिसम्ममा केही कम्पनीले तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउन नसकेसँगै प्राधिकरणले सबै बिमक कम्पनीहरुलाई पुँजी कायम गर्ने अवधि तीन महिना थप समय गरेको हो । नेपाल बीमा प्राधिकरणको सोमबार बसेको सञ्चालक समितिले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो ।

प्राधिकरण अध्यक्ष सुर्य सिलवालले चैत मसान्तसम्म पुँजी नपुर्याउने कम्पनीहरुलाई कारवाही गरिने बताउँदै आएका थिए । तर हाल आएर प्राधिकरणले नै थप तीन महिनाको समय दिएको हो । चैत मसान्तसम्म कम्पनीको नाफा र बाँड्ने बोनस सेयरको हिसाबको आंकलन गर्न कठिनाई भएका कारण समेत बिमक कम्पनीहरुलाई थप तीन महिना उपलब्ध गराएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले तोकिएको न्यूनतम पुँजी नपुर्याउने कम्पनीहरुलाई अवसरको रुपमा ३ महिना समय थप गएिको जानकारी दिए । हाल धेरै बीमा कम्पनीहरु एक आपसमा मर्जर भई पुँजी कायम गर्ने क्रममा रहेकाले खासै समस्या नरहेको प्रवक्ता पौडेलले नोटबजारलाई जानकारी दिए । सबै बिमक कम्पनीहरुको आगामी असार मसान्तसम्ममा गर्ने मुनाफालाई चुक्ता पुँजीमा थप गर्न दिने उनले बताए । पुँजी वृद्धि योजना नबुझाएका नेपाल इन्स्योन्सले आफ्नो सम्पत्ति बिक्री गरेर पुँजी कायम गर्ने र प्रभु इन्स्योरेन्सले वैदेशिक साझेदार भित्र्याएर पुँजी कायम गर्ने भन्दै बीमा प्राधिकरणलाई पत्राचार गरेको उनको भनाई छ ।

सोही अवस्थालाई दृष्टिगत गर्दै कम्पनीहरुलाई आगामी असार मसान्तसम्मको समय दिएको हो । यस अवधिमा बीमा कम्पनीहरुले मर्जर तथा बोनस सेयर जारी गरेर पुँजी कायम गर्न लगाउने र त्यसबाट अपुग भएको रकम बराबरको हकप्रद सेयर जारी गरेर पुँजी कायम गर्न दिने तायरी प्राधिकरणको छ ।

थपिएको म्यादमा पनि कम्पनीहरुले पुँजी बढाउने प्रक्रिया अघि नबढाएको खण्डमा भने कारोबारमा सीमा तोकिने लगायतका कारवाही प्राधिकरणले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणले २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीलाई न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी कायम गर्न निर्देशन दिएको थियो । प्राधिकरणले २०७८ चैतमा यस सम्बन्धी निर्देशन जारी गरेको थियो । यस आधारमा गत चैत मसान्तसम्म चार वटा कम्पनीले मात्रै पुँजी कायम गरिसकेका छन् । जसमा जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्सले मात्रै न्युनतम चुक्ता पूँजी पुर्याएको छ । यस्तै निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले न्यूनतम चुक्ता पुँजी कायम गरेका छन् । बाँकी कम्पनीहरुको बोनस सेयर जारी गर्ने तयारीमा छन् भने केहीलाई बोनसले अपुग हुने हुँदा हकप्रद बेचेर न्यूनतम चुक्ता पुँजी पुर्याउने भएका छन् ।

बीमा प्राधिकरणले (तत्कालीन बीमा समिति) ले यसअघि पनि बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने नीति ल्याएको थियो । विसं २०७४ माघ १३ गते तत्कालिन बीमा समितिले २०७५ असार मसान्तसम्म जीवन बीमा कम्पनीलाई २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । तर २०७५ असार मसान्तसम्ममा बीमा कम्पनीहरूले पुँजी पुर्याउन नसकेपछि दोस्रोपटक २०७५ पुस मसान्त र तेस्रोपटक २०७६ असार मसान्तसम्मको म्याद दिएर पुँजी कायम गरेका थिए । विसं २०७४ माघ अघिको तत्कालीन समयमा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५० करोड र निर्जीवन बीमा कम्पनीको २५ करोड रुपैयाँ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।